• ८ मंसिर २०८१, शनिबार

डेङ्गुको जोखिम

blog

डेंगी सन् २००४ मा पहिलो पटक पुष्टि तथा सन् २०१९ मा ६८ जिल्लामा फैलिई १७ हजार ९९२ जना सङ्क्रमित र छ जनाको ज्यान गएको थियो भने यो साल साउनदेखि भदौ मसान्तसम्म ७५ जिल्लामा फैलिई १३ हजार बढी सङ्क्रमित र १३ जनाको मृत्यु भइसकेको छ। सङ्क्रमितको सङ्ख्या अकाशिएको, अस्पतालमा बढेको चाप, भर्ना भएरै उपचार गर्ने र आईसीयूसम्मै पुग्ने बिरामीको सङ्ख्या थपिँदो छ। जसले झनै प्रकोप र भयानकता देखाउनेमा आशङ्का छैन। त्यसैमा नेपाली बजारमा महामारी वा प्रकोप फैलनासाथ अभाव सुरु हुने गरेको तितो यथार्थ छ। परीक्षण तथा उपचार शुल्कमा मनपरी बन्ने गर्छ। सिटामोलको अभाव छ। पूर्वदेखि पश्चिमसम्म नै पहाडी क्षेत्रमा बढी सङ्क्रमित भएपछि अभाव र कालो बजारी देशभर व्याप्त छ।

 लामखुट्टेको टोकाइबाट ब्याक्टेरिया, भाइरस र परजीवीद्वारा लाग्ने खतरनाक रोगहरू पनि पर्दछन्। सङ्क्रमित एनोफिलिज लामखुट्टेको टोकाइले प्लाज्मोडियम परजीवीबाट लाग्ने औलो, एडिज एजिप्टाइ र केही हदसम्म अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट डेङ्गु ज्वरो, एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट जिका फिवर, एडिज एजिप्टाइ र अल्बोपिक्टस लामखुट्टेको टोकाइबाट चिकनगुनिया र लामखुट्टेको टोकाइबाट जापानिज इन्सेफलाइटिस पर्दछन्। संसारभर लामखुट्टेको टोकाइबाट हरेक वर्ष १० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ, जसको अधिकांश हिस्सा औलोले लिने गर्दथ्यो भने समयक्रमसँगै अन्य रोगले पनि लिन थालेका छन्।

डेङ्गु सङ्क्रमण

डेङ्गु भनेकै दुखाइभन्दा फरक नपर्ने भएको छ। शारीरिक दुखाइ कम गर्न धेरैले फलेक्सन वा ब्रुफेन तथा एस्प्रिन औषधि तथा प्लेटलेट बढाउन मेवाको पातको सहारा लिँदा झनै जोखिम बढेको छ। मुख्य लक्षण नै अत्यधिक शारीरिक पीडा हो। ब्रेक बोन फिवर अर्थात् हड्डी भाचिएसरह दुखाइ हुने ज्वरो पनि भनिन्छ। कोभिडको लहरको चर्चाबीच हाल डेङ्गुको दुखाइ लहर उत्कर्षतिर गइरहेको छ र लामखुट्टेको नियन्त्रणबिना ब्रेक लाग्ने पनि देखिँदैन।

डेङ्गु यसवर्ष साउनदेखि महामारीको रूपमा ७५ जिल्लामा फैलिई हजारौँ सङ्क्रमित, उपचारका लागि रगतको अभाव र १३ जनाको मृत्यु भएको छ। विगतमा नियन्त्रणबाहिरका रूपमा डेगी महामारीकै रूपमा तीन पटक फैलिइसकेको छ। सफा पानीमा पाइने पोथी एडिस एजिप्टीले दिउँसो मात्र टोक्दा हुने डेङ्गु सङ्क्रमण टाइप एकबाट दुईमा जाने, मृत्यु कम हुने क्लासिकबाट बढी मृत्यु हुने, मुलुकका केही ठूला स्थानका ठूला अस्पताल र मेडिकल कलेजमा मात्र उपलब्ध भेन्टिलेटरलगायतका सेवा सुविधा, जनचेतनामा कमी, रक्तसञ्चार सेवा तथा रगतको अभाव, रोकथामका लागि सरकारी र नागरिकको निष्क्रियता आदिले महामारी लिने र धेरै धनजनको क्षति हुने अवस्था छ। 

अव्यवस्थित सहरीकरण तथा मौसम परिवर्तनका कारण डेङ्गु मात्र नभई औलो, कालाजार, हात्तीपाइलेलगायतका कीटजन्य रोग दिन प्रतिदिन बढ्दै र प्रकोपको रूप लिँदैछन्। जनस्वास्थ्यका दृष्टिले रोगको उपचारभन्दा नियन्त्रण महìवपूर्ण रहन्छ। जसका लागि लामखुट्टेको बासस्थान, जीवनचक्र, सार्ने कीटाणुका प्रकार, स्वरूप आदिका बारेमा गहन अनुसन्धान हुनु पर्दछ। यसैका लागि स्थापना भएको कीटजन्य रोग अनुसन्धान केन्द्र त्यति प्रभावकारी रूपमा अघि बढेको देखिँदैन। नियमित हुनुपर्ने अध्ययन अनुसन्धान, प्रकोपको पूर्वानुमान, अनुकूलन उपचार पद्धतिहरू समेत हुन सकेको छैन। 

त्यसो त महामारी देखाउने औलो, डेङ्गु, इन्सेफलाइटिसलगायतका कीटजन्य रोगहरू लामखुट्टेको टोकाइबाट मात्र सर्दछ। यस्ता रोग फैलिन तथा परजीवीको विकास र जीवनचक्र पूरा हुन लामखुट्टे र मानिस नभई हुँदैन। रोकथामका उपाय भन्नासाथ लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नुपर्दछ। जीवनचक्र पूरा हुन नदिन लामखुट्टेको टोकाइबाट मानिस पनि जोगिने गर्नु पर्दछ। कुनै पनि किसिमको पानी जम्ने ठाउँ पुर्ने, सुकाउने गर्नुपर्दछ। गर्मीयाममा विशेषगरी तराई र गर्मी ठाउँमा लामखुट्टेको टोकाइबाट बच्न हम्मेहम्मे पर्दछ। टोकाइले एलर्जी त बनाउँछ नै कैयौँ रोगसमेत हुन सक्छ। बच्नका लागि प्रयोग गरिने मच्छडधूप पनि हानिकारक सिद्ध भइसकेको छ।

लामखुट्टेको टोकाइबाट बच्न घरको झ्यालढोकामा मसिनो जालीको प्रयोग गर्ने, सुत्दा कीटनाशक झुलको प्रयोग गर्ने, पङ्खा, एयर कुलर, एयर कन्डिसन प्रयोग गर्ने गर्नुपर्छ। जाली र झुलको व्यवस्था हुन नसक्ने ठाउँमा लामखुट्टे भगाउने धूप, झोलको प्रयोग गर्ने, घर बाहिर जाँदा शरीरको खुला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने वा तोरीको तेल, निमको तेल वा लामखुट्टे रिपेलेन्ट दलेर बस्ने र सुत्ने र प्रभावित क्षेत्रमा जाँदा वा बस्दा पूरै शरीर ढाकिने गरी पूरा लामो बाहुला भएको सेतो हलुका रङको कमिज र पाइन्ट लगाउनु पर्दछ।

लामखुट्टेको नाश गर्न आआफ्नो घर गोठमा कीटनाशक औषधि छर्कन लगाउने, औषधि छर्केको ३–६ महिनासम्म लामखुट्टे मर्ने भएकोले कीटनाशक छर्केको भित्तामा कम्तीमा तीन महिनासम्म लिपपोत गर्नहुँदैन। 

कीटनाशकयुक्त झुलको प्रयोग गर्ने, पानी सोस्ने रुखहरू जामुन, सिमल, मसला रोप्ने तथा घर वरिपरि, सडक वारिपारिका खाल्डाखुल्डी पुर्ने, पोखरी, इनार र कुलोको वरिपरिको घाँसपात सफा गर्नुपर्दछ। लामखुट्टेको बच्चा विनाश गर्न विशेषगरी जमेको पानीमा फुल पार्ने र प्रजनन गर्ने भएकोले त्यस्ता खाल्डा तुरुन्त पुरिदिएमा वा सात दिनभित्र सुकाउने, जमेको पानीलाई बगाइदिने गर्दा फुल मर्दछन्। 

जनचेतनामा अभिवृद्धि 

रोगलाई प्राविधिक, आर्थिक, सामाजिक र राजनीतिक रूपमा सम्बोधन गरिनु पर्दछ। रोगका बारेमा आमजनसमुदाय तथा सरोकारवालालाई उक्त रोगको विविध पक्षबारे जानकारी दिनुपर्छ। सङ्क्रमित व्यक्तिको रगत अन्य व्यक्तिमा प्रत्यारोपण गर्नुहुँदैन। सञ्चारमाध्यम तथा स्थानीयस्तरका स्वास्थ्यकर्मीद्वारा रोगसम्बन्धी जनचेतना फैलाउन जरुरी छ। रोगको शङ्का लागे जतिसक्दो चाँडो चिकित्सकलाई देखाउनु पर्दछ। डेङ्गु सार्ने प्रमुख कारण सङ्क्रमित लामखुट्टेको टोकाइ भएकोले, त्यसबाट जोगिनु र लामखुट्टेको निर्मूल गर्र्नु नै यसको रोकथाम हो।