• १२ असार २०८१, बुधबार

हिमालमा लक्जरी बेसक्याम्प, आरोहीलाई तारे होटेलको सुविधा

blog

हालको मनास्लु वेसक्याम्प । तस्बिर सौजन्य: टासिलाक्पा शेर्पा

काठमाडौँ, असोज ६ गते । केही वर्ष अघिसम्म बेसक्याम्पहरूलाई अस्थायी वासस्थानका रुपमा मात्र लिँदै सामान्य तवरले बेसक्याम्प तयार गर्ने गरिन्थ्यो । पछिल्लो वर्षदेखि बेसक्याम्पलाई लक्जरी बनाउन थालिएपछि आरोहीहरूले तारे होटेलको सुविधा बेसक्याम्पमै पाउने गरेका छन् । 


त्यस्तै चार हजार आठ सय मिटरमा रहेको मनास्लु बेसक्याम्प अहिले कुनै सुविधा सम्पन्न सहरभन्दा कम देखिँदैन । बेसक्याम्प पुग्नेहरू सहर छिरेको अनुभव गर्छन् । केही वर्ष अघिसम्म आरोहीहरू चीनतर्फको बाटो हुँदै सगरमाथा आरोहणमा जाँदा बेसक्याम्पमा रेस्टुरेन्ट, बार, स्नुकर, डिस्कोलगायतका सुविधा पाउने गरेको सुनाउने गर्दथे । तर आजभोलि सगरमाथा, मनास्लुलगायत धेरै आरोहीको भीड लाग्ने हिमालको बेसक्याम्प लक्जरी बनाउन थालिएको पाइएको छ । 

बेसक्याम्पमा विभिन्न खेलहरू खेलाउने व्यवस्था कम्पनीहरूले गरेकाले आरोहीहरूलाई चुचुरो पुग्न सहज

बजार प्रतिस्पर्धा भएकाले बेसक्याम्पमै तारे होटेलको सुविधा दिने गरी आरोहण आयोजना गर्नुपर्ने बाध्यता आएको फोर्टिन पिक एक्पीडिसन प्रालिका निर्देशक एवं आरोही टासिलाक्पा शेर्पाले बताउनुभयो । मनास्लु हिमाल काठमाडौँबाट नजिक र आरोहणका लागि सस्तो पर्ने भएकाले आरोहीको भीड लाग्ने गरेको छ । नजिक भएकाले पनि बेसक्याम्पमा लक्जरी सुविधा दिन सम्भव भएको शेर्पाले बताउनुभयो । आरोहण आयोजक कम्पनीहरूले यो सुविधा सगरमाथा, आमादव्लम लगायतका हिमालको बेसक्याम्पमा पनि विगतका वर्षहरूदेखि दिन सुरु गरेको बताएका छन् । 


केही वर्ष अघि विदेशी कम्पनीहरूले मात्र बेसक्याम्पमा लगानी गर्ने गरेका थिए भने नेपाली कम्पनीहरूले भने जसोतसो टार्ने काम मात्र गर्दै आएका थिए । पछिल्लो समय आरोहीबाटै रकम लिएर सुविधा दिने भएकाले कम्पनीहरूले बेसक्याम्पमा लाखौँ रुपियाँ लगानी गरेर लक्जरी बनाउन सुरु गरेको एटके एक्पीडिसनका निर्देशक एवं आरोही गाइड लाक्पा शेर्पाले बताउनुभयो ।

मनास्लु आरोहणका लागि ३८ आरोहण दलबाट ४०४ जना आरोही 

यो महिना मात्र मनास्लु हिमालमा दुई हजार जनाभन्दा बढी आरोही, गाइड र कामदार बेसक्याम्प पुगेका छन् । मनास्लु आरोहणका लागि ३८ आरोहण दलबाट ४०४ जना आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका छन् । त्यसै गरी यो आरोहण मौसमका लागि सगरमाथासहित १३ वटा हिमाल आरोहणका लागि ५६ वटा आरोहण दलबाट पाँच सय जना आरोहीले आरोहण अनुमति लिएको विभागले जनाएको छ । 

बेसक्याम्पले मिनेट मिनेटमा स्वरूप परिवर्तन गर्ने गर्छ आरोहीहरू मौसमसँगै रमाउँदै थकान मेटाउने गर्छन् । कम्पनीहरूले आरोहीका लागि उचाइमा पुगेर फर्के पछि रमाइलो गराउन साङ्गीतिक कार्यक्रम, हाइ अल्टिच्युट पचाउने प्रकारका खानका परिकार खुवाउने गरेको माउन्टेन गाइड गेल्जे शेर्पाले बताउनुभयो । मृत क्षेत्र (डेथ जोन) जानुपर्ने भएकाले आरोहीलाई खुसी बनाउनुपर्ने, अन्य समय सुतिरहनुपर्ने भएकाले शरीर स्वस्थ र फुर्तिलो बनाउन पनि विभिन्न खेल खेलाउने व्यवस्था कम्पनीहरूले गरेकाले आरोहीहरूलाई चुचुरो पुग्न सहज हुने गरेको उहाँले बताउनुभयो । 


पछिल्लो समयदेखि बेसक्याम्पमा लगानी गर्दै लक्जरी सुविधा दिन सुरु भएसँगै आरोहीहरूको आकर्षण बढ्न थालेको कम्पनीहरूले जनाएको छ । धेरै आरोहीको भीड लाग्ने हिमालमा बेसक्याम्पलाई सरकारले स्थायी संरचना निर्माण गरेर व्यवस्थापन गरे राज्यलाई नै  फाइदा पुग्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । सगरमाथा बेसक्याम्प सार्ने विषय उठ्दा विवाद गरेको भन्दै शिविर सार्ने भन्दा पनि थप व्यवस्थापन जरुरी रहेकाले सरकारले दीर्घकालीन योजना बनाउन समेत आरोही टासिलाक्पा शेर्पाले माग गर्नुभयो । 



Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।