प्रवीणकुमार शर्मा
चन्द्रपुर (रौतहट), साउन १९ गते । रौतहटमा करेन्ट लागेर आइतबार राति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ईशनाथ नगरपालिका –८ मंसरी टोल बस्ने ५५ वर्षीय शेख जफिर रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिनुभयो ।
धान रोप्नका लागि विद्युतीय मोटरको प्रयोगले खेतमा पानी हालेपछि विद्युत् मिटरको तार पोलबाट निकाल्ने क्रममा जफिर घाइते भई मृत्यु भएको प्रहरी निरीक्षक महतोले बताउनुभयो ।
घाइते जफिरलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा चिकित्सकले मृत्यु भइसकेको बताएको प्रहरी निरीक्षक महतोले बताउनुभयो ।
स्थानीय महम्मद मोजिबुल्लाहका अनुसार विद्युत प्राधिकरणको लापरवाहीले किसानको करेन्ट लागेर मृत्यु हुने गरेकाले यसप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
सिँचाइका लागि किसानले पाउने कृषि मिटर आवश्यक परेको बेला लाइन सप्लाई भएको तारमा लाउने र पानि हाल्ने काम भए पछि मिटरको तार निकाल्ने गरेकोमा तार जोड्ने वा निकाल्ने क्रममा करेन्ट लाग्नु विद्युत प्राधिकरणको कमी कमजोरी रहेको उहाँको भनाइ छ ।
विद्युत प्राधिकरणले जडान गरेका पोलमा अर्थिंङ् नरहेकाले समेत करेन्ट लाग्ने समस्या रहेकाले तत्काल विद्युत प्राधिकरणले समस्याको हल ननिकाले आन्दोलनमा उत्रनुको विकल्प किसानसँग नरहेको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले सिँचाइ प्रयोजनका लागि विद्युत् मिटर प्रयोग गर्दा विद्युत प्राधिकरणसँग समन्वय गर्न सूचना जारी गरे पनि विद्युत प्राधिकरणले यस सम्बन्धमा कुनै चासो नलिने गरेको किसानहरुको गुनासो छ ।