• १३ साउन २०८१, आइतबार

राष्ट्रिय संरक्षण दिवस

वन्यजन्तु बाँचून् मानिस नमरून्

blog

लक्ष्मीप्रसाद उपाध्याय/वसन्त पराजुली 

चितवन, असोज ८ गते । विश्वमा दुर्लभ मानिएका वन्यजन्तुको संरक्षणमा नेपालले उल्लेख्य प्रगति हासिल गरेपछि संरक्षणमा अबको बाटो के भन्ने प्रश्न उब्जिएको छ । 

पछिल्लो दशकमा नेपालले विश्वमै दुर्लभ तथा सङ्कटापन्न अवस्थामा पुगेका वन्यजन्तुको संरक्षणको एकसूत्रीय एजेन्डाको बाटो समातेर उल्लेख्य उपलब्धि हासिल गरेको छ । वन्यजन्तुको वृद्धिसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि क्रमशः वृद्धि हुँदै गएपछि मानिस कि वन्यजन्तु ? भन्ने प्रश्न चौतर्फी उठिरहेको छ । 

विज्ञका भनाइमा मानव र वन्यजन्तु दुवैको सहअस्तित्व अहिलेको प्रमुख एजेन्डा बन्नुपर्छ । वन्यजन्तु बोल्न सक्दैनन्, आफ्ना पीडा व्यक्त गर्न सक्दैनन् । उनीहरूको वंशलाई जोगाउने जिम्मा त विवेकशील तथा चेतनशील प्राणी मानिसको नै हुन्छ । त्यसैले वन्यजन्तुको वंश जोगाउन पनि मानव समाजलाई उत्तिकै महत्व दिनुपर्छ । 

गैँडा विज्ञ डा. शान्तराज ज्ञवालीले भन्नुभयो, ‘‘हिजोका दिनमा हामीले बाघ, गैँडाजस्ता ठूला वन्यजन्तुको संरक्षणमा विशेष ध्यान दियौँ । त्यसमा नेपालले ठूलो सफलता हात पारेको छ । अब तिनै वन्यजन्तुले दुःख दिएका समुदायको बारेमा सोच्नु जरुरी छ ।’’ वन्यजन्तु बढेपछि बासस्थान व्यवस्थापन गर्नु अति आवश्यक हुन्छ । उचित बासस्थान भएन भने वन्यजन्तु बासस्थान बस्तीतिर आउन सक्ने सम्भावना हुन्छ नै । त्यसका लागि संरक्षित क्षेत्र वरिपरिका बासिन्दालाई ती हानि पु¥याउने वन्यजन्तुको बानीव्यवहारबारे सचेतना जगाउन आवश्यक रहेको विश्व वन्यजन्तु कोषका संरक्षण कार्यक्रम निर्देशक शिवराज भट्टले बताउनुुभयो । 

उहाँले भन्नुुभयो, ‘‘हालसम्मका अघिकांश घटना  समुदायका व्यक्ति वनजङ्गलभित्र गएका बेला भएका छन् । अब ती समुदायलाई वनजङ्गलभित्र जान नदिने गरी कसरी जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न सकिन्छ भन्ने विषयलाई मूल प्रवाहीकरण गर्नुपर्छ ।’’

विशेषगरी तराईका राष्ट्रिय निकुञ्ज वरिपरिका बासिन्दा वन्यजन्तुबाट बढी पीडित हुने गरेका छन् । गत पाँच वर्षको तथ्याङ्क हेर्दा बाघ, हात्ती र गैँडाको आक्रमणमा परी पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरिपरि सय जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् । वन्यजन्तुको दुर्घटनामा परी ६० जनाभन्दा बढी घाइते, अङ्गभङ्ग भएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकाल संरक्षित क्षेत्र वरिपरिका बासिन्दाको वनजङ्गलप्रतिको परनिर्भरता कसरी घटाउन सक्ने भन्ने कुरा नै प्रमुख चुनौती भएको बताउनुहुन्छ ।  उहाँले भन्नुुभयो, ‘‘संरक्षणमा नेपालले एक हदसम्मको उचाइ पार गरेको छ । आउँदा दिनमा ती वरिपरिका बासिन्दालाई कुनै पनि वन्यजन्तुले क्षति नपु-याउन सक्ने वातावरण कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा हामी लाग्नुपर्छ ।’’

ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संरक्षणकर्मीको सम्झनामा नेपालले शुक्रबार राष्ट्रिय संरक्षण दिवस मनाएको छ । 

यो दिवसमा हरेक संरक्षणकर्मीले अब वनजङ्गल वरिपरि रहेको गरिब, विपन्न बासिन्दाको सुरक्षा, जीविकोपार्जन तथा समृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । २०६३ असोज ७ गते हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, वन सचिव दामोदर पराजुलीसहित स्वदेशी तथा विदेशी संरक्षणविद्सहित २४ जनाको निधन भएको थियो । सोही घटनाको सम्झनामा सरकारले असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउँदै आएको छ ।