• १३ साउन २०८१, आइतबार

नागरिक नजरमा योग्य उम्मेदवार

blog

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ साल मङ्सिर ४ गते हुन गइरहेको छ । प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम १६५ सिटमा र समानुपातिक निर्वाचन प्रणालीबमोजिम ११० गरी २७५ सिटमा र प्रदेश सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीबमोजिम ३३० र समानुपातिक निर्वाचन प्रणालीबमोजिम २२० गरी ५५० सिटमा निर्वाचन हुँदै छ । प्रतिनिधि सभा र प्रदेश सभामा गरी ८२५ जनप्रतिनिधिलाई एक करोड ७९ लाख ८८ हजार ५७० बालिग मतदाताले निर्वाचित गरी पठाउने छन् । 

निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि ७८ वटा निर्वाचन चिह्न लिने गरी ८६ वटा दल दर्ता भएका छन् भने समानुपातिक निर्वाचनतर्फ भाग लिन ६८ वटा निर्वाचन चिह्न लिने गरी ७६ वटा दल दर्ता भएको अवस्था छ । त्यसैगरी प्रतिनिधि सभातर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने दलको सङ्ख्या ४८ रहेको छ । साथै दलले पेस गरेको बन्दसूचीमा समावेश भएका उम्मेदवारको विवरण यही असोज २२ गते सार्वजनिक हुँदै छ भने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको उम्मेदवारको मनोनयन दर्ता असोज २३ गते भई उम्मेदवारको अन्तिम नामावली प्रकाशन असोज २६ गते हुँदै छ ।

प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा राजनीतिक दलको तर्फबाट र स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्दै उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिने गर्छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने दलको तर्फबाट मात्र उम्मेदवार हुन सक्छन् । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ गोप्य मतदान प्रक्रियाद्वारा एक पद एक मतको आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अपनाइन्छ भने समानुपातिक निर्वाचन प्रणालीतर्फ दललाई मत दिई दलले पाएको सिट सङ्ख्याको आधारमा बन्दसूचीबाट दलले छनोट गरेका उम्मेदवारहरू निर्वाचित हुने व्यवस्था छ ।

निर्वाचन आयोगले निर्वाचन सुशासनका लागि थप टेवा पुगोस् भन्ने अभिप्रायले समाजको आवश्यकता र सर्वसाधारणको मागअनुसार सार्वजनिक हितका खातिर केही नयाँ व्यवस्था गरेको छ । उम्मेदवारले मनोनयन गर्दा मनोनयन पत्रसाथ आफूले हस्ताक्षर गरी निर्वाचनमा निर्धारित हदभन्दा बढी खर्च गरेर कारबाही नभएको, कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी बेरुजु पेश्की तिर्न बुझाउन बाँकी नरहेको, न्यायिक–अर्धन्यायिक निकायबाट लागेको कैद, सजाय, जरिवाना तिर्न बुझाउन बाँकी नरहेको साथै प्रचलित कानुनबमोजिम सरकारी निकायलाई बुझाउनुपर्ने कर, राजस्व, शुल्क, दस्तुर तिर्न बुझाउन बाँकी नरहेको भन्नेजस्ता विषयमा स्वघोषणा गरी पेस गर्नुपर्छ । 

त्यसैगरी उम्मेदवारको नाम, थर, ठेगाना, शैक्षिक योग्यता, अनुभव तथा आफूले उल्लेख गर्न चाहेको थप विवरण उल्लेख गरी वैयक्तिक विवरणसमेत पेस गर्नुपर्ने व्यवस्था छ । उम्मेदवारले मनोनयन पत्रसाथ सम्पत्ति विवरणसमेत भरी खामबन्दी गरी पेस गर्नुपर्ने र निर्वाचित भएपश्चात् उक्त सम्पत्ति विवरण सार्वजनिक हुने व्यवस्था छ । निर्वाचित हुनुभन्दा अघि उम्मेदवार दलको प्रतिनिधि हो भने निर्वाचित भएपश्चात् ऊ जनताको प्रतिनिधि हुन्छ । निर्वाचित जनप्रतिनिधिलाई जनताले आफ्नो सार्वभौम अधिकार सार्वजनिक हितका लागि प्रयोग गर्न मतदानमार्फत प्रत्यायोजन गरेका हुन्छन् । यस्तो अधिकारको प्रयोग जनप्रतिनिधिले व्यक्तिगत हित र स्वार्थका लागि प्रयोग नगरोस् भन्ने अपेक्षा आमनागरिकको हुन्छ । अधिकारको दुरुपयोग नहोस् भन्नाका खातिर मतदाताले सक्षम, योग्य र इमानदार उम्मेदवार को छ भनी थाहा पाउनु उसको अधिकार हुन्छ । उम्मेदवारको विगतको पृष्ठभूमि, अनुभव, समाजसेवामा योगदान, उसको आय वैध वा अवैध के हो ? यी धेरै कुराको नागरिकले लेखाजोखा गर्न पाउनुपर्छ । 

निर्वाचित जनप्रतिनिधि सार्वजनिक पद धारण गरेका सार्वजनिक पदाधिकारी हुन्छन् । सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा गोपनीयता हकको प्रयोग एवं उपभोगमा केही फरक हुन सक्छ । सार्वजनिक पदवाहक व्यक्तिको गोपनीयता कायम गर्नुपर्ने सूची अन्य व्यक्तिको भन्दा साँघुरो हुन्छ । सार्वजनिक पदाधिकारीले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने हुन्छ र पारदर्शी हुनुपर्छ । त्यसैगरी निजहरूको चरित्र पनि सार्वजनिक हुने गर्छ किनकि निजहरू चरित्रवान्, नैतिकवान् र इमानदार तथा रोलमोडल हुनुपर्छ भन्ने मान्यता रहेको हुन्छ । सार्वजनिक पदाधिकारीको आम्दानीको स्रोत के हो र उनीहरूको आम्दानीको तुलनामा खर्चको अवस्था कस्तो छ, जीवनशैली कस्तो छ भन्ने कुरामा समाजले सरोकार राख्छ । यसर्थ जनप्रतिनिधि हुन खोज्ने व्यक्तिहरू पारदर्शी हुनैपर्छ ।  राजनीतिक दलले कस्तो योग्यता, क्षमता भएको व्यक्तिलाई उम्मेदवारमा छनोट गर्ने भन्ने कुरा सम्बन्धित दलको निर्णयमा भर पर्छ भने कस्तो योग्यता, क्षमता भएको उम्मेदवारलाई मतदान गरी निर्वाचित गराउने भन्ने कुरा मतदाताको विवेकमा निर्भर रहन्छ । निर्वाचनमा हामी मतदाताले जस्तो उम्मेदवारलाई मतदान गरी निर्वाचित गर्छौं त्यस्तै शासन पाउँछौँ । असल उम्मेदवार छनोट गरे असल शासन पाइन्छ भने खराब उम्मेदवार छनोट गरे खराब शासन पाइन्छ । तसर्थ हामी मतदाताले पछि पछुताउनुभन्दा समयमै उचित र विवेकसम्मत निर्णय गर्नु आवश्यक हुन्छ । 

लोकतन्त्रमा निर्वाचनको माध्यमबाट जनताका प्रतिनिधिहरू चुनिन्छन् र जनताको नाममा जनप्रतिनिधिहरूले शासन प्रक्रियामा सहभागी भई सेवा प्रवाह तथा समृद्धिका लागि कार्य गर्ने मान्यता छ । मुलुकको शासन सञ्चालन गर्ने जनप्रतिनिधिहरू इमानदार, सक्षम, निष्ठावान्, सेवाको भावना, दूरदृष्टि, न्याय दिन सक्ने तथा विवेक भएका, स्वार्थरहित भावना भएका उद्देश्यवान् र प्रतिबद्ध हुनुपर्छ । त्यस प्रकृतिका गुण भएका व्यक्तिलाई राजनीतिक दलले उम्मेदवार बनाउनुपर्छ र त्यस किसिमका गुण भएका व्यक्तिलाई जनताले पनि विवेक प्रयोग गरी छनोट गर्नुपर्छ । जनताका प्रतिनिधि एवं उम्मेदवार र नेतृत्वकर्तामा महìवपूर्ण योग्यता एवं गुण हुनुपर्छ । प्लेटोले शासक योग्य, लायक र सही व्यक्ति हुनुपर्छ भनेका छन् । 

नेपालको संविधान तथा प्रचलित निर्वाचनसम्बन्धी कानुनहरूले कस्तो व्यक्ति उम्मेदवार हुन पाउने र कस्तो व्यक्ति उम्मेदवार हुन नपाउने भनी योग्यता र अयोग्यताको सम्बन्धमा व्यवस्था गरेको छ । त्यसैगरी प्रचलित कानुनमा व्यवस्था नगरिएको र तत्काल ऐन बनाएर सम्बोधन गर्न पनि सम्भावना नभएका विषयलाई निर्वाचन आयोगले आदेश जारी गरेर, आचारसंहिता बनाएर तथा अन्य नीतिगत निर्णयद्वारा सम्बोधन गर्नुपर्ने हुन्छ । समाजको आवश्यकता र नागरिकको अपेक्षालाई बेवास्ता गर्न मिल्दैन । राजनीतिक दलहरूले पनि नागरिकको चाहना र अपेक्षाअनुरूप उम्मेदवारको छनोट गर्नुपर्छ । हाम्रा होइन राम्रा उम्मेदवार चयन गर्नुपर्छ । मतदाताहरूको पनि आफ्ना कर्तव्य र दायित्वहरू छन् । नागरिकले विवेक पु¥याउनुपर्ने विषयहरू पनि छन् । समाजमा सदाचार, निष्ठा, इमानदारिता तथा अनुशासनको पालना गरी समाजमा ख्याति आर्जन गरेका उच्च नैतिक चरित्रवान् व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने र त्यस्ता जनप्रतिनिधि छनोट गर्ने वातावरण सिर्जना हुनुपर्छ ।

प्रजातन्त्रको अवयव राजनीतिक दल भएको हुँदा दलले उपयुक्त उम्मेदवार छनोट गर्नुपर्छ । उम्मेदवार मात्र थुपार्ने प्रवृत्तिलाई निरुत्साहित गर्नु आवश्यक छ । राम्रो व्यक्ति उम्मेदवार छनोट भई निर्वाचित भएमा जनताको हितमा धेरैभन्दा धेरै काम भई समस्त समाज नै लाभान्वित हुन्छ । उम्मेदवारहरूप्रतिको असन्तुष्टिका कारण नागरिक मतदान गर्न जान मन नलाग्ने अवस्था सिर्जना हुन दिनु हँुदैन । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा दलाली, ठेकेदारी र स्वार्थ बाझिएका व्यक्तिहरू उम्मेदवार हुन नसक्ने वातावरण सिर्जना हुनुपर्छ र मतदाता पनि यसमा सचेत बन्नुपर्छ । राजनीति सेवा हो व्यापार तथा पेसा होइन । जसले सार्वजनिक हित र जनअपेक्षाअनुरूप काम गर्न सक्ने क्षमता राख्छ, त्यस्तो व्यक्ति जनताको प्रतिनिधि बन्ने वातावरण बनाउनुपर्छ ।

यस विषयमा मतदाता सचेत हुनु जरुरी हुन्छ । पैसामा उम्मेदवारको मोलमोलाइ हुने स्थितिको अन्त्य हुनु आवाश्यक छ । जुनसुकै दलको उम्मेदवार भए पनि राम्रो उम्मेदवार, नैतिकवान्, निष्ठा भएको कुशल उम्मेदवार को छ भनी मतदाताले हेर्नुपर्छ । निर्वाचनमा कसैको दबाब, प्रभाव एवं प्रलोभनमा नपरी योग्य र इमानदार एवं निष्ठावान् उम्मेदवारलाई मतदाताले छनोट गर्न सक्नुपर्छ ।

हाम्रो होइन, राम्रो र योग्य उम्मेदवारलाई दलले पनि छनोट गर्नुपर्छ र ती दलबाट छनोट भएकामध्ये जुन सक्षम, योग्य र इमानदार छन्, ती व्यक्तिलाई आफ्नो अमूल्य मताधिकार प्रयोग गरी निर्वाचित गर्न सके मात्र मुलुकमा सुशासनको अनुभूति हुनेछ । राजनीति भनेको मुहान हो । मुहान फोहोर भइदियो भने नदी नै फोहोर हुन्छ । तल तल जति नै सफा गरे पनि त्यो शुद्ध हुन सक्दैन ।