काठमाडौँ, असोज ४ गते । केही दिनअघि थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित जाँचमा आउने गर्भवती महिलाको कार्डमा डाक्टरले लेखिदिए ‘म चिकित्सकको सल्लाहविपरीत घर जाँदैछु । केही भइपरि आएमा आफैँ जिम्मेवारी हुनेछु ।’ त्यसमा बिरामीलाई सही गर्न लगाइयो ।
ललितपुर टीकाथली बस्ने गर्भवती नियमित परीक्षणका लागि अस्पताल जाँदा उहाँको स्वास्थ्यमा जटिलता आएपछि चिकित्सकले तत्काल अस्पताल भर्ना हुनुपर्ने सुझाव दिएका थिए तर ती महिलाले आफू एक्लै आएको हुनाले अस्पताल भर्ना हुन नमानेपछि चिकित्सकले केही भइहाले बिरामी आफैँ जिम्मेवारी हुने गरी हस्ताक्षर गरी घर पठाइदिएका हुन् ।
चार/पाँच दिनअघि कान्तिबाल अस्पतालमा पनि अर्कै घटना भयो । निमोनिया भएपछि पर्साबाट कान्ति अस्पताल रिफर भएका बिरामी केही दिन उपचार गरेपछि बिरामीका आफन्तले बिरामीलाई भगाएर लगे । धेरै दिन भएपछि बिरामी मात्र होइन, कुरुवासमेत बिरामी हुने अवस्था आएको र बिल धेरै उठेको भन्दै उनीहरू भागेका थिए ।
कान्तिमै उपचार गर्न कैलालीबाट आएका बिरामीको उपचार हुँदै थियो । चिकित्सकले बिरामी ठीक हुन पनि सक्छ नहुन पनि सक्छ भनेपछि बिरामीका आफन्तले डिस्चार्ज मागेर बिरामी घर लगे ।
१५ दिनअघि रामेछापबाट त्रिवि शिक्षण अस्पतालमा रिफर भएका एक बिरामीलाई सुरुमा बेड पाउन मुस्किल प¥यो । बल्लबल्ल बेड पाएपछि चिकित्सकले उपचार गरे । चिकित्सकले ब्रेन हेमरेज भएका ७० वर्षको वृद्धकाे शल्यक्रिया गर्दा झनै जटिल हुनसक्ने बताएपछि आफन्तले थप उपचार नगरी बिरामी मरे पनि बाँचे पनि घर लैजाने भन्दै डिस्चार्ज मागेर घर लगे । ती बिरामीलाई शल्यक्रिया नभए पनि औषधिमार्फत थप उपचार गर्न सकिने चिकित्सकले बताएका थिए ।
बिरामीका छोरा शैलेश क्षेत्रीले चिकित्सकले बुबाको एमआरआईलगायतको अन्य रिपोर्ट हेरेपछि शल्यक्रिया नगर्न सुझाव दिएको बताउनुभयो । अस्पताल बसेको १५ दिनभन्दा बढी भइसकेको र शल्यक्रिया गर्न नमिल्ने भनेपछि जस्तो भए पनि घरमै लैजाने भन्ने परिवारको सल्लाह भएको उहाँको भनाइ छ । उहाँले घरमा चिकित्सकले दिएअनुसारको औषधि सेवन गरेर राखिएको भन्दै अस्पताल बस्दा बिरामीलाई मात्र नभएर कुरुवालाई समस्या हुने गरेको दाबी गर्नुभयो ।
यी घटना उदाहरण मात्र हुन् । महँगो उपचार र उचित परामर्शको अभावमा उपचार नै नगरी अस्पतालबाट भाग्ने घटना बढ्दो छ । काठमाडौँ उपत्यकाका परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, कान्तिबाल अस्पतालमा बिरामी भाग्ने तथा भर्ना हुन नमान्ने गरेका छन् ।
कोही आर्थिक अभावले अस्पताल बस्न मान्दैनन् भने केही बिरामी एक्लै आएको भन्दै भर्ना हुन मान्दैनन् । त्यसरी नमान्ने केहीले घरमा सासू–सुसुराले अस्पताल बस्न नदिने, केहीले रोग पत्ता लागेपछि खर्च बढी लाग्छ भन्दै घर जाने गरेका छन् ।
थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोेग अस्पतालमा हप्तामा तीन÷चार जना बिरामी भर्ना गर्नै मान्दैनन् । परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालका उपनिर्देशक डा. सन्देश पौडेलले बिरामी भर्ना हुन नमान्नु अस्पतालको विषय नभई बिरामीतर्फको विषय भएको बताउनुहुन्छ । चिकित्सकले भर्ना गर्नुपर्छ, भोलिका दिनमा अवस्था जटिल आउन सक्छ भनेर ‘काउन्सिलिङ’ गर्ने हो तर जबरजस्ती गर्न नमिल्ने उहाँको तर्क छ ।
त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेका अनुसार कुनै बिरामी महिनौ दिनसम्म अस्पताल बसेपछि पैसा धेरै लाग्छ भनेर राति भाग्छन् । उहाँले बिरामी धेरै आउने अस्पतालमा कुनै बिरामी भर्ना हुन नमान्नु तथा भर्ना भएर भाग्नु सामान्य रहेको बताउनुभयो । डा. काफ्लेले दुर्गम जिल्लाबाट रिफर भएर आएका बिरामी भर्ना हुन नमान्ने गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार उपचारको क्रममा कुनै बिरामीलाई केही रोग लागेको पत्ता लाग्यो भने मलाई यस्तो रोग लाग्नै सक्दैन भन्दै बिरामी घर जाने गरेका छन् । कतिपय बिरामी भने घरमा छोराछोरी एक्लै छन्, भैँसी, बाख्रा चराउने कोही छैनन् । अस्पतालमा धेरै दिन बस्न सकिन्न भनेर जाने गरेका छन् । उहाँले बिरामी भर्ना हुन नमान्दा त्यसबाट हुने असर बिरामीले बेहोर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यताअनुसार त्यसको जिम्मेवार आफैँ हुनुपर्ने भन्दै हस्ताक्षर गराउने गरिएको बताउनुभयो ।
यस्तै कान्तिबाल अस्पतालका निर्देशक डा. युवा बसौलाले कान्तिमा मात्र नभई आफू भरतपुर अस्पतालमा रहँदा पनि यस्तै समस्या हुने गरेको बताउनुभयो । डा. बसौलाले थप्नुभयो, “कुनै बिरामी मलाई रोग लागेकै छैन भन्दै हिँड्छन् ।” उहाँले कतिपय बिरामी भने पैसा नभएर भाग्ने गरेको बताउनुभयो । बिरामीलाई अस्पतालले खाना खुवाउँछ तर कुरुवासँग पैसा नहुँदा बिरामी भाग्ने गरेको उहाँको भनाइ छ ।
यता पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले पाटनमा पनि महिनामा तीन÷चार जना बिरामी भर्ना हुन नमान्ने गरेको बताउनुभयो । गरिब मात्र नभई धनी परिवारका बिरामी पनि भाग्ने गरेको भन्दै उहाँले क्यान्सर रोग लागेको छ भने पनि ‘ह्या ! डाक्टर मलाई यो रोग लागेकै छैन’ भन्दै अस्पतालमा उपचार गराउन नमान्ने गरेको बताउनुभयो ।