• १९ साउन २०८२, सोमबार

अरिँगाल बेचेरै एक सिजनमै ५० हजार कमाइ

blog

अरिङ्गाल मानामा भर्दै मेखबहादुर फगामी । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल
म्याग्दी, साउन १९ गते ।
आइतबार बिहान मालिका गाउँपालिका ६ दरवाङमा भेटिनु भएका धवलागिरी गाउँपालिका ७ ताकमका मेखबहादुर फगामीको अहिलेको पेसा हो, अरिँगालको शिकार । आफैँमा शिकारी जीव अरिँगाल को सिकार गरेर उहाँले एकै सिजनमा ५० हजारभन्दा बढी कमाउने सुनाउनुहुन्छ । बाबा, आमा, एक छोरी र श्रीमती रहेका उहाँले यो सिजनमा ३० हजार जति कमाइ गरिसकेको र अझै त्यती नै कमाइ हुने अनुमान रहेको बताउनुहुन्छ ।

हाम्रो गाउँघरमा पाइने अरिँगाल एक प्रकारको विषालु किरा हो । यो एक समूहमा बस्ने तथा यसको देख्नसक्ने क्षमता धेरै हुने विज्ञको धारणा छ । यो किराले सिजन अनुसार आफ्नो घर फेर्ने तथा जमिन मुनि र अग्ला अग्ला रुखको हागामा गोलो बनाएर बस्ने डिभिजन वन कार्यालय म्याग्दीका अधिकृत विनयबहादुर अधिकारीको भनाइ छ ।

उहाँका अनुसार वन जन्य जीव भए पनि यसको थप अध्ययन अनुसन्धान आवश्यक छ हालसम्मको अवस्था हेर्ने हो भने अरिँगाल को बारेमा अनुसन्धान भएको त्यति देखिँदैन ।

भुरबहादुर फगामी र भीमसरा फगामीका ३३ वर्षीय छोरा मेखबहादुरले अरिँगालको सिकार गर्न लागेको ८ वर्ष भयो । आफू २५ वर्ष भए पछि यो सिकार गर्न थालेको र अहिलेसम्म पनि त्यही गर्दै आएको उहाँको भनाइ छ । हरेक वर्ष असार अन्तिमदेखि भदौ अन्तिमसम्म अरिँगाल  खोज्ने र सिकार गर्ने उहाँले हाल दरवाङमा रहेको हिमाल होटलमा बिक्री गर्ने गरेको सुनाउनुभयो ।


अन्यत्र पनि पहिला बिक्री गर्ने गरेको भए पनि अरिँगालको पाउ बाहेकका लार्भा मात्रै चाहियो भन्ने बारेमा बढी कुरा गर्न थालेपछि हिमालमा ल्याउन थालेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘‘कतिपयले माउ धेरै भयो लार्भा मात्रै चाहियो भन्ने गरेकोले त्यहाँ नलगेर यहाँ ल्याउन थालेको हुँ, लार्भा र माउ दुवै मिसाएर ल्याएर १५ सय रुपियाँ मानाका दरले हिमालमा छाड्ने गरेको छु ।’’

अरिँगालको माग बजारमा हुने भएकाले आफूले नियमित रुपमा ल्याउन भनेको र जति ल्याए पनि आफूले खरिद गरेर राखिदिने गरेको हिमाल होटलका सञ्चालक अमृत सापकोटाले बताउनुभयो ।

सिकारका लागि आफू एक्लै नै जाने गरेको उहाँको भनाइ छ । कहिलेकाहीँ साथी लिएर जाँदा रुख चड्नेभन्दा पनि भुइँमै बस्न खोज्ने र मेहनतको भागबण्डा बराबर गर्नुपर्ने भएकोले एक्लै सिकार गर्ने उहाँको भनाइ छ ।

यसपाली अरिँगाल सिकार गरेरै जम्मा गरेको पैसाले छोरीको जन्मदिन मनाएको मेखबहादुर बताउनुहुन्छ । अरिँगाल  सिकार जोखिम छ, अप्ठ्यारो रुख चड्दा लड्ने जोखिम पनि हुन्छ । हालै धवलागिरी गाउँपालिका २ मा अरिँगाल  सिकार गर्न जाँदा विशाल भन्ने भाइ रुखबाट लड्दा खुट्टामा १८ टाँका लगाउनुपरेको सुनेको थिएँ तर मेरो अहिलेसम्म त्यस्तो भएको छैन फगामीले भन्नुभयो ।

जोखिम धेरै छ तर पनि आम्दानी पनि त हुन्छ नि, १५ सय रुपियाँ मानाका दरले लार्भा बेच्ने गरेको छु फगामीले भन्नुभयो । आजै पनि दुई माना भयो तीन हजार पारेर फर्कदैछु ।