• ६ चैत २०८२, शुक्रबार

सडकमा पैदलयात्रीको पहिलो अधिकार : काठमाडौं महानगर

blog

काठमाडौं, असोज १३ गते । काठमाडौं महानगरपालिकाले पैदल यात्रीलाई सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाउने बताएको छ ।

फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको भन्दै काठमाडौं महानगरले विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएको हो ।

बिहीबार महानगरका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीतिअन्तर्गत पूर्वाधार विकास सम्बन्धी नीतिमा ‘पैदल यात्री सहज आवागमनका लागि फुटपाथको उपयोग सहज र सरल बनाइनेछ । फुटपाथमा मानव आवतजावत बाहेकका सबै क्रियाकलापलाई निषेध गरिनेछ’ भन्ने व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

यही नीति प्रभावकारी रूपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन भइरहेको उहाँले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।

‘‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ । यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको छ ।,’’ प्रवक्ता मानन्धरले भन्नुभयो, ‘‘सहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन गरेर नागरिक जीवनमा सुधारको महसुस गराउने हाम्रो प्रतिबद्धता हो । यो कायम छ ।’’

यसैगरी, सहरी सरसफाईलाई पूर्ण सरसफाईसम्म पुर्‍याउने, सहरी सुन्दरता कायम गराउने जस्ता विषयलाई हामीले नीतिगत व्यवस्था गरेर कार्यान्वयनका लागि कार्यक्रम सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

प्रवक्ता मानन्धरले भन्नुभयो, ‘‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू किनमेलका घर बाहिर निस्कने समय हो । उहाँहरूको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो ।’’

सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषय रहेको उहाँको भनाइ छ । ‘‘सडक किनारामा निर्बाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रूपमा होइन पूर्ण र दीर्घकालीन रूपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ ।,’’ उहाँले भन्नुभयो । 

सहरी सुशासन र सहरी विकास व्यवस्थापनका सन्दर्भमा महानगरले नीतिबमोजिम आफ्ना कार्यक्रमहरूलाई निरन्तरता दिने प्रवक्ता मानन्धरले दोहोर्‍याउनु भयो ।