• १६ भदौ २०८१, आइतबार

सभ्य समाजका कुरूप चित्रण

blog

वि.सं. २०५७ मा पहिलो कथासङ्ग्रह ‘आस्था’ पछि दोस्रो कथाकृति ‘ग्याब्रियले’ लिएर आउनु भएको छ हरिश कल्पित । कल्पित कथासँगै कविता र नियात्रामा पनि कलम चलाउनु हुन्छ । उहाँको मूल लेखन भने कथा नै हो । साहित्यसँगै कला र मोडलिङमा पनि उहाँको रुचि देखिन्छ । 

कर्मथलो परदेश बनाएर नेपाली साहित्यमा निरन्तर लागि रहनुभएका कल्पित समाजका सूक्ष्म पात्र परिवेशलाई कथामा बुन्न खप्पिस हुनुहुन्छ । उहाँलाई लाग्छ, हरेक मान्छे कथाको पात्र हो । जीवनका हरेक उहापोहका साक्षी कथाकारलाई सूक्ष्मतम विषयले पनि छुन्छ । कोमल हृदय भएका कथाकार कल्पित, मान्छेसँगै कथाका पात्रलाई पनि कुनै अन्याय पर्न दिनु हुन्न भन्ने धारणा स्पष्ट रहेको देखिन्छ । कर्मभूमि जापानमा सँगै काम गर्ने साथीको पीडालाई कथामा दुरुस्तै उतार्नु ग्याब्रियलेको विषेशता हो । त्यो जापानी समाजको सपाट चित्र यो कथाले बोकेको छ । 

एउटा विदेशीले जापानी श्रीमती विवाह गर्दा देखिने त्यो चित्रले उनीहरूको समाजका विकृत अनुहार कल्पितले देखाउनु भएको छ । जापानी, अङ्ग्रेजी र अन्य भाषामा उल्था गरेर उहाँले यी कथाहरू संसारलाई पढाइ रहनु भएको छ । यसले पनि उहाँ एउटा निर्भीक कथाकारको रूपमा स्पष्ट देखिनुहुन्छ । जापानी समाजलाई पनि जानकारी नभएको एउटा दर्दनाक कथा कल्पितले लेख्नु भएको छ । सभ्य समाजभित्रका असभ्यतालाई उजागर गर्नुभएको छ । यी कथाहरूमा नेपाली तथा जापानी सहरीया समाजको सपाट चित्रण भएका छन् । त्यसैले उहाँका यी कथाहरू पठनीय छन् । 

उहाँका कथाहरूमा समाजका विभिन्न वर्गका उतारचढाव, प्रेम, विछोड, नारी भोगाइका कथा, नारी मनोदशाका सपाट चित्रण, कथित जनयुद्धले नेपाली समाजमा पारेको प्रभाव तथा मानव जीवनमा आइपर्ने अनेकन दुर्घटना कथाका विषयवस्तु रहेका छन् । वास्तवमा कथा कथा नै हुन्छ, कथाकारले जतिसुकै सत्यकुरा लेखे भने पनि काल्पनिकता बिना कथा अधुरै रहन्छ नै तर हाँस्ने र रुने भाषा संसारको एउटै हुँदोरहेछ । दुःख र सुखका पाटाहरू एउटै हुँदोरहेछ । एउटा कथाकारले बुनेको कथामा त्यो संसार अटाउन सक्ने क्षमता ग्याब्रियलेमा रहेको देखिन्छ । 

ग्याब्रियले भित्र १३ वटा कथा रहेका छन् । ‘ग्याब्रियले’, ‘केईको सेनसेई’ र ‘एडमको प्रेम’ यी तीनवटा कथा कल्पितको कर्मभूमिमा भेटिएका पात्रमाथि लेखिएका कथा हुन् र बाँकी १० वटा कथा नेपाली सन्दर्भमा नै लेखिएका हुन् । उहाँको कथाकारिताको खास विशेषता भनेको केही न केही सन्देश दिनु नै हो । साहित्यमार्फत समाजमा कुनै पनि सन्देश दिन सकिएन भने त्यो अक्षरहरूको डङ्गुर मात्र हुन्छ भन्ने सचेतना कथाकारले राम्ररी बुझ्नु भएको छ । धेरैमा भन्दा पनि गुणस्तरमा विश्वास गर्ने कल्पितले बीस वर्षको अवधिमा १३ वटा कथाहरू लेख्नुभयो । 

ती कथा ग्याब्रियलेमार्फत पढ्न सकिन्छ । उहाँका कथाका बुनोट हेर्दा केही कथा परम्परावादी देखिन्छन् तर पढ्दै जाँदा पुरातन परम्परालाई चिर्दै नयाँ खोजमा निस्केका योद्धाजस्तो लाग्छन् । एउटी विधवाले पनि विवाह गर्नु पाउनु पर्छ, त्यो पनि सम्मानका साथ । उहाँको कथाको यो महìवपूर्ण पाटो हो । कलाकारिता क्षेत्रका पनि व्यक्ति भएकोले उहाँका कथा पढ्दै जाँदा कता कता चलचित्र हेरिरहेको झैँ पनि लाग्छ । यो कथाकारको अर्को बलियो पक्ष हो । अरू कथाकारले नदेख्ने अत्यन्त सूक्ष्म परिदृश्यलाई कल्पितले देख्न सक्नु हुन्छ र कथामार्फत उजागर गर्नुभएको छ । यसको बलियो प्रमाण ग्याब्रियलेका कथा हुन् । 

‘प्रेम त आखिर प्रेम नै हो नि, जहाँ त्याग समर्पणको भाव हुन्छ । चाहे त्यो स्त्री–पुरुषको प्रेममा होस, चाहे पुरुष–पुरुषको प्रेममा होस्, आफ्नो रङ्ग त देखाइहाल्छ नि ।’ म नतमस्तक भएँ, एडमको प्रेमप्रतिको समर्पणलाई नमन गरेँ । ‘एडमको प्रेम’ समलिङ्गीहरूको प्रेमको बारेमा लेखिएको कथा हो । एडम कथाकारसँगै काम गर्ने साथी हुन्छ । उनको बारेमा सबै जानेपछि केही काल्पनिक घोल लगाएर तयार गरिएको यो कथा निकै रोेचक तथा सन्देशमूलक छ । अमेरिकी समाजले त सहजै स्वीकार गर्छ । तर जापानी तथा नेपाली समाजलाई अझै यस्तो सम्बन्ध पाच्य हुँदैन । त्यसैले यो कथामार्फत यस्तो सम्बन्धलाई सहज हुनुपर्ने सन्देश कथाले बोलेको छ । कथामा भएको यस्तो सन्देशले कथालाई पठनीय बनाएको छ । कथामा फ्यान्टासीको भरपुर प्रयोग भएको छ । भाषा, शैली सरल हुनुका साथै ग्याब्रियलेका कथा पढ्दा ती पात्र तथा परिवेशले धेरै समयसम्म पाठकलाई कौतूहल पैदा गराउन सक्ने सामथ्र्य राख्छन् । 

ग्याब्रियलेको अर्थ हुन्छ– ‘ईश्वर नै मेरो शक्ति हो’ । यो युरोपेली नाम हो । ग्याब्रियले शीर्षक कथाको प्रसङ्ग दुःखद नै छ । एउटा युरोपेली केटाले जापानी केटीसँग विवाह गरेको हुन्छ । तिनीहरूको छोरीको नाम हो ग्याब्रियले । युरोपेली केटो अर्थात् विदेशी बाबु आफ्नो छोरीको मायामा तड्पिरहन्छ । कथाले जापानी श्रीमती बिहे गर्नुभन्दा पहिले धेरै सोच्नु पर्ने देखिन्छ । 

जापानी समाज तथा जापानी कानुनको पनि ख्याल राख्नका लागि कथाले महìवपूर्ण सन्देश दिएको छ । अर्को कुरा जापानीहरू प्रायः पाहुनालाई घर लैजाँदैनन् । तर कथाकार यस मामलामा निकै भाग्मानी ठहरिनु भयो । उहाँको जापानी भाषा सिकाउने शिक्षिकाले उहाँलाई घरमा बोलाएको प्रसङ्गले एउटा कथा जन्मिएको छ । यो कथाको शीर्षक हो ‘केईको सेनसेई’ । यसमा जापानी समाजको भित्री कथा रोचकताका साथ प्रस्तुत गरिएको छ । 

नेपालको सहरीया समाजमा सासूले बुहारीलाई गर्ने व्यवहार, श्रीमान्ले श्रीमतीलाई गर्ने व्यवहार आदि प्रसङ्ग कथाका मेरुदण्ड हुन् । केही कथा पे्रमिल पनि छन् । मझौला आकारका एकै बसाइमा पढ्न सकिने ग्याब्रियलेका कथाहरू नेपाली कथा क्षेत्रमा एउटा बेग्लै स्वादसँग रम्न सकिने छ । कथाकारको आमा श्रीमती प्रेमकुमारी सुवेदी यस कृतिका प्रकाशक रहनुभएको छ ।