• १८ साउन २०८२, आइतबार

नयाँ पुस्तामा नेवार संस्कृति हस्तान्तरण

blog

दमौली (तनहुँ),  साउन १८ गते ।  नेवाः तजिलजी पुच व्यास नगर समितिले नयाँ पुस्तालाई नेवार संस्कृतिका विविध पक्षबारे साक्षात्कार गराएको छ । नेवार संस्कृतिको संरक्षण र प्रवर्धनका लागि समितिले नयाँ पुस्तालाई नेवार समुदायसँग सम्बन्धित विभिन्न संस्कृतिबारे जानकार गराएको हो । 

समितिले नयाँ पुस्ताका केही व्यक्तिलाई तीन महिनासम्म नेवार समुदायको धिमे बाजा, परम्परागत सङ्गीत, नृत्य सिकाएको समितिका अध्यक्ष सन्देशनारायण श्रेष्ठले जानकारी दिनुभयो । नयाँ पुस्ताले नेवार संस्कृति बिर्संदै गएकाले यसको संरक्षणका लागि तीन महिनासम्म प्रशिक्षण सञ्चालन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “नेवार समुदायको संस्कृति संरक्षण गर्नुपर्छ भनेर लागि परेका हौ । व्यास नगरपालिकाभित्रका ४० जना युवायुवतीलाई तीन महिनासम्म विभिन्न सीप सिकाएका छौँ ।”

सहभागीलाई तजिलजी नाच, धिमे बाजा, लाखे नाच, टाकटुके नाच, कुमारी नृत्य सिकाइएको छ । “पुरानो पुस्ताले अहिलेसम्म संस्कृति संरक्षण गर्दै आउनुभएको छ, अब हाम्रो जिम्मेवारी हो,” उहाँले भन्नुभयो, “भाषा, संस्कृति बिर्सन हुँदैन । पुरानो पुस्ताबाट अहिलेको पुस्तामा सीप हस्तान्तरण गर्ने प्रयास गरेका छौ ।”

उनीहरूलाई सुदीप श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणको अन्तिम दिन शनिबार सहभागीहरूले नेवार सांस्कृतिक सम्पदा प्रदर्शन गरेका थिए । 

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले नेवार समुदायको संस्कृति र परम्पराले हिन्दु धर्मको संरक्षण गरेको बताउनुभयो । नेवार समुदायको मौलिक संस्कृति संरक्षणका लागि व्यास नगरपालिका सधैं तयार रहेको उहाँको भनाइ थियो । 

नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका पूर्वअध्यक्ष शङ्करनारायण श्रेष्ठले नेवार समुदायको धर्म, संस्कृति र परम्पराले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएकाले अहिलेका पुस्तालाई संस्कृति हस्तान्तरण गरिनु सकारात्मक रहेको बताउनुभयो । नेपालको चिनारी नै नेवारी भाषाबाट भएकाले सरकारले नेवार संस्कृतिको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो । रासस