तनहुँ, असोज १ गते । तनहुँमा शुक्रवार राती भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
ऋषिङबाट भिमाद जाँदै गरेको ग ३ च २१२९ नम्बरको बलेरो गाडी शुक्रबार राती १०ः५० बजे भिमाद नगरपालिका–५ मिर्छुलुङ, मडुवा आफै अनियन्त्रित दुर्घटना हुँदा एकको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक युवराज सलामी मगरले जानकारी दिनुभयो ।
सडकबाट करिब २५ फिट तल खसेर दुर्घटना हुँदा स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका–५ बस्ने वर्ष ४२ को केशबहादुर थापाको घटनास्थलै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । सहचालक तनहुँको ऋषिङ गाउँपालिका –२ काँहुशिवपुर बस्ने वर्ष २६ को विकास परियार घाइते हुनु भएको छ ।
यसै गरी पृथ्वीराज मार्गमा पर्ने म्याग्दे गाउँपालिका–१ गुणादीमा दमौलीबाट पोखरा जाँदै गरेको ना ६ ख २७०७ नम्बरको सिमेन्ट बोकेको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । धादिङ जिल्ला घर भई हाल म्याग्दे गाउँपालिका गाउँपालिका–२ जामुने बस्ने चालक वर्ष ४० को अमिर खड्का, ट्रकमा सवार धादिङको सिद्ध लेख गाउँपालिका–२ नालाङ बस्ने ३७ को कृष्ण रम्तेल र ठेगाना नखुलेका वर्ष १६ को दिपेश लिम्बु घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो ।