गोरखापत्र अनलाइन
काठमाडौं, असोज १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैंको नवौँ दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले शीतल निवासमा स्वागत गरेर वैदिक विधिअनुसार नेपाल बाल मन्दिरमा नौं जना कन्याहरूलाई दक्षिणसहित टीका लगाएर नव दुर्गादेवीको पूजा आराधना गर्नुभएको हो । यसैक्रममा उहाँले ती कन्याहरूलाई लत्ताकपडा समेत उपहार दिनुभयो ।
कन्याहरूलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैँ खुट्टा धोएर सुत्न पनि आग्रह गर्नुभयो । त्यस अवसरमा ‘रातो टीका निधारमा...’ र ‘फेरि कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरूले सामूहिक नृत्य प्रस्तुत गरेका थिए । राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले कन्याहरूसँग सामूहिक तस्बिर समेत खिचाउनुभयो । गत वर्ष पनि वडा दशैंको महानवमीको दिन नौं जना कन्याहरूलाई बोलाएर उहाँले नवदुर्गा देवीको पूजा आराधना गर्नुभएको थियो । भोलि (बुधबार) बडा दशैंको दशौं दिन विजया दशमी पर्व मनाइदैछ ।
यस वर्ष बडा दशैंको टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ छ । राष्ट्रपति भण्डारीले पनि सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम तय भएको छ ।