• १३ साउन २०८१, आइतबार

लिम्पियाधुरासहितको पुस्तक तत्कालीन प्रमले रोके

blog

ढल्केबर समाचारदाता

ढल्केबर, असोज २ गते । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफू शिक्षामन्त्री हुँदा कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर तयार पारिएको पाठ्यक्रम तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेको दाबी गर्नुभएको छ। 

धनुषाको ढल्केबरमा शहीद गणेशबहादुर जर्घामगरको १९औँ स्मृति दिवस तथा स्वास्थ्यकर्मी रामकुमार महतोद्वारा लिखित संस्मरणात्मक पुस्तक सार्वजनिक गर्दै उहाँले शिक्षा मन्त्रालयले कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेटेर तयार पारेको पाठ्यक्रम तत्कालीन प्रधानमन्त्री ओलीले रोकेको दाबी गर्नुभएको हो। 

“अबको पच्चीस वर्षपछि नेपालमा कस्तो जनशक्ति चाहिन्छ भन्नेबारे एउटा प्रतिवेदन तयार पारिएको थियो। त्यो पनि तत्कालीन प्रधानमन्त्री ओलीले सार्वजनिक गर्न दिनुभएन,” पोखरेलले भन्नुभयो, “सार्वजनिक शिक्षा नीतिको कुरा ल्याउँदा उहाँसँग मेरो मतभेद भएको थियो।” उहाँले सामाजिक, आर्थिक रूपान्तरणको एजेन्डा पछाडि प-यो भनेर आफूहरूले नेकपा बनाएको बताउनुभयो। “त्यसै सन्दर्भमा जोडिएका अन्तर सङ्घर्षको एउटा दस्तावेज ल्याउन बित्तिकै प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुभयो,” उहाँले भन्नुभयो, “हामीले नेकपा फुटोस् भनेर चाहेका थिएनौँ, नेकपा जोगियोस् भनेर लडिराखेका थियौँ सर्वोच्चले पार्टी फुटाइदिने काम ग¥यो, हामी त्यसको विरुद्ध पनि सर्वोच्च गएका थियौँ।” 

उहाँले समाजवादी र माओवादी पार्टी एकताको विषय जोड्दै पार्टी एकता संयोजन समिति चाँडै बन्ने जानकारी दिनुभयो। दुवै पार्टीका नेता सम्मिलित एकता संयोजन समिति गठन प्रक्रिया अगाडि बढेको र चाँडै नै पार्टी एकता संयोजन समितिको घोषणा गरिने उहाँले बताउनुभयो। एकता संयोजन समितिले दुवै पार्टीबीच एकीकरण गरे पश्चात् अन्य कम्युनिस्ट पार्टीसँग पनि एकताका लागि पहल गरिने उहाँले जानकारी दिनुभयो।