• ८ कात्तिक २०८१, बिहिबार

राष्ट्रपतिको असंवैधानिक कदमविरुद्ध संयुक्त विद्यार्थी सङ्गठनको प्रदर्शन (भिडियो)

blog

संयुक्त विद्यार्थी संगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै बिहीवार गरेको विरोध प्रदर्शन ।

काठमाडौं, असोज ६ गते । संयुक्त विद्यार्थी सङ्गठनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै बिहीबार पनि विरोध प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलामा संयुक्त विद्यार्थी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन् ।


नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियु, जनता समाजवादी पार्टी, नेपाल निकट समाजवादी विद्यार्थी युनियन र नेपाल समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा विरोध प्रदर्शनमा सहभागी छन् ।

विरोध प्रदर्शनमा सहभागीहरूले ‘नाम उसको विद्या, संविधानलाई सिधा’, ‘विद्यादेवी बालकोट जा’ लगायतका नारा लगाएर विरोध गरेका छन् । विरोध कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठनका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थी आन्दोलनबाट आएको व्यवस्थालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारानी बन्ने सपना देखेको बताउनुभयो ।


बालकोटको सहयात्री बन्दै राष्ट्रपतिले संविधानलाई कुल्चिने प्रयास गरेको उहाँको भनाइ छ । त्यस्तै, नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु नेकपा एमालेको अन्त्यको सुरु भएको बताउनुभयो ।

उहाँले राष्ट्रपतिलाई शीतलनिवासमा बस्ने अधिकार नरहेको भन्दै शीतलनिवासबाट चपली हाइट नलखेटी नेपाली विद्यार्थी आन्दोलनले विश्राम नलिने चेतावनी दिनुभयो । उहाँले नेकपा एमाले निर्वाचन विरोधी शक्ति भएको आरोप लगाउनुभयो ।

त्यस्तै, नेपाली कांग्रेस निकट विद्यार्थी सङ्गठन नेविसंघका सभापति दुजाङ शेर्पाले राष्ट्रपतिबाट नेपालको संविधानमा दाग लगाउने काम भएको आरोप लगाउनुभयो । उहाँले संविधान च्यातिँदै गर्दा कोही पनि चुप लागेर बस्न नमिल्ने बताउनुभयो । उहाँले नागरिकता जस्तो संवेदनशील विषयलाई नेकपा एमालेले चुनाव आएपछि राष्ट्रियताको नाममा राजनीति गर्न खोजेको आरोप लगाउनुभयो । संयुक्त विद्यार्थी सङ्गठनले विरोधका कार्यक्रममा असोज ७ गते बिहान ११ बजे सडक बहस कार्यक्रम गर्ने बताएको छ ।