• ३० जेठ २०८२, शुक्रबार

मैवाखोलाको आगामी आवको नीति कार्यक्रम पारित

blog

मैवाखोला गाउँपालिकाको गाउँसभामार्फत आगामी आवको नीति कार्यक्रम पारित ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २९ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि नीति कार्यक्रम पारित गरेको छ । गएको मङ्गलबार सुरु भएको १७ औं गाउँसभा तथा बजेट अधिवेशनमा प्रस्तुत भएको नीति कार्यक्रम पारित गरिएको हो ।

गाउँसभा तथा बजेट अधिवेशनमा गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले आगामी आवका लागि १४ पृष्ठको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष वनेमले प्रस्तुत गर्नुभएको नीति कार्यक्रम बिहीबारको बैठकमार्फत पारित गरिएको हो । गाउँसभामा प्रस्तुत भएको नीति कार्यक्रम बुधबार र बिहीबार दुई दिनको छलफलपछि पारित गरिएको गाउँपालिकाका प्रवक्ता चन्द्रकुमार तामाङले जानकारी दिनुभयो । 

मैवाखोला गाउँपालिकाले अर्गानिक कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै आगामी आवका लागि नीति कार्यक्रम ल्याएको छ । यस्तै गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, सभ्य, अनुशासित, प्रतिस्पर्धी, श्रम र उत्पादनप्रति सकारात्मक, वैज्ञानिक सोच बोकेका नैतिकवान नवप्रवर्तनशील, रचनात्मक, सिर्जनशीलसहित सक्षम जनशक्तिको विकास गर्नेगरी शिक्षा नीति अवलम्बन गरी गाउँपालिकाले कार्यान्वयन गर्ने भएको छ । 

विद्यालयस्तरबाट प्रतिभाशाली खेलाडी उत्पादन गर्ने, नागरिकलाई आधारभूत र गुणस्तरीय स्वास्थ्यमा समतामुलक पहुँचको सुनिश्चित गर्नेगरी स्वास्थ्य तथा जनसङ्सख्यासम्बन्धी नीति लागू गर्ने भएको छ । त्यस्तै लैङ्गिक विभेदलाई न्युनीकरण गर्न गाउँपालिकाभित्रका महिला तथा आमा समूहलाई आवश्यक तालिम प्रदान गर्नेजस्ता नीति कार्यक्रम गाउँपालिकाले ल्याएको छ । बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्ने कार्यक्रम कार्यान्वयन गर्र्नेगरी बालबालिकासम्बन्धी नीति अवलम्बन गर्ने भएको छ । 

गाउँपालिकाले ‘हाम्रो उत्पादन, हाम्रो डाक्टर’ अभियानअन्तर्गत पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने र उत्पादित डाक्टरमार्फत पालिकामा कम्तिमा पाँच वर्ष सेवा गर्ने प्रवन्ध गरिने भएको छ । पालिकाभित्रै स्वरोजगारको व्यवस्थाका लागि अध्यक्ष रोजगार कार्यक्रम सञ्चालन गर्ने नीति पारित गरिएको छ । यसैगरी खानेपानी तथा सरसफाइसम्बन्धी नीति, कला, भाषा, साहित्य र सम्पदासम्बन्धी नीति, पूर्वाधार विकास, आर्थिक विकास, कृषि तथा सहकारी नीति, सिँचाइ, पशुपन्छी विकास लगायतका नीति गाउँपालिकाले कार्यान्वयन गर्ने भएको छ ।

गाउँसभा तथा बजेट अधिवेशनमार्फत प्रस्तुत नीति कार्यक्रममाथि गाउँपालिका अध्यक्ष वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू, कार्यपालिका सदस्य तथा वडाध्यक्षहरु, अन्य सदस्यसहितको सहभागितामा व्यापक छलफलबाट नीति कार्यक्रम पारित गरिएको सभा–सचिव एवम् निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो । 

गोम्देनका अनुसार गाउँपालिका अध्यक्ष वनेमले पेश गर्नुभएको नीति कार्यक्रम सर्र्वसम्मत रुपमा पारित भएको हो । यता ताप्लेजुङका नौ स्थानीय तहमध्ये मैवाखोला गाउँपालिका आगामी आवको नीति कार्यक्रम सभामा प्रस्तुत गरी पारित गर्नेमा पहिलो भएको छ ।