शेरबहादुर राई
ओखलढुङ्गा, साउन १९ गते । ओखलढुङ्गामा यस वर्षको धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका अनुसार जिल्लामा धान रोपाइँ हुने सम्पूर्ण क्षेत्र र क्षेत्रफलमा साउन दोस्रो सातासम्म रोपाइँ सकिएको हो ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी इन्द्र राईका अनुसार जिल्लामा कुल तीन हजार ८०३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । हाल ती सबै क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ । यो वर्ष असारमा केही ढिला भए पनि साउनको दोस्रो साता भित्रै रोपाइँ पूरा भएको राईले जानकारी दिनुभयो । जिल्लामा ५९ हजार ६६ हेक्टर कृषि योग्य जमिनमध्ये धान खेती हुने क्षेत्रफल करिब ६.५ प्रतिशत छ ।
केन्द्रका अनुसार गत वर्ष जिल्लामा १० हजार २७८.१ मेट्रिक टन धान उत्पादन भएको थियो । यदि साउन र भदौमा पर्याप्त मात्रामा वर्षा भयो भने धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको केन्द्रले जनाएको छ । जिल्लामा लिखु, सुनकोशी, दुधाकोशी, मोलुङ खोला, ठोट्ने लगायतका नदि खोला आसपासमा तुलनात्मक रुपमा बढि धान खेती हुने क्षेत्र हुन् ।