• ८ मंसिर २०८१, शनिबार

प्रेमले जितिन्छ संसार

blog

वर्जित हुनुपर्ने विषय र धारणा केही छ र हुन्छ भने त्यो हो– घृणा र अपमान। पृथ्वीलोकमा होस् या परिकल्पित अनन्तलोकमा घृणा, अपमान र बदलाको भाव छ। हुन्छ र थियो भन्छन् मान्छेहरू, विभिन्न लोक–परलोकका परिकल्पनाकार। अर्को लोक र अलग धर्ती आकाशको होइन, यही लोक अझ हाम्रो भूमिमा प्रयोग भएका घृणा, अपमान, बदलाको चर्चा गरौँ। घृणाले घृणालाई जित्न सक्दैन, अपमानले अपमानलाई हराउन सक्दैन, बदलाभावले बदला केही समयका लागि लिन सक्छ तर अनन्तकालसम्म जोगाउन सक्तैन, बदलाको सिकार स्वयं बदला हुनेछ कुनै दिन। तसर्थ यी भाव सोचाइ र धारणामा संयम र धैर्य चाहिन्छ । धैर्य गर्न सकिएन भने सामान्य घटना, बोली, व्यवहार असामान्य, विग्रहपूर्ण, विवादित र अन्त्यमा एकअर्कालाई, परस्परमा भौतिक आक्रमण र समाप्तिको बिन्दुतिर पु¥याउने बनिदिन्छ। बर्बादी समाप्ति अनि अस्तित्वहीन अस्तित्वको नकारात्मक विम्बका रूपमा रहिरहन्छ सधैँ। बुद्धले सधैँ भने, प्रेमले संसार जित्न सकिन्छ जुन दिगो र भरोसायुक्त हुन्छ। 

घृणा, अपमान र अहङ्कारले पनि भौतिक आक्रमणबाट जित्न सकिन्छ। यदाकदा तर त्यो जित क्षणिक र कालजयी बन्न सक्दैन। जितलाई कालजयी बनाउन प्रेमपूर्ण र हार्दिक बनाउन प्रेम नै त्यस्तो बलियो र अचुक अस्त्र हो, जसले प्रेम, 

सद्भाव, विश्वास र समर्पणमा सांसारिक खुसी, सुख, आनन्द र सद्भाव पाउँछ। भगवान् गौतम बुद्धले प्रेम सिकाए, देखाए जसको फलस्वरूप आजपर्यन्त अरू हजारौँ जुनी पृथ्वीको आयु रहेसम्म गौतम बुद्ध अमर, अजर र अविनाशी रहन्छन्। उनको शान्तिवादी दर्शन र अहिंसात्मक अध्याय जहिल्यै सान्दर्भिक र गुणग्राही भएर संसारमा दिग्विजयको ज्योति प्रज्वलित भइरहन्छ। बुद्धले घृणा वर्जित गरे। घृणाको बन्देज भनेको अहिंसा पनि हो। 

अहिंसा हत्या र घातमा मात्र सीमित छैन आजकल, हिंसालाई वाणीद्वारा निर्मित हिंसाका रूपमा पनि बुझिन्छ याने कि कटु बोलेर अन्यप्रति गरिने हिंसा, परपीडक ग्रन्थीको प्रभावमा गरिने क्षुद्र र खराब बोली पनि हिंसाको रूप हो। परपीडन अरूहरूलाई पीडा दिएर प्राप्त हुने खुसी, स्वपीडन आफैँलाई पीडा दिएर प्राप्त हुने तुष्टि यी दुवै हिंसाका संश्लेषित रूप हुन्। हिंसा परित्यक्त चिज हो ग्रहणशील त प्रेम, शान्ति, सद्भाव, समभाव र विश्वास हो। गौतम बुद्धले आफ्नो अपमान गर्ने, आफूलाई ध्यानमग्न अवस्थामा रहेको बेला पिट्ने, अभद्र व्यवहार गर्ने, सामाजिक रूपमा बेइज्जत गर्ने कसैप्रति पनि बदला र अपमान गरेनन् बरु प्रेमको मार्गद्वारा नै तिनीहरूलाई आफ्नो अनुयायी बनाउन सके। आफ्नो अनन्य भक्त बनेर आउन बाध्य बनाए। अपमानको बदला अपमान सोचेको भए गौतम बुद्ध भगवान्का रूपमा पूज्य बन्दैनथे। आजको मान्छे चेतनाको उच्च स्तरमा पुगेर शिक्षादीक्षा लिएको मान्छे अझै बदला, घृणा र क्रोधबाट नै सबै कुराको समाधान चाहन्छ। 

जुन नितान्त गलत र मान्छेभित्रको आसुरी प्रवृत्ति हो। घातक चिन्तन र पशुत्वको झल्को हो। मान्छे निषेधलाई पौरख सम्झन्छ। निषेध कुनै पनि कुराको सामधान हुँदै होइन, झन् सामान्य कुरामा निषेध, एकअर्काको बुझाइमा कमी हुँदाको निषेध, गलत गराइभन्दा गलत बुझाइका कारण पैदा भएको निषेध झन् घातक र आत्मघाती छन्, देखिएको छ। दूरी बढाएर कुनै पनि कुराको उपचार भेटिन्न जति सक्यो दूरी कम गरेर सामीप्यमा रहेर जिन्दगीमा रहेका, देखिएका र भइपरिआएका असमझदारी र गत्यावरोध हटाउन सकिन्छ। 

जताततै छताछुल्ल आक्रोश, घृणा, प्रतिशोध र हिंसा देखिएको छ। सामान्य मनमुटाव, सामान्य असमझदारी बढेर भयानक हिंसा र क्षणभरमै एकले अर्कोलाई सिध्याउने, चरित्र हत्या गर्ने र भौतिक रूपमा नै सखाप पार्नेसम्मका घटना दिनानुदिन सार्वजनिक भएका छन्। असमझदारीलाई अनावश्यक तन्काउँदा, जटिल बनेर पे्रमपूर्ण विश्वास, भरोसा, सम्मान र मायाको संसार एकाएक खरानी भएका दृष्टान्त सबैका आँखामा बिझाएको आजको तीतो सत्य हो। असीम लगाव, विश्वास र भरोसाको पहाड रातारात ढलेको देखिन्छ। कारण खोज्दा त्यति भयानक र अपत्यारिलो लाग्दैन केही अपवादलाई छोडेर। सामान्य कुरा सहन नसक्ने, नसहने नाममा सामान्य कुरा पनि सहन गर्ने क्षमता नराख्ने, लघु शङ्का र लघु सोच नै प्रायः सम्बन्धमा दरार आउने कारण भएको तथ्य पाइन्छ। 

तथ्य धेरै छन् र हुन्छन्। धेरै कोणबाट यसको व्याख्या–विश्लेषण गर्न सकिन्छ तर असमझदारीको कारणलाई जेनेरलाइज गर्दा सामान्य कुरालाई असामान्य ढङ्गले आफू अनुकूल बुझ्नु र त्यसैमा प्रश्न अर्थात् के, किन, कसरी, कहाँ, को आदि अनावश्यक प्रश्नको घेरामा पुग्नु नै सम्बन्धमा दरार आउनुको प्रारम्भिक लक्षण हुन्। कारणलाई प्रारम्भिक चरणमा नै एकापसमा बसेर मन खोतलियो, मन माझियो भने त्यसले निकास पाउन सक्छ। अन्यथा यो बढ्दै गयो भने अप्रत्यासित र अकल्पनीय स्थितिमा पु¥याउँछ। आकस्मिक रूपमा गलत बुझाइ र सोचाइले पैदा भएको घृणा किन हिंसात्मक बन्छ ? गलत बुझाइका कारण एकअर्कामा मान्छे क्रोधित बन्छन्, भोलि र एकछिन पछिको परिणामको ख्याल गर्दैनन् र जे पनि बोल्छन्, भन्छन्। कहावत नै छ नि रिसको झोकमा मान्छेले वेद पुराण पढेर बस्दैन तथानाम बोल्छ र आफूलाई ठीक देखाउन अर्कोलाई गलत चित्रित गर्न हुने, नहुने सबै बोल्छ र आफ्नो तर्क बलियो पार्न खोज्छ। यो मानवीय स्वभाव हो तर यो दुर्बलता पनि हो। यतिबेला दुवै पक्ष धैर्य गर्न सक्तैनन् र लाञ्छना, आरोप र गालीको हद नाघ्न पुग्छन्। 

एकार्कामा चरम घृणा बोक्छन्। घृणा आफैँमा हिंसा हो। हिंसाको मात्रा मान्छेको स्वभाव र जिनअनुसार, परिस्थितिजन्य अवस्थानुसार फरक हुन्छ तर दुवैले हिंसाको सहारा लिएका हुन्छन्। यस्तो हिंसा कम गर्न पुनः समझदारी बढाउन के गर्ने त ? बुद्धले भनेझैँ संसारमा दुःख छ तर दुःखको कारण छ। हिंसा, बदला, अभिमान, प्रतिशोध र घमण्ड सबै संसारिक दुःख हुन्। मानवीय दुर्बल चरित्र हुन्। दुःखको समाधान क्रोध र घृणाको प्रकृतिलाई दुवै तर्फबाट मनन गर्ने। हरेक घटना र झगडाका कारण सामान्यभन्दा सामान्य रहेको हुन्छ। यदि कसैले कसैलाई म तँसँग रिसाउँछु भन्यो भने तँ रिसाए केही हुन्न भन्ने जबाफ दिनुको सट्टा रिसाउनु नराम्रो कुरा हो नरिसाउ है मात्रै भनिदिँदा पनि कति फरक पर्छ। त्यति मिठो जवाफले रिसको पारो स्वतः घट्न सक्छ। शङ्का निवारण र आधारलाई कहिल्यै अहंको विषय बनाउनुहुन्न। 

संसारमा सबैभन्दा ठूलो दान भनेर क्षमादानलाई परिभाषित गरिन्छ। क्षमादान गरिदिने मान्छे कहिल्यै सानो हुँदैन। क्षमादान पनि स्मृतिमा राखेर हैन, विस्मृतिमा धकेलेर लिनुदिनुमा यसको महìव र गरिमा छ। आकस्मिक अपराध कानुनले समेत सजायको कम भागीदार ठहर्छ भने पारस्परिक मिलनका लागि यो असमझदारीको विषय बन्नु र बनाइनु उचित हुन्न। एकछिनको विनम्रता, प्रायश्चित र असल नियतले खराब हुन लागेको सम्बन्ध, अपराधीकरण उन्मुख व्यवहारमा बदलाव आएर सुख, शान्ति र आनन्दको संसार भेटिन्छ भने घृणा, बदला, अपमान, आक्रोशलाई प्रेम, विश्वास, 

सद्भाव, आदर र आदर्शमा रूपान्तरण किन नगर्ने ? रिसको आवेग पागलपन हो, नियोजित पागलपन र आकस्मिक पागलपनमा धेरै अन्तर रहन्छ। 

अशान्तिबाट शान्तिमा पुग्नु भनेको हिंसारहित सिर्जनात्मक अवस्था हो। मनमा अशान्ति, अविश्वास र संसय बोकेर बस्नुभन्दा शान्तिको श्वास लिनु श्रेयस्कर छ। अशान्ति, मनोमालिन्य प्रगतिको बाधक हो। 

अशान्तिले चैन हराउँछ, केही सहँदा, बुझ्दा शान्ति र आनन्द प्राप्त हुन्छ भने किन अशान्त र विचलित भएर आफूलाई रोगाउने ? घृणा र अभिमानलाई केवल प्रेमले परास्त गर्न सकिन्छ। आपसी विश्वासको पहिलो सर्त भनेको स्वीकारोक्ति अर्थात् त्रुटि, गल्ती कमीकमजोरीको रियलाइजेसन हो। सौहार्दतापूर्वक कमजोरी आत्मसात् गर्नाले विश्वासको वातावरण फराकिलो र हार्दिक बन्छ। प्रेमरूपी हतियार चलाउन गौतम बुद्ध हुनु पर्दैन, महात्मा गान्धी बन्नु पर्दैन जुनसुकै घर, खानदान शिक्षित, अशिक्षित, कुलीन, अकुलीन, राजा, रङ्क सबैले सक्ने कुरा हो। मात्र मान्छेको मनभित्र विवेक हुनुपर्छ। विवेकी बन्न जात, धर्म, संस्कृति, रूप, रङ र आकारले बन्देज गर्दैन । प्रेमरूपी हतियार उदात्त हृदयको परिचायक हो । 

धारिलो प्रेमको हतियार बोकौँ, बौद्धिक र कलात्मक व्यवहार रोजौँ, समयले दुखाएका घाउ समयको मलमपट्टीले नै ठीक हुन्छ। प्रेमले मृत्युलाई जित्न सक्दैन अरू सबै सांसारिक वस्तुलाई प्रेमले सजिलै परास्त गर्न सक्छ, मृत्यु पनि प्रेमका कारण सहज बन्न चाहिँ सक्छ, घृणा वर्जित प्रेम आर्जित गरौँ। बुद्ध भूमिमा प्रेमले सिञ्चन गरौँ। घृणा, अभिमान, अपमान भनेका अन्धकारका प्रतीक। मनुष्यलाई नाश गर्ने विनाशका वस्तु हुन्। हाम्रो रोजाइ उज्यालो हो, उज्यालो प्रेमले अनुभूत गराउँछ। क्षणिक रूपमा लाग्ने बादल र तुँवालोलाई उज्यालोले हटाउने सामथ्र्य राख्छ।