• ६ पुस २०८१, शनिबार

पहिरोले नहर भत्काएपछि सिमकोटमा विद्युत् सेवा अवरुद्ध

blog

फाइल तस्बिर

राजन रावत

हुम्ला, असोज १८ गते । बडादशैं मनाइरहेका बेला सोमबार रातीबाट सदरमुकाम सिमकोट लगायत दुई वटा गाउँपालिकाको विद्युत् सेवा अवरुद्ध भएको छ । हिल्दुम विद्युत् आयोजनाको नहरलाई पहिरोले भत्काएपछि अनिश्चितकाका लागि विद्युत् सेवा अवरुद्ध भएको हो ।

हिल्दुम विद्युत् वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख सुशीलकुमार थारुले नहरको पानी चुहावट भएर पहिरोले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध भएको बताउनुभयो । पहिरोले नहर भत्काउनुुका साथै पन्ध्र बीस मिटर ग्याबिन लगाएको भाग पनि भासिएको उहाँको भनाइ छ । 

नहर भत्किएपछि सोमबार बेलुकाबाट सिमकोट र खार्पुनाथ गाउँपालिका अन्धकार भएको छ । भत्किएको नहरको मर्मतका लागि मङ्गलबार बिहानैबाट केन्द्रका कर्मचारी खटिएको र काम भइरहेको थारुले बताउनुभयो । कहिलेसम्म विद्युत् आपूर्ति गर्ने भन्ने अहिले नै भन्न नसकिने उहाँले बताउनुभयो । 

भत्किएको नहरमा काम सुरु भएको र सम्पन्न हुने बित्तिकै विद्युत् सुचारु गरिने उहाँले जानकारी दिनुभयो । दशैं अवधिभरि विद्युत् सुचारु गर्न कठिन रहेको उहाँको भनाइ छ । विद्युत् अवरुद्ध हुँदा यहाँका दुई हजारभन्दा बढी सेवाग्राही मर्कामा पर्नुभएको छ । 

सो आयोजनाको मुहानबाट फर्बे ट्याङ्कीसम्मको नहर मर्मत गर्नुका लागि भदौ २८ गतेबाट असोज ५ गतेसम्म पनि विद्युत् सेवा अवरुद्ध भएको थियो । वर्षाका कारण काम गर्न कठिनाइ भइरहँदा पनि विद्युत् सुचारु गरिएको थियो ।