विनय कर्ण
कल्याणपुर (सप्तरी), साउन १९ गते । रुपनी गाउँपालिकाका किसान र बासिन्दाले खानेपानी र सिँचाइको समस्या समाधान गर्न गाउँपालिकालाई दबाब दिएका छन् ।
गाउँपालिकाभित्र रहेका बोरिङहरूमा पानीको सतह लगातार घट्दै गएपछि स्थानीयले पालिका अध्यक्ष दिनेशकुमार यादवलाई तत्काल समस्या समाधानको माग गर्दै दबाब दिएका हुन् ।
“यदि पानीको समस्या समाधान भएन भने पालिकामा तालाबन्दी गर्छौं,’’ स्थानीयले रुपनीका अध्यक्ष यादवलाई भन्नुभयो । जनताको चासोलाई गम्भीर रुपमा लिँदै अध्यक्ष यादवले तीनवटा निर्णय सार्वजनिक गर्नुभएको छ ।
पालिकाभित्र अधुरा रहेका सबै खानेपानी योजनाहरुलाई प्राथमिकताका साथ सुचारु गरिने, कुनै पनि बस्तीमा खानेपानीको अभाव हुन नदिने र भूमिगत पानीको सतह घटेको समस्या समाधान गर्न परम्परागत पद्धति–नहर, बाँध र पैनी प्रणाली पुनः जीवित गरिने निर्णय सार्वजनिक गर्नुभएको हो ।
‘‘हाम्रा पुर्खाहरूले खोलानालामा बाँध बाँधेर पैनीमार्फत सिँचाइ गर्थे । हामी पनि यही उपाय अपनाएर किसानका खेतमा पुनः पानी पुर्याउने प्रयास गर्दै छौं,’’ अध्यक्ष यादवले बताउनुभयो ।
उहाँले यस कार्यका लागि खानेपानी कार्यालय सप्तरी, खाँडो नदी नियन्त्रण आयोजना, र सिँचाइ डिभिजन कार्यालय सप्तरीसँग समन्वय गरेर काम अघि बढाइसकेको जानकारी दिनुभयो ।
केन्द्र र प्रदेश सरकारसँग पनि सहयोग मागिएको जानकारी दिँदै उहाँले “यदि दुबै सरकारले यस कार्यमा सहयोग नगरे भने, म जनताको लागि आन्दोलन सुरु गर्न बाध्य हुनेछु” चेतावनी समेत दिनुभयो ।
यादवले सप्तरीस्थित सम्बन्धित तीनै कार्यालयका प्रमुखहरूसँग भेटेर समस्याको द्रुत गतिमा समाधान गर्नका लागि आवश्यक पहल गर्न अनुरोध गरिसक्नु भएको रुपनी गाउँपालिकाले जनाएको छ ।