• १३ साउन २०८१, आइतबार

गाउँ पसेको दुर्लभ घडियालको उद्धार

blog

गाउँ पसेको घडियालको उद्धार गरिँदै । तस्बिर :खेमराज पाण्डेय

धनगढी, असोज २२ गते । कैलालीको पथरैया नदीबाट निस्केर गाउँ पसेको दुर्लभ घडियाल गोहीको उद्धार गरिएको छ । 

भजनी नगरपालिका–८ स्थित सोनाफाँटा गाउँमा पसेको गोहीको स्थानीय संरक्षणकर्मी, सुरक्षाकर्मी र गाउँवासीले उद्धार गरेका हुन । नदीमा बाढी आएपछि नदीबाट निस्केर गोही गएराति मानव बस्तीमा पसेको संरक्षणकर्मी एवम् डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिनुभयो । 

उहाँका अनुसार राति गाउँ पसेको गोहीलाई केही क्षति नगरोस् भनेर स्थानीयले बाँधेर राखेका थिए । बिहान भएपछि गोहीको उद्धार गरिएको थियो । स्थानीयवासी, सब डिभिजन वन कार्यालय भजनी र सुरक्षा निकायको रोहवरमा गोहीलाई पथरैया नदीमै छाडिएको छ । 

उद्धार गरिएको पोथी गोही ११ फिट लामो छ । उमेर लगभग २०-२५ वर्ष हुन सक्ने अध्यक्ष ढुङ्गानाको भनाइ छ । विश्वमै तीव्र गतिमा सङ्ख्या घटिरहेको घडियाल गोही कैलालीको मोहना, पथरैया लगायतका नदीमा पाइने गरेका छन् । डल्फिन देखिने क्षेत्रमा पोथी घडियाल गोही थुप्रै देखिने गरेका स्थानीय संरक्षणकर्मीको भनाइ छ । 

सन् १९५० तिर दक्षिण एसियाका धेरैजसो मुलुकमा पाइने घडियाल गोही अहिले भने नेपाल र भारतमा मात्रै पाइन्छन् । सबैभन्दा बढी घडियाल गोही रहेको स्थान भारतको चम्बल हो । त्यसपछि कतरनियाघाट सेन्चुरीमा पनि घडियाल गोही प्रशस्त छन् । नेपालको बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा पनि राम्रो सङ्ख्यामा घडियाल गोही रहेका छन् । दुवै निकुञ्जमा गोही प्रजनन केन्द्र स्थापना गरेर घडियालको सङ्ख्या वृद्धिको कार्य हुँदै आएको छ । 

नेपालमा सन् २०१६ मा गणना गर्दा जम्मा १९८ वटा घडियाल रहेको पुष्टि भएको थियो । सो गणनाका क्रममा नारायणी नदीमा ८४, राप्तीमा ८२, बबईमा ३१ र कर्णाली नदीमा एक वटा मात्रै घडियाल अभिलेख भएको थियो । जसमध्ये भाले सङ्ख्या छ मात्रै रहेको पुष्टि भएको थियो । छ वर्षअगाडि गरिएको गणनाले कर्णाली नदीमा एक मात्र घडियाल रहेको पुष्टि गरे पनि अहिले भने सङ्ख्या बढेको छ ।

घडियालको भालेको ठुँडमा ठूलो घडा हुने गरेकाले भाले पोथी सजिलै छुट्याउन सकिन्छ । डल्फिनजस्तै स्वच्छ र बग्ने पानीमा बस्न रुचाउने घडियालको आहारा माछा हो । नदीनालामा पाइने माछा खाएर घडियाल गोही बाँच्ने गर्दछन् । घडियाल जमिन र पानी दुवैमा बस्न सक्ने सरिसृप प्राणी घडियाल कैलालीको नदीमा डल्फिनसँगै देखापर्ने गरेका छन् ।

Author

अविनाश चौधरी