सिराज खान
नेपालगञ, असोज २० गते । दुई दिनदेखि अविरल परिरहेको वर्षाका कारण बाँकेस्थित राप्ती नदीमा आएको बाढी डुडुवाका केही गाउँमा पसेर स्थानीय विस्थापित भएका छन् । राप्ती नदीमा बुधबार दिउँसोदेखि पानीको सतह खतराको चिन्हभन्दा माथि पुगेपछि बाढी गाउँमा पसेको हो ।
बुधबार राति नै डुडुवा १ को कृषि चौफेरी र टेपरी गाउँमा करिब तीन चार फिट पानी पसेपछि स्थानीय बासिन्दाले गाउँ छाडेर नजिकै अग्लो ठाउँमा रहेको विद्यालयमा बसेको स्थानीय राम यादवले बताउनुभयो । सबै गाँउलेले विद्यालयमा रात बिताएको बताउनुभयो ।
अझै पनि पानी परिरहेकाले थप गाउँहरुमा पनि बाढी पस्ने स्थानीयको चिन्ता छ । सोही प्रकारले नरैनापुरका पनि केही वडामा बाढीले क्षति गरेको नरैनापुरका पत्रकार विनय दीक्षितले बताउनुभयो ।
यसैगरी वर्षा निरन्तर भैरहेकोले राप्तीसोनारिका पनि धेरै ठाउँमा बाढी र डुबानबाट क्षति पुगेको स्थानीय हेमन्त चौधरीले बताउनुभयो । उता जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले राप्ती नदीमा पानीको सतह बढ्ने क्रम जारी रहेकाले खतरा बढ्दै गएको बताउनुभयो ।
राप्तीमा बाढी बढेपछि खतर स्वरुप निरन्तर साइरन बजाउन सुरु गरिएको छ । राप्तीको तल्लो तटीय क्षेत्र फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढीले डुबान गर्न थालिसकेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले पनि राप्तीको तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपाउन आग्रह गरेपछि खतरा स्थानबाट स्थानीयलाई सुरक्षित ठाउँमा सार्ने कार्य भैरहेको जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राप्ती नदीमा पानीको सतह निरन्तर रुपले बढिरहेकाले स्थानीयलाई अग्लो ठाउँमा सार्ने काम भइरहेको बताउनुभयो ।
पाकेर तयार भएको र काटिसकेको धान बालीलाई अविरल वर्षा र राप्तीको बाढीले क्षति गरेको छ । भारतले अन्तर्राष्ट्रिय कानुन विपरीत निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा बाँधका कारण हरेक वर्ष ठूलो बाढी आउनेबित्तिकै बाँकेका आधा दर्जन बढी गाउँ डुब्दै आएका छन् ।
बाढीका कारण हजारौं बिघा खेतीयोग्य जमिन कटान र पटान भइसकेको छ । राप्तीमा बाढी आएपछि भारतले लक्ष्मणपुर बाँधका सबै ढोका खोलेको प्रजिअ खत्रीले बताउनुभयो ।