• ११ असोज २०८१, शुक्रबार

तमोर करिडोरमा सवारी चल्दा स्थानीयलाई सहज

blog

कबिराज घिमिरे

हिले, असोज ३ गते । केही बर्ष अघिसम्म तमोर नदी आसपासका बासिन्दालाई यातायात सुबिधा लिन मुस्कील थियो । यातायात चढ्नै पर्ने अबस्था आएमा घण्टौ लगाएर मेची तथा कोशी राजमार्ग पुग्नुपर्थो । यी क्षेत्रका बासिन्दा दैनिक उपभोग्यलगायतका सामग्री घण्टौ बोकेर जोहो गर्नेगरेका थिए । अहिले तमोर करिडोर सडकमा सवारी साधन सञ्चालनमा आएपछि स्थानीयलाई सहज भएको छ । 

तराईबाट पूर्वी पहाड हुँदै चीनसम्म जोड्ने छोटो मार्गको रुपमा रहेको तमोर करिडोरमा यातायातका साधन सञ्चालनमा आउन थालेपछि स्थानीय उत्साहित बनेका छन् । तमोर करिडोर सडकको ट्रयाक निर्माण भएपछि पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका नदी किनारका बासिन्दालाई सहज भएको छ ।

पूर्वी पहाडका जिल्लालाई तराईका बजार जोड्ने सबैभन्दा छोटो मार्ग रहेको सो सडकमा यातायातका साधन सञ्चालनमा आएसँगै दैनिक उपभोग्य सामान गाउँसम्म पु¥याउन तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादन वजार पु¥याउन निकै सहज भएको स्थानीयको भनाइ छ । 

करिब एक दशक यता यो क्षेत्रमा यातायात सञ्चालन हुन थालेको हो । यातायात चल्न थालेपछि हिडेर अन्यत्र जानुपर्ने तथा बोकेरै दैनिक उपभोग्यलगायतका सामग्री ओसार्नु पर्ने बाध्यताको अन्त्य भएको स्थानीयको भनाइ छ । दैनिक उपभोग्य सामग्री बजारबाट ल्याउन तथा गाउँमा उत्पादन भएको कृषिउपज बजारसम्म लग्न सहज भएको धनकुटा चौबिसे गाउँपालिका ४ कुरुलेका गोबिन्द भण्डारीले बताउनुभयो ।

एकताका तमोर नदी किनारको बाटौ हुँदै पहाडी तथा हिमाली क्षेत्रका बासिन्दा तराईसँग आहोरदोहोर गर्थे । धनकुटा, तेह्रथुम, पाँचथर र ताप्लेजुङका नदी किनारका बासिन्दा यो गोरेटो प्रयोग गर्थे । यात्रा गर्दा एक दिनमा गन्तब्यमा नपुगिने भएकाले बिभिन्न स्थानमा बास बस्नुपर्ने बाध्यता थियो । 

धनकुटा बोधेका सहरमान लिम्बुले भन्नुभयो, “पुस्तौंपुस्ताले निकै सास्ती पायौं । अहिले सडक बनेपछि सहज भयो ।” धनकुटादेखि ताप्लेजुङसम्म सिधा सडकले जोड्ने योजनाका साथ २०६५ सालमा संविधानसभा सदस्य हेमराज भण्डारीले सांसद विकास कोषको रकमबाट तमोर करिडोरको काम सुरु भएको थियो । अहिले तमोर करिडोर राष्ट्रिय गौरवको आयोजनामा समावेश छ ।