काठमाडौं, असोज १९ गते । एसियाली फुटबल महासङ्घ (एएफसी) को नयाँ कार्यसमिति सदस्यका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङले उम्मेदवारी दिनुभएको छ ।
एएफसीको ३३औँ चुनावी साधारण सभामा पंकजले खुला कार्यसमिति सदस्यमा उम्मेदवारी दिनुभएको हो । एएफसीको चुनावी साधारण सभा आगामी फेब्रुअरी १ र २ तारिख बहराइनमा हुँदै छ ।
एएफसीले जारी गरेको विज्ञप्ति अनुसार २६ सदस्यीय कार्यसमितिमा नौ जना खुला सदस्यका लागि एन्फा अध्यक्ष पङ्कजसहित १४ जनाको उम्मेदवारी परेको छ ।
एएफसी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष बहराइनका शेख सल्मान बिन इब्राहिम अल खालिफाको एक्लो उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेका कारण शेख सल्मान नयाँ कार्यकालका लागि निर्विरोध अध्यक्ष भइसक्नुभएको छ ।
यसैगरी एसियाका पाँच क्षेत्रका उपाध्यक्ष पदका लागि पश्चिम एसिया, दक्षिण एसिया, आसियान र पूर्वी एसियाबाट एक एक जनाको उम्मेदवारी परेको छ ।
दक्षिण एसियाबाट भुटानका उगेन छेचुप, पश्चिम एसियाबाट लेबनानका हाचिम हैदर, आसियानबाट म्यानमारका जाऊ जाऊ र पूर्वी एसियाबाट मङ्गोलियाका गान्बाटार अम्गालान्बाटरको मात्र उम्मेदवारी परेकोले निर्विरोध भइसकेका छन् ।
मध्य एसियाबाट भने इरानका मेहदी ताज र किर्गिज गणतन्त्रका डास्टानबेक कोनोक्बेभबीच उपाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ । ६ जना फिफा काउन्सिल सदस्यका लागि पनि सात जनाको उम्मेदवारी परेको छ ।
एएफसीको निर्वाचन समितिले गत शनिबारसम्म उम्मेदवारी दर्ताको समय तोकेको थियो । निर्वाचन कमिटीले सबै उम्मेदवारको योग्यता परीक्षण गरेपछि जनवरीमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ ।