काठमाडौं, असोज १८ गते । नवरात्र अर्थात् बडाददशैंको नवौँ दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ । दुर्गा पक्षसमेत भनिने यस अवसरमा नवरात्रको अन्तिम दिन परेकाले पनि आज बिहानैदेखि झरीको परवाह नगरी देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो।
नवरात्रको अन्तिम दिन आज बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भइरहेको छ। शक्तिपीठ र देवी मन्दिर वरिपरिका सडकमा सवारीसाधनको पनि चाप देखिन्छ। ती स्थानमा पार्किङ गरिएका सवारीसाधनको पनि लाम भेटिन्छ। अन्यत्र भने सडक खुला छ।
महानवमीको दिन भएकाले आज धेरैले सवारीसाधनमा पूजा आराधना गरी घरमै थन्क्याएका कारण पनि सडक सुनसान छ।
अघिपछि सडक जाममा पर्ने यात्रु अहिले भने खुला वातावरणमा यात्रा गर्न पाउने अवस्था छ। सवारीसाधन कम भएपछि राजधानीको वातावरणमा धुवाँ धुलोको मात्रा कम छ। राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, वज्रवाराही, बगलामुखीलगायत मन्दिरमा भक्तजनको भीड छ।
आज महाअष्टमीमा जस्तै बलिसहित पूजा आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ। राजधानीका प्रत्येक शक्तिपीठमा आज हजारौँ सङ्ख्यामा भक्तजन लामबद्ध छन्।
वर्षमा एक दिनमात्र खुल्ने हनुमानढोका दरबारको तलेजु भवानी मन्दिरमा पनि बिहानैदेखि हजारौँ भक्तजन लाममा बसेका छन्। घटस्थापनाका दिन राखेको जमरा आज शक्तिपीठमा लगी चढाउने चलन छ।
यसैगरी वर्षमा एक दिनमात्र खुल्ने गोकर्ण राजनिकुञ्जभित्रको वनदेवी मन्दिरमा पनि बिहानैदेखि हजारौँ भक्तजन लाममा बसेका छन्। नेपाल ट्रस्टको कार्यालयअन्तर्गतको गोकर्ण वनमा रहेको यो वनदेवी मन्दिर प्रत्येक शारदीय नवरात्रको महाअष्टमी र महानवमीका दिनमात्र खुल्ने गर्छ।
यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको घुइँचो छ। पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलान्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बागलुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडीमालिकालगायत मन्दिरमा भक्तजनको भीड लागेको बताइएको छ।
नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। विगत दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजा आराधना गर्न आह्वान गरिएको थियो। यस वर्ष भने कोरोनाको जोखिम कम भएपनि डेङ्गुको त्रास बढेको छ। यस वर्ष डेङ्गुबाट सुरक्षित भएर दशैं मनाउन प्रशासनले आह्वान गरेको छ। वर्षा निरन्तर भइरहेकाले पनि यस्ता रोगबाट बचेर पर्व मनाउन आह्वान गरिएको छ।