• ११ असोज २०८१, शुक्रबार

खाने तेलको मूल्य घट्यो

चाडपर्वमा उपभोक्तालाई राहत

blog

नवराज कट्टेल

विराटनगर, असोज १० गते । कच्चा तेलको भन्सार महसुल कटौती भएपछि खाने तेलको मूल्य घटेको छ । सरकारले भदौ २१ गते कच्चा तेलको आयातमा लाग्ने महसुल कटौती गरेपछि खाने तेलको मूल्य प्रतिलिटर २० रुपियाँले सस्तिएको हो । 

असारसम्म बढेको खाने तेलको मूल्य साउनयता भने घटिरहेको छ । सरकारले कच्चा तोरीको भन्सार महसुल ५ प्रतिशतबाट १ प्रतिशतमा र अन्य कच्चा तेलको आयातमा लाग्ने भन्सार महसुल १ प्रतिशत कायम गर्ने निर्णय गरेपछि चाडबाडको मुखमा उपभोक्तालाई राहत थपेको हो । पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाका अनुसार कच्चा पदार्थको मूल्य वृद्धिका कारण असारमा महँगिएको खाने तेल अहिले सस्तिएको हो । 

नेपाल उद्योग वाणिज्य महासङ्घ, प्रदेश १ का सदस्य एवं बागमती आयलका सञ्चालक देवकीनन्दन अग्रवालका अनुसार सनफ्लावर तेलको मूल्यमा कटौती भएको छ । १० लिटर तेलको मूल्य तीन हजार एक सयबाट घटेर दुई हजार चार सय रुपियाँ भएको छ । 

स्वदेशी बजारमा खानेतेलको मूल्य घटे पनि माग भने उस्तै देखिएको अग्रवालले बताउनुभयो । उहाँले भन्नुभयो, “जोगबनीका व्यापारीले अरू सामान खरिद गर्दा खाने तेल नेपालको भन्दा कम मूल्यमा दिने गरेका छन् ।”

असारमा तोरी तेलको उद्योग मूल्य (फ्याक्ट्री मूल्य) प्रतिलिटर ३२० रुपियाँ, सनफ्लावरको प्रतिलिटर ३३० रुपियाँ, सोयाबिनको तीन सय, पाम तेल २२५ रुपियाँ पुगेको थियो । अहिले तोरीको २९५ देखि तीन सय रुपियाँ र अन्यको क्रमशः २५०, २२० र १८० रुपियाँमा झरेको छ । 

अग्रवालले तिहारसम्ममा खाने तेलको मूल्य निकै तल ओर्लने बताउनुभयो । असारमा खाने तेलको मूल्य बढ्नुमा रुस–युक्रेन युद्ध एउटा कारण थियो । युद्धका कारण 

रोकिएको कच्चा पदार्थको आयात अहिले सहज बन्दै गएको छ ।