• १५ असार २०८१, शनिबार

विगतमा प्रचण्डले जितेकाे निर्वाचन क्षेत्रबाट डा. अधिकारीको उम्मेद्वारी

blog

शान्ता अधिकारी 

चितवन, असोज २३ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र मानिएको चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको गठबन्धनको तर्फबाट डा. भोजराज अधिकारीले उम्मेदवारी दिने हुनुभएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखाको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने निर्णयपछि माओवादी केन्द्रले अधिकारीलाई अगाडि सारेको हो । उक्त क्षेत्रबाट प्रचण्ड अघिल्लो निर्वाचनमा नेकपा एमालेसँग गठबन्धन गरी विजयी बन्नुभएको थियो ।

उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा तर्फको ३ (१) नेपाली काँग्रेसका प्रा.डा. सूर्यकान्त घिमिरे र नेकपा एमालेका तर्फबाट कृष्णप्रसाद भुर्तेल, ३ (२) मा नेकपा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकाल र एमालेबाट सरस्वती विष्टले उम्मेदवारी दिने पक्कापक्की भइसकेको भए पनि प्रतिनिधिसभातर्फ नेकपा एमाले र राप्रपा गठबन्धनले उम्मेदवार तय गरिनसकेको अवस्था छ ।

उक्त क्षेत्रको लागि एकल सिफारिस गरिएका नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार सो क्षेत्रमा अझै पनि उम्मेदवारको टुङ्गो लागिसकेको छैन । यस क्षेत्रमा कृष्ण भुर्तेल पुरानो अनुहार हो । उहाँले गत निर्वाचनमा सोही क्षेत्रबाट जित्नुभएको थियो ।

हालसम्म प्राप्त जानकारी अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डा. विश्वनाथ पौडेलले एकातर्फको गठबन्धनबाट र एमाले नेता पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्को गठबन्धनबाट उम्मेदवारी दिने हुनुभएको छ ।

सोही क्षेत्रको प्रदेशसभा तर्फको १ (१) मा काँग्रेसका किरण ओली र एमालेका जगन्नाथ थपलिया १ (२) मा एमालेका प्रकाश खनाल र एकीकृत समाजवादीबाट कृष्णप्रसाद खनालले उम्मेदवारी दिनुहुनुभएको छ । यस निर्वाचन क्षेत्रमा अघिल्लो निर्वाचनमा सुरेन्द्र पाण्डे र सोही क्षेत्रबाट कृष्णप्रसाद खनाले जित्नुभएको थियो ।

त्यसैगरी क्षेत्र नम्बर २ बाट काँग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेलले फरकफरक गठबन्धनबाट उम्मेदवारी दिने तयारी गरिएको उक्त क्षेत्रमा स्वतन्त्र पार्टीका रवि लामिछानेको उम्मेदवारीको तयारी छ ।

उक्त क्षेत्रको प्रदेशसभा तर्फ २ (१) बाट नेकपा माओवादी केन्द्रका घनश्याम दाहाल र एमालेका कृष्णप्रसाद सिलवाल, २ (२) मा नेपाली काँग्रेसका उत्तम जोशी र एमालेका देवी ज्ञवालीले प्रतिस्पर्धा गर्ने तयारी छ ।

यस निर्वाचन क्षेत्रमा गत निर्वाचनमा कृष्णभक्त पोखरेल र घनश्याम दाहालले जित्नुभएको थियो । उहाँहरू बाहेक सबै उम्मेदवार नयाँ अनुहार हुनुहुन्छ ।

तीन वटा निर्वाचन क्षेत्र रहेको चितवनमा नेपाली काँग्रेस नेतृत्वको गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यसअघि नेकपा एमाले र माओवादी केन्द्रबीचको चुनावी गठबन्धनले तीन वटा प्रतिनिधिसभा र छ वटै प्रदेशसभामा उक्त गठबन्धनका उम्मेद्वारले जितेका थिए ।