जानु पाण्डे
कपिलवस्तु असोज १२ गते । औलोसँग लडेर मधेशलाई गुल्जार गर्ने धर्तीपुत्र जनताले बिना झन्झट नागरिकता पाउनु पर्ने नेकपा (एमाले) का उपमहासचिव प्रदिप ज्ञवालीले बताउनुभएको छ । कपिलवस्तुमा आयोजित पार्टी प्रवेश तथा बृहत् जनसभामा उपमहासचिव ज्ञवालीले सो कुरा बताउनुभएको हो ।
सीमाको रक्षा गर्ने मधेसी जनतालाई नागरिकताबाट वञ्चित गराउन नमिल्ने उहाँले बताउनुभयो । नेपालमा जन्मेका सबै नागरिकलाई वंशजका आधारमा नागरिकता दिनुपर्ने एमालेको माग रहेको उहाँले प्रष्ट पार्नुभयो । नागरिकताको विषय लिएर गठबन्धनका कार्यकर्ताले भ्रम फैलाउँदै एमालेलाई मधेस विरोधी आरोप लगाइरहेकाले सजग हुन उहाँले पार्टी पङ्तिलाई आव्हान गर्नुभयो ।
एमाले नेतृत्वको सरकारले गत वर्ष नै नागरिकता विधेयक पास गरेको बताउँदै नागरिकता जनतासँग प्रत्यक्ष जोडिएको विषय भएकाले राजनैतिक मुद्दा बनाउन नमिल्ने उहाँको भनाइ छ । विदेशी बुहारीलाई नेपालको रहनसहन सिक्न केही समय दिनुपर्ने उहाँले बताउनुभयो । नेपालको रहन सहन, संस्कृति, चालचलन सिक्ने अवधिपछि नागरिकता दिन उचित हुने उहाँले बताउनुभयो ।
एमाले नेतृत्वको सरकारले तराई मधेसका धेरै समस्या समाधान गरेको दाबी गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो, “तराई मधेसमा सिँचाइको समस्या समाधान गर्न ठूला सिँचाई प्रणालीको सुरुवात एमालेको पालामा भएको हो ।”
तराई–मधेसमा विकासको काम गरेको कारण एमाले पार्टी प्रवेश गर्नेको जनलहर चलेको उहाँको भनाइ छ । अहिले एमालेविरुद्ध चौतर्फी घेराबन्दी रहे पनि एमालेप्रति जनलहर बढेको बताउनुभयो ।
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य मधुसूदन चौधरी, जिल्ला अध्यक्ष कैलाश अग्रहरीसहित एघार सय बढी नेता कार्यकर्तालाई पार्टी उपमहासचिव ज्ञवालीले एमाले प्रवेश गराउनुभयो । मधेसको सवालमा एमाले सधैँ स्पष्ट रहेकाले आफूहरू एमाले रोजेको मधुसूदन चौधरीले बताउनुभयो ।