• १३ साउन २०८१, आइतबार

सुपथ मूल्य पसल

blog

विपन्नले कष्ट सहनु परेकैले हुनुपर्छ, ठूला चाडपर्वलाई लिएर अनेक भनाइ र उखान नेपाली समाजमा चल्दै आएका छन्। त्यसै क्रममा दशैँलाई लिएर ‘आयो दशैँ ढोल बजाई, गयो दशैँ ऋण बोकाई,’ भन्ने समेत गरिन्छ। शरद् ऋतुमा आउने दशैँको धार्मिक तथा सांस्कृतिक महत्व विशिष्ट छ। नेपाली समाजलाई यो चाडले एकता, सद्भाव र समन्वयका निम्ति ठूलो ऊर्जा दिन्छ। तर चाडपर्व असाध्यै महँगा हुँदै गएका छन्। सीमित आय भएका परिवारलाई दशैँ चर्को पर्दै गएको छ। परिवारलाई कपडा किन्नै प¥यो। खानपानको व्यवस्था गर्नै प¥यो अनि नरनाता, कुल कुटुम्ब आदिलाई टार्ने पु¥याउने गर्दा खर्चले नेटो काट्छ। बढ्दै गएको महँगीमा सीमित आयले धान्दैन। त्यसैले खुसीको दशैँ ऋण बोकाई बिदा हुने नेपाली चलनचल्तीको भनाइ ठिकै हो। यस्तो अवस्थामा उपभोक्तालाई केही राहत दिन राज्यले समेत भूमिका निर्वाह गरिरहेको हुन्छ। सर्वसाधारणलाई अति आवश्यक पर्ने दैनिक उपभोग्य सरसामानमा केही कम मोलमा उपलब्ध गराउने यत्न वर्षौंदेखि हुँदै आएको छ।

दशैँ, तिहारलगायतका चाडपर्वलाई लक्षित गर्दै सरकारी पहलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने गरिन्छ। यो वर्ष पनि आसन्न दशैँतिहारलगायतका चाडपर्र्वलाई ध्यानमा राखेर राजधानीलगायतका स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन्। त्यस्ता पसलमा उपभोक्ताको भीडसमेत लाग्न थालेको छ। चाडपर्वका बेला उपभोग्य वस्तुको माग असाध्यै उच्च हुन्छ नै। यो स्वाभाविकसमेत हो। चाडपर्वमा उपभोग नै बढी हुने हुँदा समयमै किनेर जोहो गर्ने चलनै छ। त्यस्तो बेला आमउपभोक्ता ठगीमा पर्नु हुन्न भन्दै सुपथ मूल्य पसल सञ्चालनमा ल्याउनु स्वागतयोग्य कुरा हो। 

सुपथ मूल्य पसलमा दिइने छुटका निम्ति सरकारले अनुदान दिएको हुन्छ। उपभोक्तासम्म आवश्यक वस्तु पु¥याउने काम भने खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट टे«डिङ कर्पोरेसन र दुग्ध विकास संस्थान (डीडीसी)ले गर्दै आएका छन्। असोज १ गतेदेखि नै उपत्यकासहित देशका विभिन्न भागमा सुपथ मूल्य पसल सञ्चालनमा आएका छन्। यस्ता पसलमा सर्वसाधारण उपभोक्ताको आकर्षणसमेत बढ्छ। यसमा नठगिने विश्वास भएरै हो। बजार मूल्यभन्दा सरल र सस्तो होला भनेरै उपभोक्ता यस्ता पसलमा झुम्मिने हुन्। तर कतिपय वस्तु भने यस्ता पसलमै पनि बजार मूल्यभन्दा झन् महँगो देखिएका छन्।  

उपभोक्तालाई बढी आवश्यक पर्ने केही वस्तुकै मूल्य महँगो पाइएको छ। सुपथ मूल्य पसलमा सनफ्लावर तेल, मैदा, चिउरालगायतको मूल्य बजारमा भन्दा महँगो नै पाइएको छ। बजारमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर २९० रुपियाँ छ। सुपथ मूल्य पसलमा भने प्रति लिटरकै मूल्य २९५ रुपियाँ छ। त्यसमा पनि प्रतिलिटर सात रुपियाँ छुट दिएको भनिएको छ। सरकारको अनुदान र उपभोक्ताले तिर्ने मूल्य गरी प्रति लिटरमै ११ रुपियाँ महँगो हुनु उचित होइन। त्यस्तै बढी खपत हुने मैदा पनि बजारभन्दा महँगै देखिएको छ। बजारमा मैदा प्रतिकेजी ८० रुपियाँ छ। सुपथ मूल्य पसलमा प्रतिकेजी मैदा ८४ रुपियाँ तोकिएको छ। यो बजारको भन्दा प्रतिकेजीमा चार रुपियाँ बढी हो। 

दशैँमा चिउरा बढी प्रयोग हुन्छ। तराई ताइचिन चिउरा बजारमा प्रतिकेजी ७५ रुपियाँ पाइने गरेकोमा खाद्य कम्पनीमा ७८ र साल्ट टे«डिङमा ८० रुपियाँ रहेको छ। महँगो हुनुमा बोलपत्र आह्वान गर्दाका समयको मूल्य आदिलाई तर्क दिइने गरिएको छ। समाचारमा सुपथ मूल्य पसलमै महँगी भएको तथ्य बाहिर आएपछि मङ्गलबार  सुधार गरेको जानकारीसमेत आएको छ । सुपथ मूल्यका पसलमा उपभोक्तालाई राहत हुने गरी सरसामानको अझै राम्रो व्यवस्था गर्नु वाञ्छनीय छ। सरकारी कर्मचारीलगायतलाई दशैँ मनाउन एक महिनाको तलब सरकारले भत्ता दिन्छ। यो वर्षौंदेखि चल्दै आएको छ तर सर्वसाधारणका निम्ति दशैँ टार्नु सहज हुँदैन। रोजगारी खुम्चिएका बेला रुस र युक्रनबीचको युद्धले संसारलाई महँगीको जाँताले पिसेको छ र नेपाल अछुतो छैन। यस्तो बेला उपभोक्तालाई राहत दिने प्रयास सबै क्षेत्रको हुनुपर्छ। निजी क्षेत्रले समेत मुनाफालाई मात्र लक्ष्य नबनाई सार्वजनिक हितका निम्तिसमेत छुटको व्यवस्था गर्नु राम्रो अभ्यास हुन्छ। सबैको हित नै समाजको समग्र हित हो भन्ने मान्यतालाई कसैले पनि भुल्नु हुन्न।