• ११ असोज २०८१, शुक्रबार

सुधारका लागि बाइस विद्यालय छनोट

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, असोज २ गते । ताप्लेजुङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि २२ वटा विद्यालय छनोट भएका छन्। शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पक्की भवन निर्माणसहितका योजना सञ्चालनका लागि ती विद्यालय छनोट भएका हुन्। 

कार्यक्रमका लागि सबैभन्दा बढी सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाका पाँचवटा विद्यालय छनोट भएका छन्। छनोट भएकामध्ये वीरेन्द्र माध्यमिक विद्यालय र दुर्गमक्षेत्र आधारभूत विद्यालयमा चारकोठे भवनको योजना परेको छ। फुङ्लिङ नगरपालिकाकै मेवाराजा आधारभूत विद्यालय र शिव आधारभूत विद्यालयलाई दुईकोठे भवन तथा सिद्धकाली माध्यमिक विद्यालयमा आईसीटी स्थापनाका लागि छ लाख ५० हजार रुपियाँको योजना परेको छ। 

यस्तै मैवाखोला गाउँपालिकाका पाटीडाँडा माध्यमिक विद्यालयलाई दुई र मैवाखोला माध्यमिक विद्यालयलाई चारकोठे भवनको योजना परेको छ। सिदिङ्वा गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय र सिंहदेवी आधारभूत विद्यालय साब्लाखुलाई चारकोठे र दुईकोठे भवनको योजना विनियोजन भएको छ। जलेश्वरी आधारभूत विद्यालयलाई दुईकोठे भवन र नीलगिरि माध्यमिक विद्यालयमा आईसीटी ल्याबको योजना विनियोजन भएको छ।

आठराई त्रिवेणी गाउँपालिकाको आम्बोटे आधारभूत विद्यालयलाई चारकोठे भवन, जनकल्याण आधारभूत विद्यालयलाई दुईकोठे भवन, सरस्वती आधारभूत विद्यालय र सिरिजङ्घा आधारभूत विद्यालय आईसीटी स्थापनाका लागि छनोट भएको छ। मेरिङ्देन गाउँपालिकाको पृथ्वी माध्यमिक विद्यालय चारकोठ भवन, राजारानी आधारभूत र जनज्योति आधारभूत विद्यालयमा दुईकोठे भवन परेको छ। सुर्के माध्यमिक विद्यालय आईसीटीका लागि कार्यक्रममा समावेश भएको छ।

मिक्वाखोला गाउँपालिकाको पञ्चेधरी माध्यमिक विद्यालयलाई चारकोठे र दुईकोठे भवनका लागि राजेश्वरी आधारभूत विद्यालय र किलिङ आधारभूत विद्यालय छनोट भएका छन्। जिल्लाको नौ स्थानीय तहमध्ये सिरिजङ्घा गाउँपालिका, पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकाका कुनै पनि विद्यालय छनोट भएनन्। राष्ट्रपति शौक्षिक सुधार कार्यक्रमअन्तर्गत भौतिक सुविधा विस्तारलगायतका योजनासहित विद्यालयहरूले स्थानीय तहमार्फत शिक्षा तथा मानव स्रोत केन्द्रमा प्रस्ताव पेस गरेका थिए।