• १३ साउन २०८१, आइतबार

दशैँको पिरलो

blog

दशैँ  आयो, खाउँला पिउँला ... । हरेक वर्ष नेपालमा मनाइँदै आएको हिन्दु धर्मावलम्बीको सांस्कृतिक पर्व दशैँ सुरु भसकेको छ । दशैँमा मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिने प्रचलन रहँदै आएको छ । दशैँको बेलामा यात्रा, खानपिन र बजारबाट वस्तुहरूको खरिदबिक्रीको चहलपहल तीव्र छ । बजारका सबै वस्तु महँगिएका छन् । यात्रा कष्टप्रद छ । अरू बेलाको तुलनामा बढी मानिसको ओहोरदोहोर बढेको छ । यातायातका सवारीसाधन तथा हवाई यात्राका टिकट सबै बुकिङ भएका छन् र सामान्य मानिसले टिकट पाउन गाह्रो भइरहेको छ । डेङ्गुको प्रकोपका कारण स्वास्थ्य अवस्थामा ध्यान दिनुपर्ने अवस्था सिर्जना भएको छ र पनि दशैँजस्तो पर्व मनाउन घरभन्दा टाढा बसेका मानिस आ–आफ्ना घर पुग्ने हतारोमा छन् ।

असुरक्षित सडक यातायात

दशैँको बेलामा आवतजावत गर्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ । यात्रा गर्दा यातायातका साधनले क्षमताभन्दा बढी यात्रु राख्ने नेपालको पुरानै रोग हो । कमाउने बेला पनि यही हो । यतिबेला सवारी चालकको निरन्तरको यात्राका कारण उनीहरूले आराम पाएका हुँदैनन् । रातदिनको यात्रामा सवारीसाधन गुडाउनुपर्दा थाकेको शरीर, अनिँदो र सवारीचापका कारण अधिकांश सवारी दुर्घटना बढ्ने क्रम सुरु भइसकेको छ । सवारीसाधनमा दुईवटा चालक राख्ने, सवारीसाधनको इन्जिनको अवस्था चेक गर्ने, बाटोको अवस्थाका बारेमा जानकारी दिने प्रयास ट्राफिक प्रहरीले सुरु गरे पनि सवारी चापका कारण सबैलाई निगरानी गर्न नसकिएको यथार्थ हाम्रासामु छ । हरेक यात्रीले सवारीसाधनको अवस्था, सिटभन्दा बढी यात्रु राख्न खोजे आपूm नजाने घोषणाजस्ता प्रयास गरेर मात्रै सवारी दुर्घटना न्यून गर्न सकिन्छ । हरेक नागरिकले यात्रा गर्दा बाटोको अवस्थाका बारेमा बुझ्ने, बाटोमा चालकको स्पिडमा निगरानी गर्ने र ढिलो गए पुगिन्छ, चाँडो गरे भन्न सकिन्न भन्ने मान्यतालाई आत्मसात् गरी सुरिक्षत यात्रा गर्नका लागि ध्यान दिनु जरुरी छ ।

पुराना सवारीसाधनमाथि बन्देज लगाउने, सवारीसाधनको इन्जिन चेकजांँच गर्ने काम सरकारको तर्पmबाट प्रयास भए पनि व्यावहारिक रूपमा त्यसको पालना हुन सकिरहेको छैन । पर्व मनाउन यात्रा गर्ने यात्रुलाई सुरक्षित रूपमा गन्तव्यमा पु-याउने जिम्मेवारी सवारीसाधन मालिक र चालकले लिने काममा ध्यान दिनु आवश्यक छ भने यात्रुको सचेतनता सबैभन्दा महìवपूर्ण पक्ष हो ।

हरेक वर्ष दशैँ–तिहारको समयमा सवारी चापको वृद्धिले सडक दुर्घटना तीव्र रूपमा बढिरहेका छन् । सडक दुर्घटना न्यूनीकरणका लागि भइरहेका प्रयास सकारात्मक भए पनि नतिजामूलक बन्न सकिरहेका छैनन् । लामो दूरीका यातायातका साधनमा अनिवार्य रूपमा दुई जना चालकको व्यवस्थालाई कडाइका साथ पालना गर्नुपर्छ । सडक दुर्घटना रोक्नु सरकारी संयन्त्रको जिम्मेवारी भए पनि नागरिक जो यात्रुका रूपमा हिँड्नुपर्छ, उनीहरू स्वयंको सावधानी सबैभन्दा महìवपूर्ण पक्ष हो । सवारीसाधन धनी र चालकको हातमा धेरैको जिन्दगी टिकेको हुन्छ । उनीहरू जिम्मेवार भएर सुरक्षित यात्रा गराउने काममा ध्यान दिनु आवश्यक छ ।

अनावश्यक तडकभडकबाट बच्ने 

ऋण गरेर सांस्कृतिक पर्व मनाउने अवस्थामा क्रमशः सुधार आवश्यक छ । हामीसँंग जेजस्तो स्रोतसाधन छ, त्यसैबाट हाम्रा सांस्कृतिक पर्व मनाउने कुरामा ध्यान दिनु आवश्यक छ । हाम्रो क्षमता हामीलाई मात्रै थाहा छ, आफ्नो क्षमताभन्दा बढी अरूलाई देखाउनका लागि गरिने अनावश्यक खर्चले हाम्रो वर्षभरिको आर्थिक अवस्थालाई कमजोर बनाउने गर्छ । बालबालिकाको माग निरन्तर रूपमा बढ्ने गर्छ । बालबालिकालाई आफ्नो आर्थिक अवस्थाका बारेमा बताउन सके उनीहरूले जिद्दी गर्ने छैनन् । टीकाटालो, आशीर्वाद दिने प्रचलन हो । पैसा दिने र माग्ने विकृति अन्त्यका लागि सबैको प्रयास आवश्यक छ । 

बालबालिकालाई आशीर्वादको महìव बताउँदै पैसा नहुनेले दिन नसक्ने कुराको जानकारी दिनु आवश्यक छ । कहिलेकाहीँ ज्येष्ठ नागरिकलाई पैसा नहँुदा तनाव सिर्जना हुन्छ भन्ने कुरा बताउनुपर्छ । घरमा हुनेले दिने कुरा छुट्टै हो तर ऋण गरेर दक्षिणा दिने कुराले परिवारको आर्थिक भार बढाउने कुरामा विशेष ख्याल राख्नुपर्छ । दशैँमा गरिने पूजाआजालाई आर्थिक भार बढ्ने गरी अघि बढाउनु हँुदैन । धेरै खर्च गरेर गरिने पूजामा बढी राम्रो हुने र न्यून खर्चमा गर्ने पूजाआजाले काम नगर्ने हुँदैन । हाम्रो परम्परा, संस्कृतिको संरक्षणका लागि सामान्य खालको पूजाआजाले पनि धान्न सक्छ भन्ने कुराको बोध गर्दै अनावश्यक खर्च गर्ने कुरालाई घटाउँदै लैजानुपर्छ । 

स्वास्थ्यको ख्याल गर्ने 

दशैँमा हुने खानपानमा बढीजसो चिल्लो र बोसोयुक्त खाना हुने हुनाले त्यसले स्वास्थ्यमा नराम्रो प्रभाव पार्छ । त्यसैले चिल्लो, पिरो र बोसोजन्य खाद्य पदार्थबाट अलग रहनु स्वास्थ्यका लागि राम्रो हुन्छ । वर्षभरि आवश्यक पर्ने मासु दशैँमा एकै पटक खाने हामी नेपालीको बानी नै परेको छ । मासुको मात्रा अत्यधिक भएर धेरैजसो यही पर्वको बेलामा बिरामी हुने र अस्पतालमा गएर बस्नुपर्ने अवस्था आउन सक्ने भएकाले विशेष ख्याल राख्नु जरुरी छ । अत्यधिक मदिरा सेवन गर्ने, पर्वका नाममा जुवातास खेल्ने र भएको पैसा सबै नष्ट गर्ने बानी छ भने त्यो बानी छोड्नका लागि आजै तयार हुनुपर्छ । रमाइलोका लागि घरबाहिर डुल्न जाने, पिङ खेल्ने, खेतबारीमा घुम्न जाने, छरछिमेकसँग भेटघाट गर्ने, ज्येष्ठ नागरिकसंँग उनीहरूका अनुभव सुन्ने, बालबालिकासँंग खेल्नेजस्ता धेरै योजना बनाएर काम गर्न सकिन्छ । स्वास्थ्य राम्रो भए धेरै काम गर्न सकिन्छ तर दशैँ–तिहारजस्ता पर्व मनाउँदा खानपानका कारण बिरामी पर्दा पैसा र जीवन दुवै जोखिममा हुन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

मेलमिलाप र सामाजिक सद्भाव

दशैँलाई सामाजिक सद्भाव तथा मेलमिलापको पर्वका रूपमा लिइन्छ । समाजमा अन्यायको विरुद्धमा न्यायको, विकृतिका विरुद्धमा असल संस्कृतिको, बिछोडको ठाउँंमा मिलन र अन्तरविरोधको ठाउँंमा शान्ति र मेलमिलाप स्थापना गर्ने, आफन्त र इष्टमित्रसँग शुभ आशीर्वादको साटासाट र आदानप्रदान गर्ने पर्वका रूपमा स्थापित हाम्रा सांस्कृतिक धरोहरलाई सहज रूपमा, सजिलो र गच्छेअनुसार मनाउने र आनन्द मनाउने पर्वका रूपमा रहेको छ । 

खाद्यान्न अभाव हुने पहाडी जिल्लामा अरू बेला भात खान नपाए पनि दशैँको बेलामा भात खाने पर्वका रूपमा समेत परिचित छ तर यति बेला नै विभिन्न पहाडी दुर्गम जिल्लामा खाद्यान्न डिपोहरू रित्तो भएका खबर सार्वजनिक भइरहँदा सरकारले समयमै ध्यान दिनु जरुरी छ । आफ्नो उत्पादनले तीन महिना पनि खान नपुग्ने जिल्लाका बासिन्दाका लागि आवश्यक खाद्यान्न ढुवानी र वितरणको व्यवस्था गर्नु राज्यको प्रमुख दायित्व हो भन्ने कुराको बोध हुनु आवश्यक छ ।

विभिन्न धर्मावलम्बीका बीचमा यतिबेला सामाजिक सद्भाव, सौहार्दता र मेलमिलापपूर्ण वातावरणले नेपाली संस्कृतिलाई बहुजातीय, बहुभाषिक र बहुधार्मिकताको सङ्गमका रूपमा लिने गरिएको छ । दशैँ–तिहारको बेलामा लामो समय बाहिर गएका आफन्त घर फर्किने र भेटघाट, कुराकानी र खुसी, दुःखको साटासाट गर्ने पर्वका रूपमा रहेको नेपाली संस्कृतिको संरक्षण गर्दै विविध खाले विकृतिबाट जोगाउनु उत्तिकै जरुरी छ । 

असत्यमाथि सत्यको विजय, अन्याय–अत्याचार र विभेदका विरुद्धमा उभिएर अघि बढ्ने प्रेरणा प्रदान गर्दै आएका दशैँ–तिहारजस्ता हाम्रा प्राचीन सांस्कृतिक धरोहरको सम्मान गर्दै यसभित्र देखा परेका विकृतिको अन्त्य गर्ने प्रण आजको आवश्यकता हो । यस्ता सांस्कृतिक पर्वको बेला लाग्ने विभिन्न मेलामा हुने विकृतिबाट जोगिने, सुरक्षित यात्रा तय गर्ने, आफ्नो आर्थिक अवस्थाअनुरूप चल्ने, खानपानलाई स्वास्थ्य अनुकूल हुने गरी उपयोग गर्ने र शान्ति तथा मेलमिलापको वातावरण तयार गर्दै सामाजिक सद्भाव जोगाएर दशैँ मनाउन सबैलाई प्रेरणा प्रदान हुन सकोस् । दशैँको सबैलाई शुभकामना ।