• १३ साउन २०८१, आइतबार

लागु औषधको हब बन्दै कोहलपुर

blog

कोहलपुरमा लागु औषधसहित पक्राउ परेका ब्यक्तिहरु । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा

बाँके, असोज २ गते । नेपालगन्जपछि पछिल्लो समय कोहलपुर क्षेत्रमा लागु औषध कारोबारमा वृद्धि भएको देखिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरले लागु औषधको कारोबार र ओसारपसार तथा सेवनमा संलग्नलाई पक्राउ गरिरहेको छ । प्रहरीको पछिल्लो तथ्याङ्कले नेपालगन्जसँगै कोहलपुरमा समेत लागु औषध कारोबारमा वृद्धि भएको देखाएको छ । 

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लका अनुसार शनिबार बिहान २६ ग्राम ४०० मिलिग्राम ब्राउनसुगरसहित एक दम्पती र ३ जना पक्राउ परेका छन् ।  

कोहलपुर नगरपालिका १२ का यशोदा कार्कीको घरमा लागु औषधको कारोबार भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले यशोदासहित उनका श्रीमान् रुद्रबहादुर कार्की र मनोज गिरीलाई लागूपदार्थसहित पक्राउ गरेको छ । 

“उनीहरूको साथबाट नेपाली र भारतीय गरी ५ लाख ७३ हजार ८१० रुपियाँ र डिजिटल तौल मेसिन समेत बरामद गरिएको छ” प्रहरी नायब उपरीक्षक मल्लले भन्नुभयो, “लागु औषधको कारोबारमा संलग्न एउटा समूह नियन्त्रणमा लिन सफल भएका छौँ ।” 

इलाका प्रहरी कार्यालय कोहलपुरले गत चैतयता २४ वटा घटनामा लागु औषधसहित विभिन्न व्यक्तिलाई पक्राउ गरेको छ । लागु औषध ब्राउनसुगरमा ३ महिलासहित २० जना व्यक्तिहरू १३६ ग्राम ९६१ मिलिग्राम लागु औषधसहित पक्राउ परेका छन् । ३ किलो ८०० ग्राम अफिमसहित २ जना, ३९ ट्याब्लेट टाइट्राभ्याट सहित १ जना र ३ किलो ७९५ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।  

प्रहरी स्रोतका अनुसार, छिमेकीमुलुक भारतबाट लागु औषध ब्राउनसुगर नेपालगन्ज भित्र्याएर राजधानी काठमाडौँलगायत विभिन्न सहरमा ओसारपसार गर्ने कार्य भइरहेको छ । प्रहरीले सुरक्षा कारबाहीसँगै सचेतनामूलक अभियानमा समेत जोड दिदैआएको छ ।