भरपर्दो सेवाजन्य उद्योगका रूपमा पर्यटन क्षेत्रले छाप छोडेको छ। विदेशी मुद्रा आर्जन र रोजगारीको हिसाबले पर्यटन क्षेत्रको योगदान उल्लेख्य रही आएको छ। ऐतिहासिक तथा धार्मिक महत्व बोकेका सहरबस्तीदेखि दुर्गमका गामबेँसीसम्म पर्यटकीय गतिविधिले रूपान्तरण दिनसकेमा आर्थिक सबलीकरण तथा रोजगारीको भरपर्दो टेकोका रूपमा लिन सकिएला। पर्यटन उद्योगलाई प्रमुख उद्योगका रूपमा संस्थागत विकासका लागि सरकारले चालेका नीतिगत कार्यक्रममा थप पृष्ठपोषण र सहकार्यको आवश्यकता छ। जसमा निजी तथा सार्वजनिक क्षेत्रको सक्रियता र सहकार्यले महत्व राख्दछ। नेपालको अर्थव्यवस्थाको आधारका रूपमा पर्यटन क्षेत्र रहेको छ। यो क्षेत्र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो। विश्वका आठ हजार मिटर उचाइ माथिका अग्ला १४ हिमशिखरमा आठवटा हिमशिखर त नेपालमा रहनु विश्वको पर्वतारोहण, रक क्लाइम्बिङ तथा साहसिक पर्वतारोहीका लागि पहिलो रोजाइको गन्तव्य रहेको छ नै।
यसै सन्दर्भमा नेपाल सरकारले सन् २०२३–२०३३ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरी सकेपश्चात् सरोकारवाला निकायको जिम्मेवारी र यस दशकलाई अभियानका रूपमा सञ्चालन गरी कोभिड–१९ को महामारी र व्यापक मन्दीपछिको तङ्ग्रिदो अवस्थामा थप लय र उत्साह ल्याउन आवश्यक छ। विगतका केही वर्षको पर्यटकीय आगमनको तथ्याङ्क विश्लेषण गरिएमा नेपाल आउने पर्यटकमा चीन, भारत, मलेसिया, सिङ्गापुर तथा खाडी मुलुकका पर्यटक धेरै रहेका छन्। अबका दिनमा चीन तथा दक्षिणपूर्वी एसियाली मुलुकका पर्यटकको आकर्षणमा थप ऊर्जा दिन ‘सबै समय, सबै याम, पर्यटन सेवा’ भन्ने मान्यताका आधारमा पर्यटन प्रवद्र्धन र पर्यटकीय सेवाको कार्यकलाप थप सेवाप्रवाहमुखी र आकर्षक सेवासहितको व्यवसायलाई विस्तार गर्न सकिएमा सम्भावना खोज्न सकिने थियो। पर्या–पर्यटनको कुरा गर्दा तात्विक रूपमा हिमाल आरोहण, प्राकृतिक स्थलहरूको मोहकता तथा नेपालको पदयात्रा पर्यटन विश्वकै अति उत्कृष्ट गन्तव्यस्थल भएको तथ्य छर्लङ्ग नै छ। तसर्थ, यस्ता उत्कृष्ट गन्तव्य स्थलहरूको प्रचुर पर्यटकीय भ्रमणको सम्भाव्यतालाई आत्मसात् गरेर पर्यटकीय मौलिकता बोकेका गन्तव्यस्थलको यथोचित अनि परिणाममुखी प्रचार प्रसारको खाँचो हामीमाझ खट्किएको छ। जसको गुणात्मक र परिणाममुखी परिवर्तनका लागि पर्यटन क्षेत्रसँग सरोकार राख्ने विभिन्न निकायको समन्वयात्मक कार्यले महत्व राख्दछ। यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी तथा सरकारी निकायले आफ्नो कार्यशैलीमा सामयिक सुधार गरी अन्र्तराष्ट्रिय बजारीकरण र प्रवद्र्धनात्मक कार्यक्रम ल्याउनु सापेक्षिक रहला।
पर्यटकीय गाउँहरूमा स्थानीय जनताकै घरआँगनमा आतिथ्य सत्कारलाई आकर्षक प्याकेजका साथ पस्कनु, जसमा स्थानीय मौलिक संस्कृति र वेशभूषा झल्कने नाचगानदेखि स्थानीय परिकारको स्वादले आतिथ्यतामा निखारता दिन सकिन्छ। ग्रामीण पर्यटन, पर्यापर्यटन र घरबास पर्यटनका दृष्टिकोणले दक्षिण एसियाकै नमुना लमजुङको घलेगाउँ, स्याङ्जाको सिरुबारी, म्याग्दीको अन्नपूर्ण पदमार्ग सर्किटका विभिन्न बस्ती अनि सगरमाथा बेसक्याम्प तथा लाङ्टाङ पदयात्रा पर्यटनलगायतका क्षेत्रमा विकास र प्रवद्र्धनका आयामलाई अझ फराकिलो गर्न सकिन्छ।