• ११ असोज २०८१, शुक्रबार

ताप्लेजुङ खुला म्याराथनको उपाधि जुम्लाका कुँवरलाई

blog

खुला म्याराथनका विजेता दलबहादुर कुँवर। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज १३ गते । ताप्लेजुङ खुला म्याराथन (दौड) को उपाधि दलबहादुर कुँवरले जित्नुभएको छ। बिहीबार सम्पन्न ताप्लेजुङ खुला म्याराथनको उपाधि जुम्लाका कुँवरले जित्नुभएको हो। 

ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सवको अवसरमा आयोजित खुला म्याराथनको विजेता कुँवरले निर्धारित ४२ किलोमिटर दूरी चार घण्टा १२ मिनेट २७ सेकेण्डमा पूरा गर्नुभएको थियो। कर्णाली रिपोर्टिङ क्लबमा आबद्ध कुँवरले खुला म्याराथनको उपाधिसहित एक लाख ५१ हजार १११ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ। 

यस्तै नेपाल आर्मीको गजुरी धादिङस्थित शिवदल गणमा कार्यरत खगेन्द्रबहादुर भाट म्याराथनको उपविजेता बन्नुभएको छ। भाटले निर्धारित उक्त दूरी चार घण्टा १२ मिनेट ५७ सेकेण्डमा पार गर्नुभएको थियो। म्याराथनका तृतीय भने पाँचथरस्थित रणशेर गणमा कार्यरत नपाली सेनाका राजन मेयोङ्बा चार घण्टा १२ मिनेट ५८ सेकेण्डमा उक्त दूरी पार गर्दै तृतीय बन्नुभएको छ। उपविजेता र तृतीयले क्रमशः एक लाख ११ हजार १११ र ५१ हजार १११ रुपियाँ नगद पुरस्कार पाउनुभएको छ। 

यस्तै महिला हाफ म्याराथनतर्फ ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ फाकुम्बाकी समपाल्मु शेर्पाले उपाधि जित्नुभएको छ। निर्धारित २१ किलोमिटर दूरी तीन घण्टा १३ मिनेट ९ सेकेण्डमा पार गर्दै शेर्पाले उपाधि जित्नुभएको हो। उहाँले उपाधि जितेसँगै ८१ हजार १११ रुपियाँ नगद पुरस्कार पाउनुभएको छ। 

यस्तै भोजपुर जिल्लाकी छेन्वीमाया राईले चार घण्टा ९ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै महिला हाफ म्याराथनको द्वितीय र ताप्लेजुङकै मिक्वाखोला गाउँपालिका–३ लिबाङकी पेम्बाल्हामु शेर्पा चार घण्टा ३१ मिनेट ५४ सेकेण्डमा दूरी पार गरी तृतीय बन्नुभएको छ। द्वितीय बन्न सफल राई र तृतीय शेर्पाले क्रमशः ५१ हजार १११ र ३१ हजार १११ रुपियाँ नगद राशीको पुरस्कार प्राप्त गर्नुभएको छ। 

खुला म्याराथनका लागि सदरमुकाम फुङ्लिङ बजारदेखि तीन हजार ७९४ मिटरको उचाइ रहेको पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ बजार आइपुग्नुपर्ने गरी दौडस्थल कायम गरिएको थियो। त्यस्तै महिला हाफ म्याराथनतर्फ फुङ्लिङ बजारदेखि पाथीभरा क्षेत्रको काफ्लेपाटी पुगेर पुनः फुङ्लिङ बजार आइपुग्ने स्थल कायम थियो। म्याराथनको खुलातर्फ एक सय ३५ र महिला हाफतर्फ २४ जनाले सहभागिता जनाएका थिए।

मङ्गलबार सुरु भएको तीन दिने ‘ताप्लेजुङ म्याराथन तथा पर्यटन महोत्सव २०७९’ बिहीबार सम्पन्न भएको हो। महोत्सव पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बन्धन समिति र नेपाली सेनाको भीमकाली गुल्म ताप्लेजुङले संयुक्त आयोजना गरेका हुन्।