• ६ पुस २०८१, शनिबार

हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध

blog

राजन रावत

हुुम्ला, असोज २२ गते । दशैंको टीकाको दिन यता नेपालगञ्ज क्षेत्रबाट उडान हुने कर्णाली प्रदेशका हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको छ । एयरलाइन्स कम्पनीका जहाजहरू काठमाडौं फर्कनु र मौसम पनि सफा नभएको कारण चार दिनदेखि हवाई सेवा अवरुद्ध हुँदा यात्रु मर्कामा परेका छन् ।  

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त कार्यालय प्रमुख मनोज डङ्गोलले चार दिन यता लगातार हवाई सेवा अवरुद्ध हुँदैआएको बताउनुभयो । लगातार पानी पर्नु र नेपालगञ्जमा कुनै पनि जहाज नभएका कारण हवाई सेवा अवरुद्ध भएको उहाँले बताउनुभयो । 

गत असोज १८ गते तारा एयरले सिमकोट लगायत कर्णालीका हिमाली जिल्लामा उडान भरेको भए पनि त्यसपछि कुनै पनि उडान हुन सकेको छैन । कर्णालीको हुम्लाको सिमकोट, जुम्ला, मुगुको ताल्च, डोल्पाको जुफाल र सुदूरपश्चिम प्रदेशको बाजुराको कोल्टी विमानस्थलमा चार दिनदेखि कुनै पनि उडान नभएको नेपालगञ्ज विमानस्थल कार्यालयले जनाएको छ । 

नेपालगञ्जले मुख्यगरी निजी तथा नेपाल एयरलाइन्सका कुनै पनि जहाजहरू नभएको कारण उडान हुन नसकेको जनाएको छ । शनिबार पनि नेपालगञ्जबाट हिमाली जिल्लामा उडान भर्ने जहाजहरू कुनै पनि नभएको बताइएको छ । 

हवाई सेवा अवरुद्ध भए पनि दशैंका लागि घर जान तयारीमा रहनुभएका डेढ सयभन्दा बढी यात्रु अहिले राझाँ विमान स्थलमा रहेको स्वस्तिका बोहराले बताउनुभयो । हुम्ला जाने तयारी गरेको भए पनि उडान नभएपछि यतै दशैं मनाउनुपरेको उहाँले बताउनुभयो ।