गजेन्द्र गुरुङ
खजुरा, साउन १८ गते । बाँकेको कोहलपुर-११, साझा चोकस्थित सहकारी संस्था लिमिटेड (साझा)ले साउन १६ गते एक सूचना जारी गर्दै साउन १८ गते प्रतिव्यक्ति २० केजीका दरले रासायनिक मल वितरण गर्ने भनी सहकारीमा आबद्ध कृषक शेयर सदस्यहरूका लागि परिचयपत्र र लालपुर्जाको फोटोकपी लिएर आउन सूचित गरायो ।
सोही सूचनालाई आधार मानेर आइतबार बिहानै चार बजेदेखि नै हातमा खाली बोरा समाएर सयौँको सङ्ख्यामा किसानहरू सहकारीको गेटबाहिर लामो लाइनमा बसे । घण्टौँ लाइनमा बस्दासमेत उनीहरूले मल पाएनन् र ११ बजेतिर अन्ततः रित्तो बोरा लिएर घर फर्कनु पर्यो ।
“सहकारीको सूचना अनुसार हामी बिहानै ४–५ बजेदेखि नै लाइन लागेर बस्यौँ, अहिले सूचना जारी गरेर आज मल वितरण हुँदैन भनेर जानकारी गराए, ८ वर्ष भयो यो सहकारीको शेयर सदस्य बनेको, अहिलेसम्म एक किलो पनि मल यहाँबाट लैजान पाएको छैन ।” कोहलपुर-१३ का किसान लालबहादुर बुढाले भन्नुभयो, “अहिलेसम्म चार पटक यहाँ आइसकेँ, लाइन बसेर कुपनसमेत पाइनँ, सधैँ बाहिरबाट महङ्गोमा मल किन्नुपर्छ, जताबाट पनि मर्ने हामीजस्ता किसान नै हो ।”
अर्का किसान शेरबहादुर खड्काले बिहान ७ बजेदेखि लाइन बसेर कुपनसमेत नपाएको दुःखेसो पोख्नुभयो । “टाठाबाठाका घरघरमा मल पुग्छ रे, हामीजस्ता निमुखाका कुरा कस्ले सुन्ने ? यहाँ आएको मल हामीले देख्नसम्म पाइन्नँ, २० केजी मलका लागि घण्टौँ लाइन बस्यो, रित्तै बोरा लिएर घर फर्किनुपर्छ ।” उहाँले भन्नुभयो, “न समयमा मल पाइन्छ, न बिउ पाइन्छ, न सिँचाइ छ, आकाशे भरमा खेती गर्ने हो तर समयमै केही पनि नपाउँदा कसरी हामीले उत्पादन गर्न सक्छौँ, के खाने, के खुवाउने ?”
“अहिलेसम्म छ पटक आइसकेँ, कुपन पाउनका लागि घण्टौँ लाइन बस्नुपर्ने, मल त कहाँ हो, कुपन पनि पाइएन्, २० किलो मलका लागि यत्रो दुःख छ, नेताहरू किसानका समस्या समाधान गर्छौँ भन्छन्, ठुलाठुला भाषण गर्छन्, तर हामीले २० किलो मल पाउन पनि यो हालत छ ।” कोहलपुर-१२ का किसान आसिराम सार्कीले भन्नुभयो, “अरु के आशा गर्नु ? यो पटकमात्र होइन हरेक वर्षको समस्या हो यो, किसानले कहिल्यै राहत नपाउने भए, कसलाई के भन्ने र ?”
सहकारीले साढे दस बजेतिर एक सूचना जारी गर्दै मल वितरण गर्ने कार्य बढी भिडभाड भएका कारण भन्दै स्थगित गरेको जानकारी गरायो । उक्त सूचना हेरेपछि जम्मा भएका किसान अल्ल न मल्लमा परे । सहकारीका वरिष्ठ सहकारी व्यवस्थापक जुल्फेकार अलीको हस्ताक्षरमा जारी सूचनामा आइतबार प्रतिकिसान २० केजीका दरले मल वितरण गर्ने भनी कुपनसमेत वितरण गरिएको तर मल वितरण गर्दा बढी भिड भएकाले मल वितरणमा समस्या आएका कारण कुपन पाएका किसानहरू सोमबार बिहान १० बजेपछि कुपन लिएर आएमा मल पाउने भनेर उल्लेख गरिएको छ । सूचनामा कुपन नपाएका किसानहरूले अर्को मलको कोटा प्राप्त भएपछि मल वितरण गरिने जनाइएको छ ।
सहकारीका अध्यक्ष पारसनाथ थारूले सहकारीको सदस्य सङ्ख्या बढी भएको तर मलको कोटा कम आउने गरेका कारण समस्या उत्पन्न भएको बताउनुभयो । “हामीलाई आवश्यक मल सरकारले दिँदैन्, मागअनुसारको मल पुर्याउन सक्दैन्, हामी त केवल मध्यस्थकर्ता मात्र हौँ, जे जति आउँछ, त्यही बिक्री गर्ने, जनताले कुरा बुझ्दैनन्, उनीहरूले सहकारीले मल दिएन भन्छन्, तर हामीसँग हुँदै नभएको मल कहाँबाट ल्याएर वितरण गर्नु ?” उहाँले भन्नुभयो, “नगरपालिकाअन्तर्गत रहेको नगर कृषि शाखाले कोटा तोक्छ, कोहलपुरमा अन्य ५–६ वटा सहकारी छन्, उनीहरूका पाँच सात सय सदस्य छन्, हाम्रा १० हजार ३०० सदस्य छन्, अनि कोटा तोक्दा एउटै रेसियोमा तोकिन्छ, बराबार भाग लगाएर हामीलाई मल दिइन्छ अनि कसरी माग धान्न सक्छौँ हामीले ?”
उहाँले असार महिनामा आएको १८० बोरा युरीया मल वितरण गरिएको तर अहिले आएको २०० बोरी मल वितरण गर्दा समस्या आएको बताउनुभयो । “असारमा आएको १८० बोरी युरीया मल वितरण गर्याैं, अहिले २०० बोरी आएको छ, यो वितरण गर्न भनेर गत मङ्गलबारका लागि सूचना जारी गरेका थियौँ, त्यसदिन पनि भिडभाड र हल्लाखल्लाका कारण बाँड्न सकेनौँ ।” उहाँले भन्नुभयो, “सोही मल आजलाई वितरण गर्ने योजना बनाएर ३५० वटा कुपन वितरण गर्याैं, बिहानैबाट किसानको लाइन थियो, भिडभाड थियो, कुपन पाएका किसानलाई सहकारीको गेट बन्द गरेर भित्र वितरण गर्न थालेका थियौँ, बाहिरबाट सयौँको सङ्ख्यामा रहेका अन्य किसानहरूले गेट तोडर भित्र पस्नुभयो र आज पनि वितरण गर्न सकेनौँ ।”
“सम्बन्धित ठाउँमा समन्वय गर्दा साउन अन्तिम नभए भदौ पहिलो साता मल आउँछ भन्छ, कोटा निर्धारण गर्दा सम्बन्धितले सदस्य सङ्ख्या हेरेर मल दिनुपर्यो, अरूलाई १०० बोरी दिँदा हामीलाई ३–४०० बोरी दिनुपर्याे ।” अध्यक्ष थारूले भन्नुभयो, “हामी पनि किसानै हौँ, हामीलाई किसानका पीडा थाहा छ तर के गर्न सक्छौँ हामी ? अन्य किसानहरूले बुझिदिनुपर्याे, सरकारले व्यवस्थापन गर्दैन्, समयमा मागअनुसारको मल दिँदैन्, यसमा हाम्रो गल्ती छैन्, सरकारले तत्काल यो समस्या समाधान गर्न पहल गरोस् ।”