• १२ असार २०८१, बुधबार

चार हजारभन्दा बढी प्रहरी खटाइयो

blog

छिन्चु समाचारदाता

सुर्खेत, असोज १२ गते । ठूला चाडपर्व नजिकिएसँगै हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा बढी प्रहरी खटाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै हुनसक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर चार हजार १४१ प्रहरी जनशक्ति खटाइएकोे हो ।

चाडपर्वको अवसरमा हुनसक्ने आपराधिक गतिविधिका सम्भावित शङ्कास्पद स्थान पहिचान गरी जाँच गरिने भएको छ । प्रदेश प्रहरीले जारी गरेको कार्य योजनामा १२५ नियमित क्यूआरटी परिचालन गरिएको छ भने ३१ स्थानमा नियमित चेक प्वाइन्ट राखिएको छ । 

ट्राफिकसहित संयुक्त रूपमा ५३ स्थानमा आकस्मिक जाँच तथा चोरी, तस्करी, लागूऔषध कारोबारलगायत अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गर्ने जनाएको छ । झैझगडा, जुवातास, चोरी, लुटपाट र मापसे नियन्त्रणका लागि ८६ स्थानमा जाँच गरिनेछ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

यसैबीच सम्पत्तिको सुरक्षा, जनधनको सुरक्षा, उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्गता भएका एवं ज्येष्ठ नागरिकको सुरक्षाको अधिकार सुनिश्चित गर्न कार्ययोजना बनाइएको छ । यो कार्ययोजना असोज ९ गतेदेखि लागू भएकोे जनाइएको छ । कर्णाली प्रदेशअन्तर्गतका जिल्लाको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आमनागरिकको जनजीवन सामान्य तुल्याउन बैङ्क तथा वित्तीय सङ्घसंस्थामा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्यसम्म जाने यात्रुसमेतलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको र सुरक्षा मापदण्डसमेतलाई लक्ष्य गरी प्रदेश प्रहरी कार्यालय सुर्खेत र मातहतका जिल्लामा सुरक्षा योजना बनाई लागू गरिएको हो ।

चाडपर्वको नाममा हुनसक्ने सबै प्रकारका अवाञ्छित र आपराधिक क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्दै नागरिकले सुरक्षित र उल्लासका साथ चाडपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्न उक्त कार्ययोजना  तयार गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।