काठमाडौ, असोज १८ गते । सातादेखि लगातार परेको वर्षा मङ्गलबार र बुधबार पनि निरन्तर पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि मध्यमखालको वर्षा भइरहेको जनाएको छ ।
बङ्गालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमतर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली हुँदा मङ्गलबार र विजयादशमी अर्थात बुधबार देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । राति भने लुम्बिनी, बागमती, गण्डकी, मधेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
दशैंको टीकाको दिन देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।