• ९ मंसिर २०८१, आइतबार

थारू समुदायमा शुद्ध जितिया मनाइँदै

blog

गाईघाट समाचारदाता

गाईघाट, असोज २ गते । आदिवासी थारू तथा तराई मूलका महिलाहरूले यस वर्ष पनि शुद्ध अर्थात् राम्रो जितिया मनाइरहेका छन्। उदयपुरलगायत तराईका गाउँघरमा बसोबास गर्दै आएका थारू महिलाहरूले शनिबारबाट शुद्ध जितिया मनाउने अवसर पाएका हुन्। 

शुद्ध मिल्नु अर्थात् शनिबार बिहानै जलाशयमा गएर स्नान गरी पूजा गर्ने र साँझमा दरलगायतका मीठो परिकारहरू खानपान गर्ने, आइतबार उपवास बस्ने र सोमबार फेरि नुहाएर पूजा विसर्जन गर्नका लागि अघिल्लो वर्ष जस्तै यो वर्ष पनि यस्तो बार र तिथिको संयोग मिलेकोले यसैलाई शुद्ध जितिया भनिएको थारू पण्डित वासुदेव चौधरीले बताउनुभयो। 

चौधरीका अनुसार जबसम्म शनिबारबाट जितिया पर्व सुरु गर्नेगरी घडी, पला, बार र तिथि मिल्दैन तबसम्म जीवनमा पहिलो पटक व्रतको सुरुवात गर्न पनि नमिल्ने भएकोले यस वर्ष पनि यो सबै कुरा मिलेको हुँदा नयाँ विवाहिता महिलाहरूले समेत जितिया प्रारम्भ गर्न मिल्छ। यसरी शनिबार प्रारम्भ र सोमबार विसर्जन गर्ने गरी बार र तिथि नमिलेसम्म कुनै पनि विवाहित नारीले पहिलो व्रत बस्न मिल्दैन। 

उहाँका अनुसार हिन्दु नारीले तीज मनाएजस्तै थारू महिलाले पनि प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म परिवारको सुख, शान्ति र दीर्घायुको कामनासहित आपसी प्रेम साटासाट गरी आफ्नो सन्तानको दीर्घायु, सुख समृद्धि र मनोकामना पूर्ण गराउन व्रत बसेर धार्मिक विधिअनुसार पूजाअर्चना गरी जितिया पर्व मनाउने गरिन्छ।

विशेषतः विवाह गरी माइत घर छोडेर आफ्नो श्रीमान्को घर गएका नव विवाहित र विवाहित महिलालाई माइती घरमा बोलाई लामो समयको भेटघाट, दुःख, सुखको भलाकुसारी गर्ने दिनका रूपमा पनि थारू समुदायमा यस पर्वलाई लिइन्छ। यसअनुसार शनिबार थारू समुदायमा विवाहित चेलीलाई माइतमा ल्याएर भव्य रूपमा दर खुवाइयो।

‘जितिया पावैन बड भारी, धियापुता केँ ठोकि सुताई अपने खाइ भैर थारी’ थारू भाषाको यो कथन मिथिलाञ्चलमा निकै लोकप्रिय रहेको थारू पण्डित वासुदेव चौधरी बताउनुहुन्छ। यसको अर्थ जितिया पर्व गर्न एकदमै गाह्रो छ। आश्विन कृष्ण अष्टमी तिथिमा स्थानीय जलाशयमा गएर स्नान गरी घिरौँलाको पातमा पिना, तेल, सिन्दूूर चढाएर कुशको मूर्ति बनाएर जिमुतवाहनको पूजा गरेर व्रतको सुरुवात गरिन्छ। यस पर्वमा व्रतालु महिलाले अनिवार्य रूपमा माछा तथा कोदोको रोटी खाने चलन छ।

व्रत बसेका कुनै पनि महिलाले डकारेमा, खकारेमा र जिब्रो टोकेमा व्रत असफल भएको मानिने र त्यसलाई खड् जितिया भनिन्छ। एक पटक असफल भएकी महिलाले आजीवन व्रत बस्न नपाउने चलन रहँदै आएको पण्डित वासुदेव चौधरीले बताउनुभयो।