काठमाडौं, भदौ ३० गते । सिरहाका पुरन पण्डित करिब ३० वर्ष अगाडि रोजगारीको खोजीमा काठमाडौं आइपुग्नुभयो । ज्यामी काम गरेर दैनिकी चलाउन काठमाडौं पस्नुभएका पण्डितले पुर्खादेखिको मूर्ति बनाउने कलालाई व्यापारमा रूपान्तरण गर्नुभयो ।
ज्यामी काम गर्दागर्दै एक दिन उहाँको साथीले विश्वकर्माको पूजाका लागि मूर्ति बनाइदिन अनुरोध गरे । उहाँले पुर्खाको पेसालाई सम्झँदै खुसी हुँदै मूर्ति बनाउनुभयो । गाउँमा जस्तो सहरमा मूर्ति बनाउने माटो र परालको जोहो गर्न उहाँलाई समस्या भयो । जब सबै कुरा जोहो गरेर मूर्ति बनाउनुभयो । त्यो सबैले मन पराए ।
भक्तपुरबाट आवश्यक माटो, परालजस्ता मूर्ति बनाउन आवश्यक कच्चा पदार्थ ल्याएर तीन वटा मूर्ति बनाउनुभयो । त्यो वर्ष उहाँका तीन वटै मूर्ति बिक्री भए । उहाँले बनाउनुभएका मूर्ति देखेर त्यसपछि मूर्तिको माग बढ्न हुन थाल्यो । उहाँले अर्को वर्ष विश्वकर्माका सात वटा मूर्ति बनाउनुभयो । तर, सोचे जस्तो ग्राहक भने आएनन् । बनाएका सबै मूर्ति बिक्री हुन अन्तिम समयसम्म कुर्नु पर्यो ।
तेस्रो वर्षमा आएर भने उहाँले बनाउनुभएका धेरै मूर्ति बिक्री भए । त्यो वर्ष ३७ मूर्ति बिक्री गरेर उहाँले राम्रो आम्दानी गर्नुभयो । बिस्तारै सहरको विस्तार हुनु र रोजगारका लागि तराईबाट उपत्यकामा आउनेको सङ्ख्या बढ्दै जाँदा मूर्तिको व्यापार बढेको उहाँको अनुभव छ । अहिले उहाँले ललितपुरको कुपण्डाेललगायत विभिन्न ठाउँमा मूर्तिको व्यापार गर्नुहुन्छ ।
त्यसपछि उहाँले हरेक वर्ष २५/३० वटा मूर्ति थप बनाउँदै जानुभयो । अहिले उहाँसँग २२५ वटा मूर्ति छन् । एक सय बढी मूर्तिको अडर आइसकेको छ । मूर्तिका अतिरिक्त उहाँ पाला र माटाका भाडा बनाउनुहुन्छ । विश्वकर्माको पूजाका लागि एक सिजन मात्र विश्वकर्माको मूर्ति बिक्री हुने भएकाले उहाँले अन्य देवी देवतासँगै अडर अनुसारका मूर्ति बनाउनै आउनुभएको छ । पण्डितसँग गोरखापत्र अनलाइनका लागि केशब गुरुङ मनोजरत्न शाहीले तयार पार्नुभएको भिडियो सामग्री :