• ९ मंसिर २०८१, आइतबार

सरकारले जबरालाई सफाइ दिएको अध्यक्ष ओलीको दावी

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, असोज २ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोगमा सफाइ दिएको टिप्पणी गर्नुभएको छ । ओली निवास बालकोटमा आइतबार बसेको एमाले सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले त्यस्तो टिप्पणी गर्नुभयो ।

महाअभियोग प्रस्ताब पारित नभई संसदको कार्यकाल सकिएकाले प्रधानन्यायाधीशले सफाई पाएको उहाँको भनाइ छ । सत्तापक्ष आफूले खनेको खाल्डोमा आफै परेको अध्यक्ष ओलीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो संसदको कार्यकाल नै सिद्धियो । महाअभियोगको प्रस्ताव पारित भएन । भनेपछि कुरा सिद्धियो, त्यसमा सत्तापक्षले सफाइ दियो ।” 

संसदीय प्रक्रियाको निश्चित अवधि हुने भन्दै अध्यक्ष ओलीले थप्नुभयो, “सेना, प्रहरी हातमा लिएर मानिसको घर घेर्न र नजरबन्दमा राख्न पाइँदैन ।” हरेक चिजको कार्यकाल हुन्छ । अवधि हुन्छ । उहाँले भन्नुभयो । सत्तामा पुगेर सेना, प्रहरी हातमा लिएर जे पनि गर्न नपाइने उहाँको भनाइ छ । 

सरकारले गलत काम गरिरहेकाले त्यसको विरोध गरिने उहाँले बताउनुभयो । लोकतान्त्रिक मूल्य मान्यता र शक्ति पृथकीकरणको सिद्धान्तअनुसार शासन सत्ता चल्नुपर्ने उहाँले बताउनुभयो ।