• १३ साउन २०८१, आइतबार

सर्लाहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

blog

जनार्जन खत्री

सर्लाही, असोज १८ गते । सर्लाहीमा मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

सर्लाहीमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सर्लाही जिल्ला अदालतका न्यायाधीश कविप्रसाद न्यौपानेले पाउनुभएको छ । न्यौपानेले क्षेत्र २ को निर्वाचन अधिकृतको जिम्मेवारीसमेत सम्हाल्नुहुनेछ । 

यस्तै, क्षेत्र नं. १ मा प्रदीपराज उपाध्याय, क्षेत्र नं. ३ मा वशिष्ठकुमार घिमिरे र क्षेत्र नं. ४ मा शम्भुप्रसाद बरालले निर्वाचन अधिकृतको जिम्मेवारी पाउनुभएको छ । यो पटक सर्लाहीको चार वटा निर्वाचन क्षेत्रका लागि सम्वन्धित निर्वाचन क्षेत्रमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । 

क्षेत्र नं. २ बाहेक बाँकी तीन वटा निर्वाचन क्षेत्रमा पनि तत्काल निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको काम अघि बढाइने जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोखरेलले जानकारी दिनुभयो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, भैरवी दल गण पाँचकुमारीका गणपति अभिषेक कार्की, प्रहरी उपरीक्षक प्रवीण पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक चन्दन झालगायतको उपस्थिति थियो । 

निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल अन्तर्गत ६०० मतदान केन्द्र कायम गरिएको छ । मतदाता ४ लाख ७९ हजार ३८ जना पुगेका छन् ।