• १३ साउन २०८१, आइतबार

दशैँका बेला सडक निर्माण तीव्र

blog

बाजुरा समाचारदाता

बाजुरा, असोज १६ गते  । बाजुराको साँफे–मार्तडी राजमार्गलाई दशैँअगावै सञ्चालनमा ल्याउने उद्देश्यसहित सडक मर्मत भइरहेको छ । गत असारदेखि पहिरोका कारण साँफे–मार्तडी राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

सडक डिभिजन कार्यालय अछामका कार्यालय प्रमुख दिवस बस्नेतका अनुसार साँफे–मार्तडी सडकखण्डअन्तर्गत पर्ने बल्दे–अम्कोट सडकमा बारम्बार गएको पहिरोले त्यहाँको सडकलाई तहसनहस पारेकाले त्यो ठाउँमा काम गर्न निकै समस्या भएको छ । उहाँले अहिले पानी पर्न रोकिएकाले अबका केही दिनभित्रै त्यो सडकमा गएको पहिरोलाई पन्छाएर दशैँअगावै बाटो सञ्चालनमा आउने बताउनुभयो ।

वैकल्पिक रूपमा अम्कोटको गाउँबाटै सडक लिने गरेर काम सुरु गरेको भए पनि तत्काल त्यही अम्कोट–बल्दे सडकलाई नै सफा गरेर दुई हप्ताभित्रै बाटो खुलाउने काम तीव्र गतिमा अघि बढेको बस्नेतले बताउनुभयो ।

गत वर्ष स्थानीय तहले गाउँका सडक दशैँअगावै सञ्चालनमा ल्याएको भए पनि अहिले भने ग्रामीण सडकसमेत निकै अस्तव्यस्त छन् । बर्खाको समयमा अविरल वर्षाका कारण तहसनहस ती गाउँका सडक पनि यो वर्ष मर्मत गर्न स्थानीय तहलाई निकै सकस भएको छ । 

अस्थायी रूपमा निर्माण गरिएका ग्रामीण सडक गत साउनमा लगातार परेको पानीले निकै बिग्रिएपछि अहिले ती सडक पन्छाउन निकै समस्या भएको जनप्रतिनिधिले बताएका छन् । लामो समयसम्म सडक सञ्चालनमा नआउँदा यहाँका स्थानीयवासीले दैनिक उपभोग्य सामग्री गाउँमा ढुवानी गर्दा निकै सास्ती खेप्दै आउनु परेको छ ।

बूढीगङ्गा नगरपालिका–२, व्रह्मतोलाका व्यापारी बलबहादुर थापाले अम्कोट सडक पहिरोले पटक–पटक अवरुद्ध बन्न थालेपछि सदरमुकाम मार्तडीका व्यापारीलाई सामान ढुवानी गर्न निकै समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाटो बन्द हुँदा व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् । उपभोक्ताले चर्को मूल्यमा सामान खरिद गर्नुपर्ने अवस्था छ ।” महेन्द्रनगर, धनगढी, अत्तरियाबाट आउने लामो दूरीका बस लामो समयदेखि बल्देमा रोकिँदै आएका छन् । त्यसैले बाजुराको मार्तडी–कोल्टी बजारसम्म दैनिक उपभोग्य सामग्री ढुवानी गर्दा निकै असहज भएको छ । 

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले अवरुद्ध सडक खोल्न सडक डिभिजन कार्यालय अछामले काम तीव्र रूपमा अघि बढाइरहेको बताउनुभयो ।

प्रमुख राजमार्गसहित बाजुराका स्थानीय तहमा हिउँदमा सञ्चालनमा आएका सडक अहिलेसम्म अवरुद्ध बनेकाले ती सडक पनि चाँडो खोल्न स्थानीय तहलाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो । खाद्यान्न अभाव छैन

असारदेखि असोजको पहिलो सातासम्म सडक अवरुद्ध भए पनि बाजुरामा खाद्यान्न अभाव छैन ।

खाद्यान्न व्यवस्था तथा बजार कम्पनी शाखा बाजुराका प्रमुख मेघराज ओझाका अनुसार बर्खाको समयलाई ध्यानमा राखी जेठमै बाजुराका लागि आवश्यक खाद्यान्न ढुवानी गरिसकेकाले अहिलेसम्म बाजुरामा खाद्यान्न अभाव नभएको हो ।उहाँले लामो समयसम्म बाटो नखुले पनि बाजुराको पूर्वी–उत्तर क्षेत्रमा पर्ने हिमाली, जगनाथ, स्वामिकार्तिक, बूढीनन्दालगायतका स्थानीय तहमा खाद्यान अभाव नभएको बताउनुभयो । खाद्य व्यवस्था तथा बजार कम्पनी डिपो कोल्टीका भीमबहादुर बुढाले अहिले कोल्टी खाद्यान्न डिपोमा दैनिक तीन सय जनासम्मले चामल लिने गरेका छन् । बाजुराको पूर्वी–उत्तर क्षेत्रका बासिन्दालाई यसअघि ४९ रुपियाँमा बिक्री हुने मोटा चामललाई दशैँ–तिहारमा ४२ र ६९ रुपियाँमा बिक्री गरिएको मसिनो चामललाई ६२ रुपियाँमा मात्र बिक्री गर्दै आएको छ । 

त्यसैगरी यसअघि तल्लो क्षेत्रका बासिन्दाका लागि पनि ४८ रुपियाँमा बिक्री गरिँदै आएको मोटा चामल दशैँ–तिहारमा ४१ रुपियाँ र ६८ रुपियाँमा बिक्री गरिँदै आएको मसिनो चामललाई ६१ रुपियाँमा बिक्री गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी शाखा बाजुराका प्रमुख ओझाले बताउनुभयो ।