जनताको चेतनास्तरमा निकै वृद्धि भइसकेको छ । पञ्चायतकालको बारबन्देजमा हुर्किएका जनता अहिलेका होइनन् । अब हुने चुनाव सूचना र नियन्त्रित समाचार सुनेर आफूलाई सानो दायरामा केन्द्रित राखेका मतदाता मात्र सहभागी हुने चुनाव होइन । अधिकांश जनता शिक्षाको उज्यालोबाट लाभान्वित हुँदै सचेत बनेका छन् । जनता आधुनिक सूचना सञ्जालको व्यापक पहुँचबाट आफूलाई सचेत र सजग बनाउन सक्ने भइसकेका छन् । यो परिप्रेक्ष्यमा पनि राजनीतिक दलले उही पुराना मतदाताजस्तै
ठानेर चुनावी अभियान अगाडि बढाए भने त्यो उनीहरूका लागि ठूलो भूल हुनेछ ।
सधैँ एउटै कुराको रटान लगाएर एउटै दलप्रति आस्था व्यक्त गर्ने जमात हराउन थालिसकेको छ । दलका इतिहास घोकेर ऐतिहासिक घटनाक्रम मात्र नियालेर निर्वाचनमा कुनै एउटा दल चयन गरी मतदान गर्ने मतदाता क्रमशः घट्दो क्रममा छन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनलाई अध्ययन गर्ने हो भने पनि दलले इतिहास भजाएर खाने दिन सकिएको अनुभूति हुन्छ । दलका प्रवर्तकका बारेमा बताएर चुनाव जित्न अबका निर्वाचनमा हम्मेहम्मे नै देखिन्छ ।
दल र दलका नेताले सधैँ नेपाली जनतालाई भेडा सम्झँदै आएका छन् । नेताहरूका भ्रष्ट प्रवृत्तिका बारेमा जनतालाई केही थाहा छैन र थाहा पाएका भए पनि तत्काल बिर्सिन्छन् भन्ने सोच्नु अब गलत हुनेछ । केही समयअघिसम्म नेताको सोच र जनताको काम उस्तै उस्तै भए पनि पछिल्ला दिनमा जनताका आनीबानीमा परिवर्तन आइसकेको नेतालाई पत्तो छैन । अब पुरानै तरिकाले जनतालाई झुक्याउने दिन सायदै सकिएजस्तो आभास हुँदै छ ।
पहिले–पहिलेका युवा विद्यालय जीवनदेखि नै नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) या अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का बारेमा केही जानकारी लिएर कुनै न कुनै सङ्गठनका सदस्य भएका हुन्थे । राज्यको रापताप प्राप्त गर्न सफल थोरै सङ्ख्याका विद्यार्थी भने राष्ट्रिय विद्यार्थी मण्डलका वरपर घुमेका पाइन्थ्यो । नेविसङ्घका सदस्य स्वतन्त्रताका सिपाही भएको र नेपाली नेताहरूद्वारा स्थापित दलको भ्रातृ संस्थाको सदस्य भएकोमा गर्वका साथ समाजमा छाती फुलाएर हिँड्थे । अनेरास्ववियुका कार्यकर्ता भने कोही माक्र्सवादी, कोही लेनिनवादी, कोही स्टालिनवादी, कोही माओवादी, कोही फेडरेसनजस्ता विभिन्न नाममा विभाजित भए पनि विद्यार्थी हकअधिकारका लागि लडेको सङ्गठनको सदस्य भन्दै इज्जतका साथ उपस्थित हुने गर्दथे । सरकारी पैसाबाट सञ्चालित युवालाई मण्डले भन्ने गरिन्थ्यो ।
यिनै विद्यार्थी ठूलो भएपछि कांग्रेस, कम्युनिस्ट आदि पार्टीका सदस्य हुन्थे । नसा–नसामै तत्तत् पार्टीको रगत बगेको अभिमान गर्दै आफूलाई पार्टीको प्रतिबद्ध एवं सक्रिय कार्यकर्ता भएको प्रमाणित गर्न प्रयत्नरत हुनेहरूको सङ्घर्ष चल्दथ्यो । जनताका बीचमा तिनै कार्यकर्ता जान्थे र पार्टीको सङ्गठन विस्तार गर्दथे । अहिले त्यो समय फेरिइसकेको छ । वि.सं. २०४७ देखि अहिलेसम्म कांग्रेस र कम्युनिस्ट पार्टी धेरै पटक सत्तामा पुगे । सत्ताको उन्मादमा दलहरूले पार्टीको आधारस्तम्भका रूपमा हेरिने त्यस्ता कार्यकर्ता आवश्यक पर्छन् भन्ने नै बिर्सिसके । डन र धनलाई नै निर्वाचन विजयको पहिलो आधार बनाउने प्रचलन बढेकाले दलहरूमा विगतका जस्ता आस्थावान् कार्यकर्ताको खडेरी परिसकेको छ । नेपालका ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेलाई भने आफ्ना पार्टीमा अहिले पनि त्यस्तै कार्यकर्ता विद्यमान रहेको भ्रम छ । त्यसैगरी निर्वाचन जित्छु भन्ने गलत विश्वासले जरा गाडेको पाइन्छ ।
कांग्रेसका आठ÷दस लाख र नेकपा एमालेका त्यही हाराहारीका दर्तावाल कार्यकर्ताका निमित्त नेतृत्वका क्रियाकलाप उचित लाग्छ । माओवादी पार्टीका पनि मुठ्ठी बाँधेर देशमा परिवर्तन ल्याउन सकिन्छ भन्दै हिँडेकालाई पार्टी र नेताहरूले जे गरे पनि ठीकै लाग्न सक्छ तर चुनावमा तीभन्दा पनि धेरै जनताले भोट हाल्छन् भन्ने जानकारी ती दललाई भएजस्तो देखिन्न । आफ्ना आदेशपालकका मतबाट मात्रै चुनावमा विजय हासिल गर्न सकिँदैन भन्ने बेलैमा सोचेनन् भने निर्वाचन परिणाम सोचेजस्तो नआउन सक्छ ।
देश र जनताको मुहारमा हाँसो ल्याउने काममा प्रतिस्पर्धा गरेर निर्वाचन जित्ने रणनीति दलहरूले अपनाउनुपर्ने हो । नेपालमा भने दलहरूको सोच छ– जनतासँग के विकल्प छ र हामी
डराउनु ? पहिलो हुने कि दोस्रो हुने भन्नेमा कांग्रेस र एमालेकै बीचमा प्रतिस्पर्धा हुने हो । जतिसुकै नराम्रो काम गरे पनि तेस्रो हुने नेकपा माओवादी पार्टी नै हो । अन्य दलले जितेका सिट सङ्ख्याले त्यति ताìिवक असर गर्ने सम्भावना छँदै छैन । त्यसैले हामी ढुक्क भएर पुरानै शैलीले निर्वाचनमा गएमा पनि केही फरक पर्नेवाला छैन भन्ने नेतृत्वले ठानिरहेको छ ।
पार्टीको आन्तरिक निर्वाचनमा विजय हासिल गर्ने र नेतृत्व प्राप्त गर्ने उद्देश्यले बनाइएका कार्यकर्ताको अधिक सङ्ख्या दलहरूमा छ । दलका त्यस्ता कार्यकर्ता निर्वाचनमा न घरको दैलोबाट बाहिर निस्कन्छन् र निस्किहाले भने पनि आफ्ना पार्टीका बारेमा प्रभाव पार्ने गरी जनतालाई नै बुझाउन सक्छन् । दलका केन्द्रमा रहेकै अधिकांश नेतालाई आफ्नै पार्टीका झन्डा, सिद्धान्त, आदर्श आदिका बारेमा अत्तोपत्तो छैन । त्यस्ता नेता परिचालित गरेर चुनाव जित्ने योजना बनाउनु फलदायी हुँदैन ।
कांग्रेस जहिले पनि विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई आदि संस्थापक नेताको योगदान, त्याग र तपस्याको बखान गरेर भोट माग्ने गर्छ । लेनिन, माओत्सेतुङ, स्टालिन, ख्रुस्चेभ आदिको फोटो टाँगेर भोट माग्ने कम्युनिस्ट पार्टीमा भने अहिले केही परिवर्तन आएको देखिन्छ । सबैभन्दा ठूलो मानिएको कम्युनिस्ट पार्टी एमालेले ती फोटाका साथमा मदन भण्डारी र केपी ओलीको तस्बिरसमेत राख्न थालेको छ । दलहरूले याद गर्नुपर्ने के हो भने अहिलेका अधिकांश युवा मतदाता ती नेताका योगदानका बारेमै बेखबर छन् र केपी ओलीका बारेमा मात्रै जान्छन् । संविधानमा नभएको प्रावधान देखाउँदै ओलीले दुई÷दुई पटक संसद् विघटन गरेर राजनीतिक अस्थिरता निम्त्याउने काम गर्नुभयो । संसद्मा भएको आफ्नो पार्टीको दुईतिहाइ बहुमतलाई छियाछिया पार्ने काम उहाँबाट भयो ।
कांग्रेस गठबन्धनबाटै निर्वाचन जितिन्छ भन्नेमा ढुक्क छ । एमाले आफ्ना पार्टीका अध्यक्ष ओली र सत्तामा रहँदा उहाँले गरेका हर्कतकै बलमा अरू दललाई होच्याएरै विजय हासिल गर्ने योजनामा छ । निर्वाचन आउन डेढ महिना मात्रै बाँकी हुँदा पनि गठबन्धन दल सिट बाँडफाँटमै अल्मलिरहेका छन् । जनताका बीचमा जान ढिलो भइसकेको छ तर स्थानीय निर्वाचनमा
बढी तहमा सफलता हासिल गरेझैँ नै परिणाम आउनेमा निश्चिन्त भएर गठबन्धन बसेको छ । टोलटोलमा आफ्नाविरुद्ध चलेका चर्चाको जवाफ दिनुपर्छ भन्ने चेतना दलहरूमा देखिन्न ।
जसका कारण निर्वाचनमा विजय हासिल गर्न कठिन हुन्छ भन्ने चेतना ती दलमा छैन ।
विडम्बना जेजस्ता भए पनि कांग्रेसलाई चुनौती दिने लोकतन्त्रवादी दल आजसम्म नेपालमा देखिएको छैन । एमालेलाई पछाडि पार्न सक्ने नाममा कम्युनिस्ट राखेको अर्को कुनै दल पनि जन्मन सकेको छैन । बीचमा नेकपा माओवादी एक पटक आएको थियो तर नेताका सत्ताभोगी प्रवृत्तिका कारण आन्तरिक द्वन्द्वले निकै पछाडि परिसकेको छ । यी पुराना दललाई चुनौती दिने भन्दै समय–समयमा जन्मिएका दल पनि आन्तरिक विवाद र सिद्धान्तमा अपरिपक्वताका कारण माथि उठ्न सकेनन् । नयाँ जन्मिएका दलले प्रत्यक्ष निर्वाचनमा एक÷दुई सिट जिते पनि र केही स्वतन्त्रले केही सिट हात पारे पनि अहिल्यै यी दुई दलको अस्तित्वमा खासै ठूलो असर पर्ने देखिँदैन । त्यसैले अझै पनि पहिलो र दोस्रो दलका रूपमा कांग्रेस र एमाले नै बन्ने निश्चितजस्तै देखिन्छ ।
हुनुपर्ने पनि त्यही हो । यी दलले देश र जनताका लागि पटक पटक सङ्घर्ष गरेका थिए । नेताहरूले निकै दुःख झेलेकै हुन् तर अहिले बाटो बिराएकै कारण जनता निराश बन्दै गएका छन् । यी दल सच्चिएनन् भने शिरमा कालो बादल मडारिइसकेको छ । आउँदो निर्वाचनमा नभए पनि अर्को निर्वाचनमा उनीहरूलाई सङ्कटमा पर्नबाट कसैले जोगाउन सक्दैन । जनताको मनसम्म जरा गाडिसकेका दल पराजित हुनु राम्रो सङ्केत होइन । त्यसैले नेता र दल सच्चिऊन् भन्ने जनताको चाहना छ । दलहरूले भविष्य कस्तो बनाउने भन्ने उनीहरूकै जिम्मामा छ ।
दलहरूले सही मार्ग समातून् । नेताहरूमा सत्प्रवृत्तिले जरा गाडोस् । आगामी निर्वाचनपछि दल र नेताहरू देश र जनताका सेवामा क्रियाशील देख्न पाइयोस् । विजया दशमी २०७९ को अवसरमा सम्पूर्ण नेपालीको सुस्वास्थ्य, दीर्घायुको कामना गर्दछु !