• ६ पुस २०८१, शनिबार

दशैंमा कामदार घर गएपछि करिडोरको काम बन्द

blog

करिडोरको हुम्ला खण्डमा पर्ने सुनाखाडामा केही दिन अघि काम गर्दै नेपाली सेना । तस्बिर : राजन रावत

राजन रावत

हुुम्ला, असोज १३ गते । नेपाली सेनाको विकास निर्माण दलले कर्णाली करिडोरको हुम्ला र बाजुरा खण्डमा गर्दैआएको काम रोकेको छ । सडक निर्माण कार्यमा खटिँदै आएका कामदार दशैं मनाउन घर गएपछि सेनाले काम रोकेको हो । 

करिडोरको हुम्ला खण्डको सुनाखाडा क्षेत्रमा काम गर्दै आउनुभएका कामदार पवन नेपालीले दशै मनाउन घर जानुपर्ने भएका कारण सडक निर्माण कार्य रोकिएको बताउनुभयो । दशैंजस्तो महान् चाडमा कामदार सबै घर गएको बताउँदै उहाँले दशैपछि काममा फर्कने बताउनुभयो । दशै पनि परेको र घरको वाली भित्र्याउने समय भएको कारण निर्माण कार्य छाडेर घर जानुपरेको उहाँले बताउनुभयो । 

करिडोरको हुम्ला र बाजुरा खण्डको सडक निर्माणको जिम्मा पाएको विकास निर्माण दलका प्रमुख अनुप पोखरेलले काममा खटिदैआएका सबै कामदार दशैं मनाउन घर गएको कारण निर्माण कार्य रोकिएको बताउनुभयो । अब दशै पूर्णिमासम्म सडक निर्माणको काम रोकिने बताउनुभयो । दशैंलगत्तै कामदार काममा फर्कने कुरा भएकाले त्यस लगत्तै पुनः काम सुचारु हुने बताउनुभयो । 

हाल यी दुवै खण्डमा गरी चार सय कामदारले सडक निर्माणको काम गर्दै आउनुभएको थियो । कामदारले विस्फोट भएको ढुङ्गा पन्छाउने, ग्याविन लगाउने, विस्फोटका लागि हलो खोप्ने काम गर्दै आउनुभएको थियो । यो अवधिमा सेना दशैंमा पनि निर्माण स्थलमै बस्ने जनाएको छ । हालसम्म नेपाली सेनाको विकास निर्माण दलले जिम्मा पाएको हुम्ला खण्डको बालु कुनादेखि लालीबगरसम्मको ११ किलोमिटरमा साढे पाँच किलोमिटर सडकको पूर्ण रुपमा ट्र्याक खोल्ने कार्य सम्पन्न गरेको । 

बाजुरा खण्डको साढे दश किलोमिटरमा साढे दुई किलोमिटर सडक निर्माण कार्य पूरा भएको जनाएको छ । नेपाल सरकारले गत वर्ष असोजमा कर्णाली करिडोरको असजिलो खण्डको काम गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको भए पनि गत फागुन महिनामा सेनाको विकास निर्माण दल निर्माणस्थलमा पुगेर चैत महिनाबाट निर्माण कार्य सुरु गरेको थियो ।