• १९ साउन २०८२, सोमबार

पर्खालले घर च्याँपेपछि विक परिवार विस्थापित

blog

गुल्मीदरवार गाउँपालिका–२ जुभुङ्गका सन्देश विकको जोखिमपूर्ण घर । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), साउन १९ गते ।
यही साउन १४ गते राति गुल्मीदरबार–२ जुभुङ्ग झिरबासका सन्देश विकको परिवार मस्त निद्रामा थिए । एक्कासी घरमाथिको पर्खाल भत्किएर घर च्याँपेपछि सबै परिवार भागेर बाँच्न त सफल भए । तर पर्खालले विकको घर पूर्ण रुपमा क्षति भयो । जसका कारण विक परिवार अहिले घरबासविहीन बनेका छन् ।

‘‘राति खेल मैदानको पर्खाल भत्केर घर च्याप्यो । जेनतेन भागेर ज्यान बचायौँ,’’ वकले भन्नुभयो, ‘‘बास खोसियो विद्यालयमा कति समय बस्ने ।’’ सन्देशका श्रीमती, छोराछोरी र फूपूसहित घरमा सुत्नु भएको थियो । सन्देशका बुबा सुरज विक बुटवलमा बस्दै आउनु भएको छ । विक परिवार चार दिनदेखि काभ्रेपोखरी माविकाको एउटा कोठामा बास बसिरहेका छन् । दुई वर्षको छोरा र चार वर्षीया छोरीसहित विद्यालयमा बस्न समस्या भएको विकले गुनासो गर्नुभयो ।

निर्माण व्यावसायीको गुणस्तरहिन कामले परिवारको बिचल्ली भएको छ । नयाँ गुणस्तरहिन कामले पुरानो संरचना समेत भत्किएको छ । विद्यार्थीहरुको सङ्ख्या घट्दै गएका बेला आवश्यकताभन्दा बाहिरको योजना सञ्चालनले गाउँमा बसिरहेको एउटा परिवार घरबासविहीन भएको स्थानीय गुल्मीदरवार गाउँपालिका–२ जुभुङ्गका युवा सुवास विसीले बताउनुभयो । उहाँले विद्यालयको कोठामा धेरैदिन कटाउन पीडित परिवारलाई समस्या हुने भएकाले तत्काल आवासको व्यावस्था हुनुपर्नेमा जोड दिनुभयो ।

गुल्मीदरवार गाउँपालिका–२ का वडाध्यक्ष बिष्णु प्रसाद गौतमले विकको घर बस्नै नहुने गरेर चर्किएकाले विद्यालयमा सारिएको बताउनुभयो । उहाँले अहिले तत्काललाई पीडित परिवारलाई विद्यालयमा व्यवस्थापन भएकाले आवास निर्माणका लागि पालिकास्तरबाट समन्वय हुने बताउनुभयो । उहाँले आफुसहित पालिकाको टोलीले समेत पर्खालको जोखिमको विषयमा पहिलेनै ध्यानाकर्षण गराउँदा पनि काम भएकाले अहिले परिवार विस्थापित हुने अवस्था आएको बताउनुभयो ।

काब्रेपोखरी मावि प्रधानध्यापक तेजेन्द्र खड्काले गत पैशाखमा निर्माण सम्पन्न भएको पर्खाल तीन महिनामै भत्किएर एउटा परिवार घरबासविहीन बन्नु दुःखद विषय भएको बताउनुभयो । विद्यालयको खेल मैदान बढाउन तीन चरणमा करिव २० लाख खर्च भएको खड्काले जानकारी दिनुभयो । भत्किएको पर्खाल आर्थिक वर्ष २०८१/०८२ मा सम्पन्न भएको हो ।

सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले हिमालयन एस.आर कन्स्ट्रक्सन प्रालि मार्फत चार लाख ७७ हजार ६८ रुपियाँमा निर्माण गरेको पलम वाल बेसबाटनै भत्किएको छ । सोही खेल मैदान बढाउन पर्खाल निर्माणका लागि समाजिक विकास मन्त्रालयबाट १० लाख रुपियाँको काम भएको थियो ।