• १३ साउन २०८१, आइतबार

कैलालीका पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय खुले

blog

कैलाली क्षेत्र नम्बर १ को निर्वाचन कार्यालय खोलिदै । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, असोज २० गते । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ का लागि कैलालीका पाँच वटा निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका कार्यालय खुलेका छन् । 

मुख्य निर्वाचन अधिकृत तथा क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृतको कार्यालय धनगढीमा र अन्य निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालय सम्वन्धित निर्वाचन क्षेत्रमा खुलेका हुन् । निर्वाचन आयोगले असोज २० गतेभित्र कार्यालय खोलीसक्ने निर्णय गरेअनुसार दशैंलगत्तै आज कार्यालयहरु खुलेका हुन् ।

कैलालीको मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालय धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रमा खुलेको छ । कार्यालयको निर्वाचन आयुक्त डाक्टर जानकीकुमारी तुलाधरले उदघाटन गर्नुभयो । कार्यालय उदघाटन गर्दै आयुक्त तुलाधरले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा कार्यालयहरु खुलिरहेका र स्वतन्त्र, निष्पक्ष, विश्वस्नीय र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग लागिरहेको बताउनुभयो ।

कैलालीको मुख्य निर्वाचन अधिकृत जिल्ला अदालत कैलालीका न्यायाधीश ओमप्रसाद अर्याल रहनुभएको छ । निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय टीकापुरस्थित नापी कार्यालयमा खुलेको छ । 

निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले आयोगले तोकेका मतदान स्थलमा निर्वाचनले तोकेका कर्मचारीलाई नियुक्ति दिने, निर्वाचन सामग्री ढुवानी गर्ने, निर्वाचन सम्पन्न गरी मत गणनासम्मको काम निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयबाट हुने जानकारी दिनुभयो । 

निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय लम्कीचुहा नगरपालिका कार्यालय भल्कामा खुलेको छ । निर्वाचन अधिकृत तेजप्रकाश जोशी रहनुभएको छ । निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालय इलाका हुलाक कार्यालय अत्तरियामा खुलेको छ । त्यहाँ निर्वाचन अधिकृत इन्द्र कठायत रहनुभएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृतको कार्यालय भजनी रोड सुख्खडमा खुलेको छ । त्यहाँ निर्वाचन अधिकृत लक्ष्मीनारायाण दाहाल हुनुहुन्छ । क्षेत्र नम्बर ३ को कार्यालय १५ गते नै खुलिसकेको छ ।

कैलालीमा पाँच लाख ३५ हजार मतदाता

पाँच वटा प्रतिनिधसिभा तथा दश वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कैलालीमा पाँच लाख ३५ हजार ५१४ मतदाता रहेका छन् । जसमा दुई लाख ७३ हजार ८८३ महिला र दुई लाख ६१ हजार ६२० पुरुष छन् । 

आयोगको सुदूरपश्चिम प्रदेश  निर्वाचन कार्यालयका प्रमुख पे्रम भट्टका अनुसार मतदाता नामावली, उम्मेदवारको मनोनयनपत्र सहितका निर्वाचन सामग्रीहरु लिएर अधिकृतहरु निर्वाचन क्षेत्रमा पुगेर कार्यालय खोलेका बताउनुभयो ।

निर्वाचन हुन ४५ दिन अघि स्थापना भएका निर्वाचन कार्यालयहरु निरन्तर चल्नेछन । अब निर्वाचन अधिकृतले निर्वाचन कार्यालय पनि छोडन पाउने छैनन् । असोज २३ गते आइतबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।