• ३१ जेठ २०८२, शनिबार

प्रसिद्ध छत्रेश्वरी शक्तिपीठ पुग्न पदमार्ग निर्माण

blog

प्रसिद्ध छत्रेश्वरी सतिपीठसम्म पुग्नका लागि ढुङ्गा बिछ्याएर निर्माण गरिएको पर्यटकीय पदमार्ग । तस्बिरः शङ्कर केसी

शङ्कर केसी,
सल्यान, जेठ ३० गते ।
बलि नचढ्ने एकमात्र शक्तिपीठ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सल्यानको छत्रेश्वरी शक्तिपीठ पुग्नका लागि पदमार्ग निर्माण भएको छ । पदमार्ग निर्माणसँगै प्राकृतिक सौन्दर्य अवलोकन गर्दै छत्रेश्वरी मन्दिरसम्म पुग्न सकिने भएको हो ।

छत्रेश्वरी गाउँपालिकाको पहलमा सङ्घीय सरकारको पर्यटन विभागमार्फत ठेक्का प्रक्रियाबाट पर्यटकीय पदमार्ग निर्माण भएको हो । “राप्ती लोकमार्गस्थित शङ्खमूलबाट छत्रेश्वरी मन्दिरसम्म गाडीमा पुग्नका लागि सडकको सुविधा छ”, छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले भन्नुभयो, “भक्तजन तथा पर्यटकहरुलाई थप सहजताका लागि पालिकाको योजना अनुसार बजेट व्यवस्थापन भएर पदमार्गलगायतका संरचना बनेका हुन् ।”

दुईवटा प्रतीक्षालय, एउटा आधुनिक र अपाङ्गतामैत्री शौचालय, ठाउँठाउँमा यात्रु बिसौनीहरु तथा मन्दिरदेखि शङ्खमूलसम्म १३६० मिटर र छायाँढुङ्गातर्फ दुई सय मिटर ढुङ्गा बिछ्याएर रेलिङसहितको पदमार्ग निर्माण भएको गाउँपालिकाले जनाएको छ । निर्माण कम्पनी रामेछाप सानु दामोदर जे.भी. गोकर्णेश्वर, ६ जोरपाटीका अनुसार जाजरकोट, दैलेख र प्युठानबाट ढुङ्गा ल्याएर पदमार्गकाे सिँढी बनाइएको हो ।

छत्रेश्वरी शक्तिपीठमा अझै अन्य पूर्वाधार विकासका लागि पर्यटन विभागसँग समन्वय भइरहेको गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । जिल्लामै धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेको छत्रेश्वरीका अन्य क्षेत्रको विकासका लागि समेत योजनाबद्ध रुपमा काम भइरहेको तथा प्रचारप्रसारको पाटोलाई पनि ध्यान दिइएको उहाँको भनाइ छ ।

सत्ययुगको ऐतिहासिक सन्दर्भसँग जोडिएको छत्रेश्वरी मन्दिर सतीदेवीको शक्तिपीठको रूपमा चिनिन्छ । जनविश्वास अनुसार भगवान शिवले सतीदेवीको मृत शरीर बोकी विश्व यात्रा गर्नेक्रममा यसै स्थानमा सतीदेवीको शरीरको शेष अङ्ग खसेको थियो । यही ऐतिहासिक मान्यता अनुसार यो स्थान शक्तिपीठको रूपमा पूजनीय रहँदै आएको छ । हरेक वर्ष महाशिवरात्री तथा अन्य चाडपर्वमा हजारौं श्रद्धालु यो मन्दिरमा दर्शनका लागि आउने गर्दछन् ।

पदमार्ग निर्माणपछि धार्मिक पर्यटकसँगै आन्तरिक तथा बाह्य पर्यटकका लागि यो गन्तव्य अझ आकर्षक र पहुँचयोग्य बन्ने गाउँपालिकाको विश्वास छ । गत साउन १६ गते शिलान्यास भएर सुरु भएको पदमार्गको काम सम्झौता अवधि अगावै सम्पन्न भएको भन्दै छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक बुद्धकुमारी खत्रीले प्राविधिक पक्षका बारे आफूहरुलाई थाहा नभए पनि बाहिरी नजरबाट हेर्दा राम्रो काम भएको बताउनुभयो ।

पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार यादवका अनुसार तीन करोड ११ लाख रूपियाँ बराबरको काम हुने छत्रेश्वरीको पदमार्ग निर्माणका लागि रामेछाप सानु दामोदर जेभीले दुई करोड ६४ लाख रुपियाँमा २०८२ भदौसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । 

धार्मिक पर्यटनका लागि एक सुन्दर गन्तव्य स्थल बनेको छत्रेश्वरी मन्दिर सदरमुकाम सल्यान खलङ्गादेखि पूर्वतिर २३ किलोमिटर र राप्ती राजमार्गको नजिकै शङ्खमूलबाट ४ किलोमिटरको दूरीमाथि थुम्कोमा अवस्थित छ ।

छत्रेश्वरी सतिपीठसँगै जोडिएको शङ्खपार्क पनि भक्तजन एवम् पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । श्रीस्वस्थानी व्रतकथामा सल्यानको शङ्खमूलको वर्णन गरेको पाइन्छ ।

सल्यान जिल्लासँंगै छिमेकी जिल्ला रूकुम, रोल्पा, दाङलगायतका तीर्थालुहरूका लागि यो एक धार्मिक गन्तव्य बनेको छ । यहाँ कर्णाली प्रदेशको राजधानी र दाङदेखि सिधा सवारी साधानमार्फत पुग्न सकिन्छ । यही मन्दिरको नामबाट गाउँपालिकाको नाम राखिएको छ ।