काठमाडौं, असोज १ गते । काठमाडौँमा जारी साफ महिला फुटबलमा पहिलो पटक नयाँ प्रतिस्पर्धी फाइनलमा प्रवेश गरेका छन् । दशरथ रङ्गशालामा शुक्रबार नेपालले सदाबहार विजेता भारतलाई सेमिफाइनलमा १–० गोलको हार चखाएपछि साफ महिला फुटबलले नयाँ विजेता पाउने पक्का भएको छ ।
भारत यसअघिका पाँच वटै संस्करणको विजेता हो । सोमबार हुने फाइनल भिडन्तमा नेपालले बङ्गलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नतिजालाई इतिहासको दृष्टिले हेर्ने हो भने नेपाल बलियो देखिन्छ । तर, यसपटक बङ्गलादेश महिलाको प्रदर्शन तारिफ योग्य छ ।
अधिकांश औसत १८ देखि २० वर्षका खेलाडीको बाहुल्यता रहेको बंगलादेले दशरथ रङ्गशालामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । घरेलु मैदानमा नेपाली दर्शकको साथले नेपाली टोलीको मनोबल उच्च छ ।
फेरिएको बंगलदेशको अहिले बलियो अवस्थामा छ । इतिहास नेपालको पक्षमा भए पनि फाइनलमा बङ्गलादेश पन्छाउन नेपाललाई ठूलै चुनौती हुनेछ ।
नेपाली टोलीकी अनुभवी स्ट्राइकर सावित्री भण्डारीसहित केही खेलाडीलाई डेंगुको समस्या देखिएकोले नेपाललाई थप चुनौती छ । सावित्रीले अघिल्ला दुई खेल गुमाउनु भएको छ । फाइनलमा पनि सावित्रीको उपस्थिति अन्योल रहेको छ ।
यसअघि नेपाल र बंगलादेशबीच तीन पटक भिडन्त भएको छ । सबै भेटमा नेपालले सुखद नतिजा निकालेको छ । सन् २०१० को पहिलो संस्करणमा नेपालले बङ्गलादेशलाई ३–० गोलले हराएको थियो ।
त्यसपछि २०१४ मा नेपाल १–० गोलले विजयी भएको थियो । सन् २०१९ मा नेपालले बङ्गलादेशलाई ३–० गोलले पराजित गरेको थियो । सेमिफाइनलमा बङ्गलादेशले भुटानलाई ८–० गोलले पराजित गरेको थियो ।
बङ्गलादेश दोस्रो पटक साफ महिला फुटबलको फाइनलमा प्रवेश गरेको हो । नेपालले भने पाँचौँ पटक फाइनलमा स्थान बनाएको हो । सन् २०१६ को संस्करणमा सेमिफाइनलबाटै बाहिरिएको नेपाल अन्य संस्करणमा उपविजेता बन्दै आएको छ । यसपटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने नेपाली टोलीका प्रशिक्षक कुमार थापाले बताउनुभएको छ । भारतमाथि रोचक जित निकालेपछि थापाले नेपाली जनतालाई उपाधिसहित खुसी दिन चाहेको बताउनुभयो ।
इतिहास बिर्सने हो भने बङ्गलादेशले जारी प्रतियोगितामा बङ्गलादेशले अब्बल प्रदर्शन गरिरहेको छ । बङ्गलादेशले समूह चरणको पहिलो खेलमा मालदिभ्सलाई ३–०, दोस्रो खेलमा पाकिस्तानमाथि ६–० र तेस्रो खेलमा भारतलाई ३–० गोलले पराजित गरेको थियो ।
बङ्गलादेशले चार खेलमा २० गोल गरेको छ भने नेपालले तीन खेलमा ११ गोल गरेको छ । सधैँ फाइनलमा तगारो बनेको भारतलाई सेमिफाइनलमा पन्छाएको नेपाललाई घरमै उपाधि राख्न बंगलदेशलाई हराउन सक्नु ठूलै सफलता हुनेछ । यसअघि विराटनगरमा भएको साफको उपाधि नजिक पुगेर नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।