• १६ भदौ २०८१, आइतबार

दशैंमा कलाकारको खानपान

blog

काठमाडौँ, असोज १७ गते । नेपालीको महान् चाड बडादशैंले सबैलाई छोइसकेको छ । सपिङ, आफन्त भेटघाट, तास, पिङ, गाउँघर जाने योजनाका साथ नेपालीले दशैं मनाउने गर्छन् । व्यस्त भनेर चिनिएका कलाकारहरू यस पटकको दशैंमा व्यस्त नै देखिन्छन् ।

खानपानदेखि लिएर कलाकारलाई घर जाने चटारोले समेत छोइसकेको छ । कसैलाई विभिन्न कार्यक्रममा प्रस्तुति दिन भ्याइनभ्याइ छ भने कोही दशैंमा आफ्नो खानपानमा कसरी ध्यान दिने भनेर लागिपरेका छन् ।

कलाकार बादल भट्ट आफू मांसाहारी भए पनि खानपानमा एकदमै ध्यान दिने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दशैंमा मुख फालेर खाएर के गर्नु, भोलि आफैँलाई गाह्रो हुने हो ।” खसीको मासु खाए पनि एकदमै विचार गरेर खाने उहाँको भनाइ छ । यस पटकको टीका इटहरीस्थित आफ्नै घरमा लगाउने सुरसार उहाँको छ । “सपरिवार यतै छौँ, त्यसैले टीका यतै लगाइन्छ,” उहाँ भन्नुहुन्छ । 

दशैंमा मुख फालेर खाएर के गर्नु, भोलि आफैँलाई गाह्रो हुने हो । खसीको मासु खाए पनि एकदमै विचार गरेर खाने हो । 

असोज शुक्लपक्षको दशमी तिथिको दिनलाई प्रमुख दिन मानिन्छ । यो दिनमा भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको हुँदा यस दिनलाई विजयादशमीका रूपमा मनाइने गरिन्छ । हुँदा खानेदेखि हुने खाने सबै वर्गले विजयादशमीलाई उल्लासका साथ मनाउने गर्छन् । मान्यजनको हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने गरिन्छ । असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा बडादशैँ मनाइन्छ । 

कलाकार दिनेश खत्री खसीबोका दुवैको मासु स्वादिलो तरिकाले खाने सुरसारमा देखिनुहुन्छ । धेरै खान मन लागे पनि शरीरलाई असर नपर्ने तरिकाले मासु खाने उहाँको भनाइ छ । यस पटकको टीका मोरङस्थित आफ्नै घरमा लगाउने उहाँले बताउनुभयो । “मामाघर सङ्खुवासभा हो, त्यहाँ जान्नँ । यहीँ परिवारको हातको टीका लगाउँछु,” उहाँ भन्नुहुन्छ ।

नेपालको परिवेशमा दशैंको छुट्टै महत्व रहँदै आएको छ । वर्षौँसम्म भेट नभएका परिवारका सदस्यहरू भेट गराउने विशेष पर्व हो, दशैँ । अध्ययन र रोजगारीको सिलसिलामा आफ्नो घरभन्दा टाढा भएकाहरू यस पर्वमा आफ्नो मुख्य घरमा भेला भएर यो चाड उल्लासका साथ मनाउने चलन रहँदै आएको छ । 

कलाकार कञ्चन चिमोरिया दशैँमा खसी र कुखुरा दुवै खाने सुरसार रहेको बताउनुहुन्छ । “मलाई खसीको मासुमा ग्रेभी र फ्राई धेरै मन पर्छ,” उहाँ भन्नुहुन्छ । मासु खाँदा आफ्नो शरीरलाई पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । “धेरै रेड मिट नखाने, ठिक्क मात्रामा खाने हो,” । उहाँ यस पटकको टीका काठमाडौँस्थित ठूलो बुवाको घरमा लगाउँदै हुनुहुन्छ । “बुवाआमा सङ्खुवासभा हुनुहुन्छ । यस पटक मेरो परीक्षा पनि परेको छ,” चिमोरियाको भनाइ छ । 

दशैंलाई नयाँ लुगा लगाउने र मीठोमसिनो खाने पर्वका रूपमा मान्ने गरिन्छ । दशैंले सबैको घरमा उल्लास ल्याउँछ, सँगसँगै आर्थिक भार पनि थपिन्छ । सम्पन्नहरूको देखासिकीले विपन्न वर्गलाई पनि असर पुग्छ । चाडपर्वमा रमाइलो गर्ने भन्दै फजुल खर्च गर्नुभन्दा पनि आवश्यकता अनुसार तयारी गर्न सके पछुतो हुँदैन । त्यसैले दशैं भन्दैमा आफ्नो शरीरलाई हानि हुने गरी खानु हुँदैन । सबैले ठिक्क खाई आफ्नो शरीर तन्दुरुस्त राख्नुपर्छ । 

Author

सुकृत नेपाल