• १३ साउन २०८१, आइतबार

डल्फिन संरक्षित क्षेत्रको माग

blog

धनगढी, असोज १६ गते । कैलालीमा डल्फिन देखिँदै आएको क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको छ ।  टीकापुर, भजनी नगरपालिकाको क्षेत्र समेटेर संरक्षणकर्मीद्वारा डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न माग गरिएको हो । खास गरेर टीकापुर नगरपालिका–७, बैदीस्थित ढुङ्गाना टोल, भजनी नगरपालिकाको–८, ३ लगायतका क्षेत्रमा बढी डल्फिन देखिने गर्छ । 

बर्सातको समयमा मोहना, पथरैया, काँढा, कान्द्रालगायतका नदीमा देखा पर्ने यी दुर्लभ जलप्राणीको अस्तित्व खतरामा रहेकाले जोगाउनका लागि डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक रहेको संरक्षणकर्मीले माग गरेका छन् । 

संरक्षण क्रियाकलापलाई व्यवस्थित रूपमा अगाडि बढाउन र व्यवस्थापनका लागि संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने संरक्षणकर्मी भोजराज ढुङ्गानाले बताउनुभयो । 

डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले भन्नुभयो, “अहिलेसम्म स्थानीय समुदायले आफ्नो क्षमताले भ्याएसम्म संरक्षणको कार्य गर्दै आएको छ ।” उहाँले भन्नुभयो, “यतिले मात्रै पुगेको छैन । संरक्षणका क्रियाकलाप दिगो रूपमा अगाडि बढाउन संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक छ ।”

स्थानीय संरक्षणकर्मीको नेतृत्वमा समुदायका व्यक्तिसमेत संरक्षण कार्यमा क्रियाशील छन् । उनीहरूले दशकअगाडिबाट संरक्षणसम्बन्धी सचेतनामूलक काम गर्दै आएका छन् । आहारा प्रजातिको माछा मासिँदा डल्फिन हराउने भन्दै उनीहरूले माछा आफू पनि मार्दैनन् र अरूलाई पनि मार्न रोक लगाएका छन् । 

नदीमा विषादी हाल्न पूर्ण रूपमा बन्देज लगाइएको छ । त्यस्तै फोहोर र मरेको सिनो, प्लास्टिक, बोत्तल नदीमा फाल्न पनि समुदायस्तरबाट रोक लगाइएको छ । डल्फिन संरक्षणका लागि समुदायस्तरबाट विभिन्न प्रयास भए पनि कतिपय कार्य अझै रोकिएको छैन । त्यस्ता कार्यमा पूर्ण रूपमा रोक लगाउन संरक्षित क्षेत्र बनाउनुपर्ने सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष धनसिंह साउदले बताउनुभयो । 

“संरक्षण गतिविधि बढाउनुका साथै नदीको गहिराइमा पनि ध्यान दिने हो भने यहाँ वर्षैभरि डल्फिन बस्न सक्छन्,” उहाँले भन्नुभयो । डल्फिन देखिने क्षेत्रमा डल्फिन मात्रै नभई विभिन्न किसिमका दुर्लभ प्रजातिका चरासमेत देखा पर्ने गरेका छन् । भजनीको पुरैना तालदेखि कर्णाली नदीको तल्लो तटीय क्षेत्र श्रीलङ्का टापु चरा र जैविक विविधताका लागि महŒवपूर्ण रहेको चराविद् हिरूलाल डङ्गौराको भनाइ छ । उहाँले यी सबै क्षेत्र समेटेर डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न सकिने बताउनुभयो । 

“राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बनाएको कार्ययोजनाअनुसार अगाडि बढेमा संरक्षित क्षेत्र बनाउन सकिन्छ,” उहाँले भन्नुभयो, ‘तर, यो विषयलाई नीतिगत तहमा लैजान सके मात्रै केही हुन्छजस्तो लाग्छ ।”  गत वर्ष कैलालीको घोडाघोडी सिमसारलाई नेपालकै पहिलो चरा अभयारण्य क्षेत्र घोषणा गरिएको थियो । त्यसबाट थप उत्साहित हुनुभएका संरक्षणकर्मीले डल्फिन पाइने पहिचान बनाएको क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने आवाज उठाउनुभएको हो । 

सबैको सहयोग र समन्वय भए डल्फिन देखिने क्षेत्रलाई डल्फिन संरक्षित क्षेत्र घोषणा गर्न सकिने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालको भनाइ छ । “कर्णाली र वसन्ता कोरिडोर क्षेत्रको डल्फिन सर्किट क्षेत्रलाई सबैको पहलमा प्रदेश सरकारले संरक्षित क्षेत्र घोषणा गर्न सक्छ,” उहाँले भन्नुभयो । संरक्षण र यस कार्यका लागि स्थानीय तहसँग समन्वय गरेर अगाडि बढिने प्रमुख रिजालको भनाइ थियो । 

डल्फिन पाइने क्षेत्र टीकापुर नगरपालिकाको नमुना क्षेत्र रहेको नगरप्रमुख रामलाल डङ्गौरा थारूको भनाइ छ । उहाँले यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन र विकास गर्न टीकापुर नगरपालिकाको स्रोतसाधनले भ्याएसम्म काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।